​छापामारलाई बयान

–सचित राई
जसरी साँझ छिप्पिँदै गयो त्यसरी नै गोधुलि साँझ ढल्दै थियो, बाटो अँधेरीले छोप्दै थियो । त्यही भएर २०६० साल कात्तिक महिनाको अन्तिम साताको एक साँझ पाँचथरको रवि बजार पुगेपछि घर (बाँझो–६ नागी, इलाम) पुग्ने हतारो निकै बढेको थियो । तर, रवि बजार कटेलगत्तै आउने देउराली उकालोले थकाइ लगाएरै छाड्यो । इलामबाट पाँचथरको सीमावर्ती क्षेत्र राँके, घुर्बिसे पञ्चमी, सप्तमी, रवि हुँदै घर जाँदा अन्तिम–अन्तिममा पर्ने यही उकालोले मलाई पटक–पटक थकाएको छ । नभन्दै यसपटक पनि देउराली डाँडा पुग्न मलाई हम्मेहम्मे पर्‍यो । न्वारानदेखिको बल लगाएर देउराली डाँडा नाघ्न त नाघियो तर एक खुड्किलो तल्तिर पर्ने हुलाक झरेपछि झमक्कै रात पर्‍यो । तब बाटोमै भेट भएका भान्जा राजेन्द्र नेम्बाङको आग्रहमा हामी उनको घर खाम्नुवातर्फ लाग्यौं । 
    हुलाकबाट घर पुग्न पैदल डेढ घन्टाजति मात्र समय लाग्छ । बाटो अप्ठेरो पनि होइन, सजिलो नै हो, तेर्सै–तेर्सो । मोटर गुड्ने फराकिलो बाटो नै छ । तर, त्यस बेलाको (सशस्त्र द्वन्द्वकालीन) अवस्थालाई मध्यनजर गर्दै रातको समयमा यात्रा अघि नबढाउने निधोमा पुगेर हामी खाम्नुवातिर झर्‍यौं । तर, जुन सम्भावित दुर्घटनाबाट बच्ने मेरो चाहना थियो उल्टै झन् बढी विपत् पो आइलाग्यो । संयोग पनि कस्तो–कस्तो जुर्छ हँ दुई दिने 
जिन्दगानीमा ? खाम्नुवामा भान्जाको घर पुगेको मात्रै के थिएँ तत्कालीन नेकपा माओवादीका कार्यकर्ता त्यो गाउँमा आएको थाहा पाइहालें । उनीहरूले पनि म त्यहाँ पुगेको ‘गन्ध’ पाएछन् क्यार ! तत्काल मेरो सोधीखोजीमा आइहाले उनीहरू । मेरो सोधीखोजीमा आएका माओवादी कार्यकर्तासँग पहिलो चरणमा सामान्य गफगाफ भयो । सामान्य औपचारिकताका कुराहरू भए । मसँग गफ गर्न दुई माओवादी कार्यकर्ता कोठाभित्रै आएका थिए । बाहिर कति थिए भन्ने मैले थाहा पाइनँ । हतार–हतार बाहिर निस्किएर गन्ने कुरा पनि भएन । हल्लाखल्लाचाहिँ बढी नै आइरहेको थियो । 
    ती दुई जना बाहिरिएको केही बेरपछि त हतियारले सुसज्जित दुई जना छापामार पो आए । छापामारहरू भने ‘गडगडाहट’का साथ आएका थिए । गडगडाहट यस अर्थमा कि उनीहरूले बाहिरै सोध्दै थिए, ‘यहाँ को पत्रकार छ रे ?’ अन्तत: उनीहरू मलाई थर्काउने गरी म बसेको कोठाभित्रै पसे । उनीहरूले त मलाई अपराधीलाई झैं केरकार गर्न पो थाले । म पहिलोपटक बन्दीझैं बन्न थालें ।
    माओवादी सशस्त्र द्वन्द्वमा होमिएपछि छापामारसँग पहिलोपटक हो यसरी जम्काभेट भएको । सामान्य तवरबाट भेट हुने गरेको भए पनि उनीहरू यसअघि यस्तरी धम्कीपूर्ण ढंगबाट प्रस्तुत भएका थिएनन् । त्यस बेलासम्म इलाम जिल्लामै समाचारको विषयमा पत्रकारहरू खासै माओवादी ‘दबाब’मा परेका थिएनन् । उनीहरूले पत्रकारमाथि ज्यादती गरेको घटना सार्वजनिक पनि भइसकेको थिएन । मैले पनि त्यस्तो अवस्था भोग्नुपरेको थिएन । यसपटक भने म छापामारहरूबाट घेरिइसकेको रहेछु । मलाई जीवन–मरणको दोसाँधमै परेको महसुस हुन थाल्यो । मेरो हंसले ठाउँ छोड्यो भन्नुपर्ला । यद्यपि, सम्हालिएर बस्नुको विकल्प पनि थिएन । भित्र–भित्र म एकदमै हतास अवस्थामै पुगिसकेको थिएँ । हुन त मर्नुअघि नै खुट्टा तान्नु पनि भएन । त्यस्तै निष्कर्ष निकालेर होला मेरो ब्रह्मले, म उनीहरूसँग तर्क–वितर्कमा लागें । त्यसलाई एकप्रकार मेरो लागि उनीहरूको प्रतिकार भनौं । हुन त प्रतिकार पनि के भन्नु र हौ ? त्यो घेराबन्दीबीच म ‘बयान’ दिनु सिवाय अरू केही गर्न सक्दिनथें । हतियारधारीसँग कहिले पनि ‘साक्षात्कार’ नभएको म बबुरोलाई उनीहरूको धम्कीले मुटुमै छेड हान्यो । सम्झन्छु– अपान वायु (पाद) पनि कत्ति आएको हो ? डरले हो या चिसो लागेर । पाद्या–पाद्यै । एक कुनामा भतिजी (यावा कृष्णको जेठा दाइकी छोरी) हिमालदेवी ढल्किइरहेकी थिइन् । उनीहरूले हिमालको विषयमा पनि सोध्न भ्याइहाले ।  
    ती दुई छापामारले मलाई धम्क्याउने अर्थात् बयान लिने क्रम जारी रह्यो । मसँग भएको पावनभूमि साप्ताहिक पत्रिकाको प्रेस पासले काम गरेन । मसँग इशारा हवाई मासिक पत्रिकाको परिचयपत्र पनि थियो, त्यसले पनि भएन । ‘यस्ता परिचयपत्र त जति बनाए पनि भइहाल्छ नि !’ भन्दै उनीहरूले मेरो उछित्तो पो काढ्न थाले । उनीहरू मलाई तत्कालीन अवस्थामा मारिएका पत्रकारको अवस्था भोग्नुपर्ने धम्की दिन पनि पछि परेनन् । यसको स्पष्ट संकेत म मारिन पनि सक्ने भन्ने थियो । नमज्जासँग रन्थनिएकै हुँ त्यस बेला । भन्नु मात्तै पो ‘तरवारभन्दा कलम ठूलो’ रहेछ कि क्या हो भन्नुजस्तो ! परिआइलाग्दा त तरबार नै ठूलो हो कि भन्ने लागेको थियो । तरबार नै भए पनि म एक्लो बबुरोले के पो गर्न सक्थें हुँला र ? बरु उनीहरूले एक गोली मात्तै खर्च गरेको भए त म पनि बेपत्ताको सूचीमा परिसक्थें होला । धन्न त्यसो भएन । उनीहरूको ‘विवेक’ पुग्यो कि मेरो बाँच्ने दिन थियो ?  त्यही भएर म संस्मरण उतार्ने अवस्थासम्म आइपुगें होला । म त्यस बेला भन्ने गर्थें– कसैको निधारमा छापामार भनेर लेखिएको हुँदैन न सैनिक नै भनेर लेखिएको हुन्छ । कसरी चिन्न सक्नु छ र को हो भनेर ! नेपाली–नेपालीबीचको हानमार र काटाकाटको बेला थियो त्यो । केरकार त सामान्य नै हुने भयो, नत्र ठोकठाक । खाम्नुवामा म पनि प्रताडित हुनुपर्‍यो । जहाँ हिलो हुन्छ त्यहाँ छिटा त अवश्य पर्छ । मजस्ता छिटा मात्र पर्ने त हजारौं/लाखौं होलान् । यद्यपि, माओवादी छापामारको केरकारबाट म निर्दोष भने साबित हुँदै गइरहेको थिएँ । उनीहरू मलाई सकेसम्म दोषी बनाउन खोज्दै थिए । समग्र इलाम जिल्लाकै पत्रकारिताको बयान दिइरहनुपरेको थियो । बयान माओवादीविरुद्धका समाचारमा केन्द्रित थियो । खासगरी माओवादीको ‘चन्दा आतंक’सम्बन्धी समाचारको विषय । कुन पत्रकारले कस्तो स्रोतका आधारमा के समाचार बनाउँछ ? त्यसको स्पष्टीकरणचाहिँ मैले दिनुपर्‍यो । ठेक्का नै लिएजस्तो । समाचारमा कहिलेकाहीँ स्रोतले रिपोर्टरलाई त फसाउन सक्छ, कहिलेकाहीं स्रोत आफैं ‘चिप्लिएर’ फस्न सकिन्छ । अरूका समाचार कसरी जान्नु ?
    उनीहरूमा ‘यो सुराकी हो’ भन्ने शंका रहेछ । त्यो उनीहरूको प्रत्येक गतिविधि तथा कुरा गराइबाट झल्कन्थ्यो । कति सजिलै सोच्न सकेका होलान् सुराकी भनेर ? सुराक गर्नका लागि त्यति सजिलै गाउँ पसिँदैन होला । उनीहरूको सोच पनि कस्तो होला है ? उनीहरूले मलाई ‘अपहरण’ गर्ने धम्कीसमेत दिइरहेका थिए । म उनीहरूसँगै हिँड्नुपर्ने दबाब आइरहेको थियो । म प्रतिकार गरिरहन्थें— ‘म किन तपाईंहरूसँग 
हिँड्नुपर्ने ?’ त्यत्रो केरकार गर्दा पनि म टसको मस नभएपछि मेरो दोष देखेनन् होला (गल्ती भए पो दोषी बनाऊन्), ‘माओवादीको पक्षमा समाचार लेख्ने’ र ‘इसारा हवाई मासिकमा माओवादी कार्यकर्ताका कविता छाप्नुपर्ने’ दबाब दिन थाले । मैले ‘साहित्यिक मूल्यका रचना भए आफ्नो पत्रिकामा छाप्ने’ स्पष्ट पारें । उनीहरूले आफूहरू ‘माओको विद्यार्थी’ भएको भन्दै कविता छाप्नका लागि दबाब दिन छाडेनन् । यही दबाबसँगै बिहान उनीहरूलाई नभेटी खाम्नुवा गाउँ नछाड्न उर्दी जारी भयो ।
    सायद मध्यरात भइसकेको थियो । म निकै हतोत्साही र डराइरहेको थिएँ । उनीहरूले करिब पाँच घन्टा केरकार गरेपछि मलाई निगरानीमै रहने गरी छाडे । अर्थात्, उनीहरूले मलाई भोलि बिहानसम्म बिनाअनुमति गाउँ छाड्न निषेधाज्ञा जारी गरेका थिए । खुला जेलजस्तो भयो खाम्नुवा गाउँ । खाना सेलाइसकेको थियो, दिदी र भान्जीले तताएर दिएजस्तो लाग्छ । मलाई खाना अलिकति पनि रुचेन, त्यस्तो अवस्थामा खाना रुचोस् पनि कसरी ! सायद थोरै खाएँ हुँला । मेरो मनमा ‘डरको घन्टी’ बजिरहेको थियो । मुटु ढकढक गरिरहेकै थियो । घरगाउँले पनि निकै आत्तिएछन् । मलाई केही हुने हो कि भन्ने पीर परेछ । पीर नपरोस् पनि कसरी ? म माओवादी छापामारको केरकारबाट मुक्त भए पनि नियन्त्रणबाहिर थिइनँ । रात छटपटी र हुटहुटीमै बित्यो । राँकेबाट पैदल हिँडाइको थकान कता हरायो कता ! 
    भोलि बिहान उठीवरी नित्यकर्म गरें । बिहानको ८–९ बज्दा पनि उनीहरू आएनन् । मैले यसो भनिरहँदा उनीहरूले गाउँ छाडेका भने थिएनन् । माओवादीका सेन्ट्रीहरू गौडा–गौडामा बसेकै थिए । म निर्धक्क बन्न सकिरहेको थिइनँ । आत्तिएकै थिएँ । बिहानको अन्तिम–अन्तिमतिर उनीहरूका कमान्डर एक महिला कार्यकर्तासँग आयो । तर, उनीहरू मसँग बोलेनन् । हिजो रातिजस्तो केरकार गर्नतिर पनि लागेनन् । मैले यसको आशय बुझिनँ, अलमलमा परें । मेरो ब्रह्मले ‘खाम्नुवा गाउँबाट घरतर्फ लागिहाल’ भन्यो । बाटो लाग्ने पनि कसरी ? उनीहरूले खुला नियन्त्रणमै छाडेको मान्छे म, भाग्नु पनि अप्ठेरो थियो । त्यहीं बसिरहौं भने उनीहरू केही कुरा गर्दैनन् । अन्तत: बाटो तताउने निधोमै पुगें । हिँड्ने बेला मैले ‘लागियो’ है भनें । बस् ! यति मात्तै । उनीहरूबाट खास प्रतिक्रिया पनि आएजस्तो लाग्दैन । तब भान्जा र भतिजी हिमालसँग खुरुखुरु बाटो लाग्यौं । त्यही दिन पञ्चमी बजार पनि परेको थियो ।   
    त्यस क्षेत्रका माओवादी कमान्डर भनिएका व्यक्तिलाई मैले केही दिनपछि स्थानीय माङ्मालुङ बजारमा भेटेको थिएँ । निर्माणाधीन सडक फाल्गुनन्द मार्गअन्तर्गत पर्ने माङ्मालुङ जंगलमा ट्याक्सी दुर्घटनाको विवरण लिन आएका रहेछन् उनी । म पनि दुर्घटनाको समाचार संकलन गर्न गएको थिएँ । उनीसँग माङ्मालुङ बजारमा गाउँले दाइ सुमन राईको मेडिकलमा जम्काभेट भयो । मैले सोधें, ‘मलाई चिन्नुभो ?’ उनीबाट ‘चिनें’ भन्ने जवाफ आयो । कुराकानी खासै लम्बिएन । त्यसपछि उनी मात्र होइन, त्यो टोलीसँगै जम्काभेट भएन । पछि थाहा भयो– कमान्डर भनिएका ती व्यक्ति त इलामको महमाई (उनकै गाउँ)मा सुरक्षाकर्मीबाट मारिएछन् । उनले अघिल्लोपटक भागेर ज्यान जोगाएको भन्ने सुनेको थिएँ । यसपटक भने उनी नराम्ररी सुरक्षाकर्मीको फन्दामा परेछन् । हुन त आन्दोलनमा होमिएपछि मृत्युको परवाह पनि हुन्न क्यारे ! मृत्युलाई जितेरै आन्दोलनमा होमिनुपर्ने होला । तर, हामीले मृत्युलाई जित्न नै कहाँ सकेका छौं र ? हामी सकेसम्म बाँचौं भन्ने चाहन्छौं । बल्लतल्ल पाएको जोबनलाई जतिसक्दो भोग गरौं भन्ने मनसुवा राख्छौं । ती कमान्डरको निधनको खबरले मलाई दु:ख लागेर आयो । उनी मारिएको खबर थाहा पाएपछि साथीहरूले भने मलाई ‘उडाउन’ पनि भ्याए । व्यंग्य कसे– ‘भाले काटेर खाइयो होला नि सचित ?’ 
पत्रकार राईको खोजमूलक कृति ‘माङखिम’बाट

Related News