बढ्दो आयात र चुलिँदो व्यापारघाटा समृद्धिको चुनौती : उपराष्ट्रपति पुन

काठमाडौं, २७ पुस । काठमाडौंमा बिहीबार आयोजित चेम्बर दिवस २०७४ तथा नेपाल चेम्बर अफ कमर्सको ६७औँ साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो आयात तथा व्यापारघाटाप्रति चिन्ता प्रकट गरेका हुन् । नेपालले आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएको भए पनि निरन्तरको आयात वृद्धि र त्यसबाट बढिरहेको व्यापारघाटाले चुनौती थपिरहेको उनको भनाइ थियो ।
कुनै पनि देशको आर्थिक उन्नतिको दिशानिर्देश त्यस देशले गर्ने निर्यात व्यापारले गर्ने भन्दै उपराष्ट्रपति पुनले निर्यात व्यापारमा जोड दिन व्यवसायीहरूलाई आग्रह गरे । ‘जुन देशको निकासी बलियो हुन्छ, त्यस देशको आर्थिक समुन्नति छिट्टै हुन्छ,’ उनले भने, ‘हाम्रा दुई छिमेकी देश चीन र भारतले निर्यात व्यापारमा फड्को मारेर नै तीव्र गतिमा आर्थिक उन्नति हासिल गरेका हुन् ।’ नेपालले जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी, उद्योग कलकारखाना, भौतिक पूर्वाधारको विकास गरेर समृद्धि हासिल गर्नुपर्ने उनले बताए । यसमा स्वदेशी तथा विदेशी लगानी भिœयाउन उनले निजी क्षेत्रलाई आग्रहसमेत गरे । 
 नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र राष्ट्रको विकास सम्भव हुने भन्दै चेम्बरले स्थापनाकालदेखि नै निजी क्षेत्रको संवद्र्धन र संरक्षण गर्दै आएको बताए । उनले  मुलुकको विद्यमान संघीय संरचनाअनुरूप चेम्बरलाई सातवटै प्रदेश र ७७ वटै जिल्लामा पु¥याउने बताए । ‘चेम्बरको ६७औँ साधारणसभाले चेम्बरलाई मुलुकका सबै जिल्ला र प्रदेशमा पु¥याउने  अभियान सुरु गरेको छ,’ उनले भने । हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आबद्ध रहेका छन् । त्यस्तै, हालसम्म ५२ वटा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको समेत उनले जानकारी दिए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेको भन्दै व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने प्रवृत्ति हाबी भएको प्रति चिन्ता प्रकट गरे । ‘कालोबजारी ऐन २०३२ लाई अन्य ऐनजस्तै आजको खुला अर्थतन्त्रको परिवेश तथा आवश्यकताअनुरूप परिमार्जन एवं परिष्कृत गर्नु आवश्यक छ,’ उनले भने, ‘व्यवसायीलाई पहिले थुन्ने होइन सुन्ने गर्नुपर्छ ।’
वरिष्ठ उद्यमीहरू सम्मानित
उक्त अवसरमा चेम्बरले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेशभक्त शाख, इन्द्रभक्त मेमोरियल अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई सम्मानित गरेको छ । त्यस्तै, संस्थामा निरन्तर ४० वर्षभन्दा बढी विभिन्न पदमा रहेर काम गरेर योगदान दिएको भन्दै प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरेको छ । चेम्बरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पु¥याएका नेपाल निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष तथा चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य, मनाङ एयर प्रालिका अध्यक्ष सतिशप्रसाद प्रधान, भक्तपुर इँटा तथा टायल उद्योग संघका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा संघका माता सपना श्रेष्ठ, चेम्बर कार्यसमिति सदस्यहरू सुरेन्द्रकुमार श्रेष्ठ, सुवासचन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार संघका महासचिव सन्दीपकुमार अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठसमेत सम्मानित भएका छन् । चेम्बरबाट तेस्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रका आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँच कार्गाे एजेन्ट तथा निकासीकर्तालाई पनि सम्मान गरेको हो ।

Related News