दक्षिण एसियामा चीनको बढ्दो प्रभाव

दृष्टि न्यूज

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । बंगलादेशमा यसै वर्ष उत्तर र दक्षिणी बंगलादेश जोड्ने पुल तयार हुँदैछ । ६ किलामिटर लामो यो पुलले बंगलादेशको दुवै क्षेत्र (उत्तरी र दक्षिणी)लाई सडक र रेलले जोड्ने छ । यो परियोजना बंगलादेशको निर्माणपश्चात इन्जिनियरिङको सबभन्दा चुनौतीपूर्ण परियोजना थियो जो सम्पन्न हुँदैछ ।
यो पुल पद्मा (गंगा) नदीको एक छेऊदेखि अर्को छेऊसम्मको दूरीमा अवस्थित छ । फाइनान्सियल टाइम्सका अनुसार चीनले यो पुल निर्माणमा ३.७ अर्ब डलरको लगानी गरेको छ । चीनले यसको निर्माणको लागि रकमको साथसाथै इन्जिनियरिङमा पनि सहयोग गरेको छ । सिन्हाका अनुसार दुई देशबीच बढ्दो मित्रताको यो नयाँ प्रतिमान हो ।
फाइनान्सियल टाइम्सका अनुसार चीनले बंगलादेशमा ३० अर्ब डलरको परियोजनामा लगानी गर्दैछ । यो पुल यसै लगानीको एक भाग हो । राजनीतिक विश्लेषकहरुका अनुसार बंगलादेशमा चीनको बढ्दो उपस्थितिको यो बलियो प्रमाण हो । 
यसभन्दा पहिले यसै परियोजनाका लागि विश्व बैंकले दिने भनिएको १.२ अर्ब डलरको सहयोगलाई रद्द गरेको थियो । विश्व बैंकका अनुसार उनीहरुसँग यो परियोजनामा बंगलादेशका सरकारी कर्मचारीहरु भ्रष्टाचारमा लिप्त भएको बलियो प्रमाण छ ।
यसपछि चीनले यो परियोजनालाई आफ्नो हातमा लिएको थियो । बंगलादेशमा चीनको यो ठूलो लगानीलाई दक्षिण एसियाली देशमा चीनको बढ्दो प्रभावको प्रमाणको रुपमा लिइएको छ । चीन यस्तै ठूला परियोजनाहरुमा पाकिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्समा पनि काम गरिराखेको छ । दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई भारतको कमजोरी तथा छिमेकीहरुसँग बढ्दो दूरीको रुपमा हेर्न थालिएको छ ।
बंगलादेशलाई भारतको स्वाभाविक पार्टनरको रुपमा हेरिन्थ्यो । तर,  यो धारणा अब विस्तारै परिवर्तित भएको छ । सबैलाई थाहा भएकै कुरा हो बंगलादेश निर्माणमा भारतको ठूलो भूमिका थियो । तर पनि पाकिस्तान त चीनको नजिक छँदै थियो अब आएर  बंगलादेश पनि चीननजिक भएको छ ।
हालैका वर्षहरुमा भारत चीनको महत्वाकांक्षी ‘वान बेल्ट वान रोड’को विस्तारबाट चिन्तित छ । जुन जुन छिमेकीहरुसँग भारतको राम्रो सम्बन्ध थियो त्यहाँ चीनको उपस्थिति बढेको छ । माल्दिभ्समा भारतको राम्रो उपस्थिति थियो तर त्यहाँ सैन्य सरकार आएपछि ठूला ठूला परियोजनामा काम गर्दैछ । फाइनेन्सियल टाइम्ससँग मुम्बईस्थित थिंक ट्यांक ‘गेटवे–हाउस’का रिसर्च फेलो अमित भंडारीले भने– ‘पद्मा नदीमा पुल बनाउनु साँच्चिकै एउटा महत्वपूर्ण परियोजना हो । यो भारतीयहरुका लागि चिन्ताको कुरा हो । भारतका छिमेकीहरुमा चीनको विस्तार भारतलाई ठूलो आघात हो ।’
‘चीन–पाकिस्तान इकोनोमिक करिडोर  (सीपीईसी)को माध्यमबाट चीन, पाकिस्तानमा रोड, रेल र बिजुली प्लान्टमा ६० अर्ब डलर खर्च गर्दैछ । यस परियोजनाले चीनलाई पाकिस्तानको दक्षिणी तटमा रहेको ग्वादर पोर्टमा सहज पहुँच प्राप्त हुनेछ ।
मालदिभ्सले पनि चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेर भारतीय कम्पनी जी–एमआरले बनाउन लागेको एयरपोर्टको ठेक्का तोडेर चीनलाई दिएको छ । श्रीलंकाले चीनको सरकारी बैंकको ऋण तिर्न नसक्दा हम्बननोटा पोर्ट १०० वर्षका लागि चीनलाई दिएको छ । यसलाई भारतको रणनीतिक हारको रुपमा हेरिएको छ ।
यस्तै आफ्नो कुटनीतिक सम्बन्ध नगाँसिएको भुटानमा पनि चिनियाँ उपविदेशमन्त्री काङ सु आनयुले थिम्पू भ्रमण (जुलाई २२–२४) गरी चीनले भुटानसँग सम्बन्ध कसिलो बनाउँदैछ । बंगलादेशले ढाका स्टक एक्सचेन्जको २५ प्रतिशत हकलाई संघाई होनगेन स्टक एक्सचेन्जलाई ११ करोड ९० लाख डलरमा बेचेको थियो । त्यतिबेला पनि भारतलाई तगडा झट्का लागेको थियो ।
यसबाहेक चीनको एक कम्पनीले चटगाँवमा ५ अर्ब डलरको आर्थिक क्षेत्र बनाउने प्रस्ताव बंगलादेशसँग गरेको छ । हेरौं, हात्ती (भारत) र ड्रागन (चीन) मध्ये कसले दक्षिण एसियालाई आफ्नो पोल्टामा पार्न सफल हुन्छ ?
(स्रोत : बीबीसी)


 

Related News