त्रिपक्षीय सहकार्य आवश्यकः चीन


काठमाडौं, ३ कात्तिक । चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामा भएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

‘हामी विश्वास गर्छौं, द्विपक्षीय सम्बन्धका तीन जोडीहरू (चीन–नेपाल, चीन–भारत र नेपाल–भारत) बीचको सकारात्मक अन्तक्र्रियाले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवद्र्धन गर्दैन, क्षेत्रीय स्थायित्व र विकासमा समेत योगदान र्पुयाउँछ,’ प्रवक्ता हुअले भनिन्, ‘हामी भारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी बढाउने भन्नेबारे पहिल्याउन चाहन्छौं, ताकि तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् । 

चीनका राष्ट्रपति सी जिनपिङले गोवामा आयोजित ब्रिक्स सम्मेलनका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीसँग गरेको छलफलका सन्दर्भमा चिनियाँ प्रवक्ताले तीन मुलुकबीच सहकार्यको खाँचो पुनः औंल्याएकी हुन् । यसअघि आइतबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले गोवामा तीन देशका कार्यकारी प्रमुखबीचको संयुक्त भेट ‘संयोगवश’ मात्र भएको र त्यहाँ ‘त्रिपक्षीय समझदारी’ नभएको टिप्पणी गरेका थिए । चिनियाँ विदेश प्रवक्ताले नेपालका प्रधानमन्त्रीसँग गोवामा भएको द्विपक्षीय भेटवार्तामा चिनियाँ राष्ट्रपतिले ‘चीन र नेपाल पहाड तथा नदीहरूले जोडिएका निकट छिमेकी रहेको’ उल्लेख गरेको पनि बताइन् ।

‘विश्व राजनीतिमा जेजस्तो उतारचढाव देखिए पनि हाम्रो (द्विपक्षीय सम्बन्ध) स्थापनाको पाँच दशक पूरा भइसक्दा पनि नेपाल र चीनबीचको मित्रता सदैव स्वस्थ र राम्रोसँग अघि बढेकोमा राष्ट्रपतिले प्रसन्नता व्यक्त गर्नुभएको छ,’ हुअले भनिन् । राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगको भेटमा दुईपक्षीय सम्बन्धलाई निकै जोड दिएको जनाउँदै उनले थपिन्, ‘नेपालसँग सबैजसो क्षेत्रको प्रभावकारी सहयोगलाई जोड दिँदै अघि बढ्न चीन तयार छ । विशेष आर्थिक क्षेत्र, पूर्वाधार निर्माण, सडक सञ्जाल लगायतमा सहयोग गर्न चीन तयार छ ।’

Related News