​चन्द्रलालको पत्रकारिता

श्याम रिमाल । - नेपाललाई विभाजित र विखण्डित हुनबाट जोगाउने कोइराला(गिरिजाप्रसाद)को प्रयत्नमा नसघाउने हो भने भोलि कमरेड छविलाल दाहाल पनि बच्ने होइन, न त राजसंस्थालाई दागबत्ती दिन आतुर कामरेड बाबुराम भट्टराई नै अछूतो रहनुहोला । 
–गाईलाई ‘गौमाता’ भन्न सिकाउने भाषाशास्त्रीहरुले गाईको पोइ साँढेलाई किन ‘वृषभ पिता’ भन्न नसिकाएको ?
–कुनै पनि नेपालीले आफूप्रतिको दायित्वलाई सक्षमतापूर्वक, सुदक्षतापूर्वक र सक्रियतापूर्वक वहन नगरेको राजालाई हार्दिक रुपमा आफ्नो सम्प्रभू र हृदय सम्राट् मान्न सक्तैन ।
–मेरो काम दुर्गन्धित सुँघेर त्यस्तालाई उदाङ्गो पार्ने हो । 
–...यौटा पत्रकारसँग घोडाको नाकको जस्तो घ्राणशक्ति हुनुपर्दछ । घोडाले धेरै टाढाबाट खतरालाई सुँघ्न सक्छ र सवारलाई तत्काली सुरक्षित गन्तव्यतर्फ फर्काउँछ ।
पत्रकार चन्द्रलाल झालाई नेपाली बुद्धिजीवी ‘नेपाल टाइम्स’ नेपाली र ‘दि नेपाल क्रोनिकल’ अङ्ग्रेजी पत्रिकाका नामबाट धेरैले चिन्छन् । झा नेपाली, हिन्दी, नेवारी र अङ्ग्रेजीमा पोख्त थिए । स्वतन्त्र पत्रकारिताप्रतिको आस्था एवं प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको अनवरत निष्ठा थियो उनमा । पत्रकारिताकै यात्रामा उनी थुप्रै पटक जेल परे, राजनीतिक मुद्दा खेपे । कुनै बेला पाँच वर्षसम्म पत्रिका प्रतिबन्धित भयो भने आफ्नै प्रेस सिलबन्दीमा प¥यो । यिनलाई छयालीस सालसम्म त १८ पटक राजकाज मुद्दा लाग्यो । बोल्ने माननीय र मन्त्री उम्कन्थे तर तिनको बोली छाप्ने प्रेस स्वतन्त्रता सेनानी झा मुद्दा बोक्थे, अनौठोतन्त्र ।  यिनको मुद्दा वकिल कृष्णप्रसाद घिमिरे, कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, लक्ष्मण अर्याल, दमननाथ ढुङ्गाना आदिले निःशुल्क लडिदिन्थे । 
धेरै पत्रकार र कार्टुनिष्टले नेपाल टाइम्सबाट प्रशिक्षण लिए । उनीसित रामचन्द्र पौडेल, राजेश्वर नेपाली, किशोर नेपाल, पुरुषोत्तम दाहाल, अच्युतरमण अधिकारी आदिले काम गरे पनि । चन्द्रलालजी यस्सो घुमेर आउनुहुुन्थ्यो अनि चियाको अगाडि एक हातमा चुरोट र अर्काे हातमा कलम लिएर बस्नुभएपछि लेखिने सम्पादकीय बेजोडको हुन्थ्यो । उनको भाषा, शब्दचयन र वाक्य प्रयोगले विचार र विश्लेषणलाई नदीको तीव्र प्रवाहको रुप दिन्थ्यो । राजनीतिको गहिराइमा पुगेर विश्लेषण गर्ने  अद्भुत शक्ति उनको कलममा थियो । दरबार र सरकारलाई हानिहाल्थे । राजदरबारका सदस्य मूर्ति लिएर विदेश गए भने त्यो तिनको पुरातात्विक वस्तुको  प्रेम भनी व्यङ्ग्य गर्थे, एकपल्ट त शीर्षक नै यस्तो राखे, ‘अधिराजकुमारको कला र संस्कृतिप्रतिको प्रेम ।’ छत्तीस र ०४६ सालका आन्दोलनमा जनमत तयार गर्न पत्रिकाको निकै ठूलो योगदान रह्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक घटनाप्रति निकै रुचि राख्थे र भविष्यवाणी पनि गर्थे, धेरैजसो मिल्थ्यो नै । हरेक  साँझ प्रकाशन हुने नेपाल टाइम्सको सम्पादकीय पढ्न राजादेखि प्रधानमन्त्रीसम्म पर्खिएर बस्थे । राजनीतिशास्त्र तथा भाषाविज्ञानका गुरुहरुले सो पत्रिकाको सम्पादकीय आफ्नो शिष्यहरुलाई पढ्नू भनेर भन्थे रे । 
मरुहिटीमै बस्ने  साहित्यकार एवं पत्रकार हृदयचन्द्रसिंह प्रधान उनको प्रेरक । उनी कुनै राजनीतिक दलको सदस्य भएनन्, तर बहुदलप्रति अविचलित आस्था रह्यो उनमा । पत्रकारिता रहेर राजनीतिक दलको सदस्य बन्नु असङ्गत हो भन्थे तर सूर्यप्रसाद उपाध्यायको निकट थिए । दिनको एकपल्ट उनीकहाँ पुगेरै छाड्ने । नेपाली समाजका भोल्तेयर झा काँग्रेस, कम्युनिष्ट र प्रजातन्त्रप्रेमी पञ्चनेता सबैलाई पत्रिकामा स्थान दिन्थे । राजा महेन्द्रको बिगबिगी बढेका बेला शुरु भएको ‘नेपाल टाइम्स’ व्यापारिक पत्रकारिताको वातावरणमा धेरै टिक्न सकेन । आर्थिक अभावका कारण २०४९–५०देखि बन्द भयो । होण्डा मोटरबाइक र ओमेगा घडी उनका ब्राण्ड थिए । २००७ नं  को मोटरसाइकलको आफ्नै अर्थ थियो । ऋणले ग्रस्त थिए तर पनि पत्रिकाको दश पैसाले सन्तुष्ट थिए । उनले सरकारी पद अस्वीकार नै गरे ।  अहिले पत्रिकाका अङ्कहरु त्रिवि केन्द्रीय पुस्तकालयमा सुरक्षित छ । 
शुरो र खरो झाबाजे कसैलाई अप्ठेरो परेमा व्यक्तिगत काम गरिदिने स्वभावका थिए । पछिल्लो समय मधुमेह, मस्तिष्काघात र पार्किन्सन रोगबाट पीडित भए । उनको मृत्युपछि निकालिएको स्मारिकामा सुपुत्र डा सुनिलचन्द्र झा लेख्छन्,‘वहाँलाई श्रद्धाञ्जली दिन केही सच्चा मित्र र पत्रकारहरु आर्यघाट पुगे । तर विभिन्न नेताहरु जसले उहाँको बुद्धि र सल्लाह  सिंत्तै पाएर राजनीतिको सिंढी उक्ले, उनीहरुले मरेको बोकालाई जुम्राले छोडे जस्तै सिकिस्त भएको बेला नै छोडेका थिए, मृत्युपश्चात् दुई शब्द बोल्न आउनुपर्ने हो, आएनन्, शायद सिक्का खोटो भैसकेको थियो ।’ 
झाबाट पत्रकारले सिक्ने कुरा बेजोड लेखन, इमान्दारी र स्वाभिमान नै हुन् । अनि पत्रिका र पत्रकार सत्ताको प्रतिपक्षीमा रहनु  नै जाती होला । 

Related News