​चुनौतीको पहाडमा ओली सरकार

दृष्टि न्यूज

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा तथा कोष्टारिका भ्रमणबाट फर्किंदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका सञ्चारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘यो सरकार ढुक्कसँग पाँच वर्ष चल्छ ।’ दुईतिहाइ बहुमतको नजिक रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक प्रभावशाली अध्यक्षसमेत रहेका ओलीले किन यसो भने ? प्रधानमन्त्रीको भनाइले आमचासो जन्माइदियो । केहीले उनको अभिव्यक्ति पार्टीभित्र असन्तुष्ट देखिएका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित रहेको पनि ठाने । तर, कुरा त्यसो मात्र थिएन । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको प्रहार सरकारविरुद्ध सुरु भएको घेराबन्दीमाथि लक्षित थियो । दृष्टि साप्ताहिकले गत साता सरकारविरुद्ध सुरु भएको घेराबन्दीको विषयलाई नै मुख्य समाचार बनाएको थियो । सरकारलाई कसरी घेराबन्दीमा पार्न खोजिँदैछ ? भन्ने सो विश्लेषण तथ्यसहित थियो । त्यसैले प्रधानमन्त्री ओलीले नेपाल फर्कने बित्तिकै सरकारविरुद्ध घेराबन्दी गर्ने देशभित्र र बाहिर रहेका सबै शक्तिलाई जवाफ दिए, ‘सरकार पाँच वर्ष ढुक्कले चल्छ कसैले शंका गरिरहनुपर्दैन ।’
दृष्टिको विश्लेषण प्रकाशित हुँदा प्रधानमन्त्री ओली न्युयोर्कमै थिए । तर, अहिलेको प्रविधिको युगमा दृष्टिको विश्लेषण उनीसमक्ष पुग्न कुनै कठिनाइ थिएन । सो सूचनापछि प्रधानमन्त्रीले पनि सायद आफूमाथि घेराबन्दी भइरहेको महसुस गरे र, उनले विमानस्थलबाटै जवाफ फर्काउनु उचित ठाने । नेपाली जनताले बलियो स्थिर सरकार खोजिरहेका बेला पछिल्ला निर्वाचनबाट नेकपा सबैभन्दा ठूलो दल बन्यो । ६ महिने, ९ महिने सरकार झेल्दा झेल्दा वाक्क दिक्क भएका मतदाताले सामान्य बहुमत मात्र होइन, झन्डै झन्डै दुईतिहाइ दिएर नेकपालाई आगामी पाँच वर्षका लागि सरकारको तालाचावी बुझाए । यसको अर्थ, यो सरकारले सहजै पाँच वर्ष पूरा गर्नेछ । प्रधानमन्त्री ओलीले पनि यही भन्न खोजेका हुन् । तर, सरकारको स्थिरता बहुमतले मात्र सिद्ध गर्दैन । नेपाली राजनीतिकै इतिहासका पाना पल्टाउने हो भने पनि बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद्मा बहुमत गुमाएको, आफ्नै पार्टीबाट अविश्वासको सामना गर्नुपरेको उदाहरण भेटिन्छ । यसर्थ बहुमत छ भनेर ढुक्कले बस्नेभन्दा वर्तमान सरकारले विगतबाट पाठ सिक्न जरुरी छ । 
यहाँको राजनीतिको डोरी यहाँका राजनीतिक दलका हातमा मात्र छैनन् भन्ने कुरा धेरैपटक पुष्टि भइसकेको छ । २०७२ असोज ३ मा संविधान जारी गर्दा ओलीको अदभूत साहसका कारण भारतीय स्वार्थ पराजित भएको थियो । त्यसको आक्रोशमा भारत नाकाबन्दीमै उत्रियो । तर, केही महिनापछि नै अनेक दुलोबाट प्रवेश गरी भारतले आफूलाई सरकार परिवर्तनको सामथ्र्य राख्ने हैसियत रहेको पुनर्पुष्टि गरिदियो । यस कुराको सबैभन्दा राम्रो जानकार ओलीसिवाय अरु हुनै सक्दैनन् । किनभने त्यसबेला भारतको इसारामा ओली नेतृत्वको सरकार गिराइएको थियो । निर्वाचनबाट ओली नेतृत्वको पार्टीले प्रचण्ड बहुमत ल्याएपछि भारत ब्याक भएको छ । वर्तमान सरकार निर्माणमा उसको कुनै भूमिका छैन । तर, ओली नेतृत्वकै पार्टीका अर्का एक अध्यक्ष जसरी भारत पुगेर लम्पसार परे, उनलाई भारतले जस्तो महत्व दियो, नयाँ दिल्लीमा जे जस्ता भेटवार्ताहरू भए र तिनका गुह्य कुरा जसरी बाहिर आए त्यसले ओलीविरुद्ध भारत अर्को ‘पावर सेन्टर’ बनाउन खोजिरहेको छ भन्ने स्पष्टै देखिन्छ । नयाँदिल्लीपछि सिंगापुरमा पनि ‘फलोअप’ बैठक बसेको कुरा दृष्टि स्रोतले फेला पारेको छ ।
यही नै बेला संसद्मा सरकारविरुद्ध नेकपाकै कतिपय सांसद आक्रोशित रूपमा प्रस्तुत भए । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्मा जसरी सरकारको आलोचना गरे त्यसले पनि ओलीले पार्टीमा सन्तुलन मिलाउन नसकेको संकेत गर्दछ । 
यतिबेला प्रधानमन्त्री ओली स्वदेशमै छन् । आइतबार उनी सार्वजनिक कार्यक्रममा देखिए । एकजना पत्रकारको किताब बिमोचनमा उनीसँगै अर्का अध्यक्ष पनि साथमा थिए । भारतले जसलाई ओलीविरुद्ध ‘पावर सेन्टर’का रूपमा विकास गर्न खोजेको आशंका गरिएको छ, उनकै साथमा उभिएर ओलीले भने, ‘हामीले जादु होइन, परिणाममुखी विकास खोजेका छौँ । जादुगरले जस्तो कहिले रुमाल, कहिले अन्डा देखाएर झुक्याउनु छैन । हामी परिणमामुखी कामका लागि क्रियाशील छौँ ।’ सोही क्रममा प्रधानमन्त्रीले थपे, ‘म असल नियतका साथ अगाडि बढिरहेको छु । प्रधानमन्त्रीको हैसियतमा लोकतन्त्रप्रति प्रतिबद्ध छु, भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, बेइमान गर्नेहरूलाई छाड्दिन ।’ प्रधानमन्त्री ओलीले सोहीमञ्चबाट पुनः विदेशी शक्तिकेन्द्रहरूलाई सतर्क गराए, ‘अनेक नाममा नेपालमाथि खेल्ने काम नहोस् । शान्तिप्रक्रियाका सबै काम टुंगिसकेका छन् । मेलमिलाप र पुनस्र्थापनाको कामलाई पनि अन्तर्राष्ट्रिय कानुनअनुसार नै छिटो टुंगोमा पु¥याइनेछ । टुंगिसकेको शान्तिप्रक्रियाका नाममा खेल्ने काम बाह्य शक्तिले नगरोस् भन्ने चाहन्छौँ ।’ 
पार्टीका अर्काअध्यक्षलाई साथमै राखेर प्रधानमन्त्री ओलीले व्यक्त गरेका यी अभिव्यक्तिले धेरै अर्थ राख्छन् । तर, मुख्यकुरा सोमबारका लागि उनले बोलाएको सचिवालय बैठकमा उनी कसरी प्रस्तुत भए भन्ने हो । पार्टीभित्रको एकता अक्षुण राख्दै, सबै पक्षलाई समेट्दै पार्टीलाई पारदर्शी र सामूहिक नेतृत्व प्रणालीमा लैजान ओली सफल हुन्छन कि हुँदैनन् ? जनजीविकाको सवालमा कमजोर देखिएको सरकारको प्रस्तुति बलियो बनाउँछन् कि बनाउँदैनन् ? सरकारका कामकारबाही प्रभावकारी बनाउन मन्त्रिपरिषद्लाई पुनर्गठन गर्छन् कि गर्दैनन् ? कमजोर कार्यक्षमताका मन्त्री, भ्रष्टाचारमा लिप्त हुन खोजेका मन्त्री, ठूला व्यापारी, ठेकेदार, बिचौलियासँगको उठबसमा रमाइरहेका मन्त्रीलाई फिर्ता पठाएर क्षमतावान मन्त्री नियुक्ति गर्छन् कि गर्दैनन् ? र, अझ महत्वपूर्ण कुरा चारैतिबाट आलोचित आफ्नो सचिवालयमा फेरबदल गरी चुस्त बनाउँछन् कि बनाउँदैनन् भन्ने कुराले प्रधानमन्त्री ओलीका आगामी दिन कति सहज वा असहज भन्ने निक्र्यौल गर्नेछ । माथि उल्लेख गरिएका परिवर्तन गर्न उनी तयार भए पनि विमानस्थलमा उत्रिने बित्तिकै उनले भने जस्तै यो सरकार पाँच वर्ष पक्कै टिक्नेछ । ‘समृद्धि नेपाल र सुखी नेपाली’ को सपना साकार हुनेछ । 

Related News