​चिनियाँ लगानीकर्ताको लुम्बिनी रोजाई

भैरहवा, ११ पुस । पछिल्लो समय चिनियाँ लगानीकर्ताको लुम्विनी क्षेत्रमा चहलपहल बढ्न थालेको छ । तीन वर्ष अगाडि चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले भैरहवास्थित गौतमबुद्ध बिमानस्थल निमार्णको ठेक्का लिएसँगै त्यहाँको निजी क्षेत्रले यस क्षेत्रमा लगानी गर्ने अनुमान गरिएको थियो । 
त्यही अनुरुप हाल चिनियाँ लगानीकर्ताहरु यस क्षेत्रको सम्भाव्यता अध्ययन गर्न थालेका छन् । गत वर्ष चीनका ठूला लगानीकर्ताहरु भैरहवामा आएर यहाँका ठूला उद्योगी ब्यबसायीसँग छलफल गरेका थिए । गत हप्ता मात्र चीनको अर्को टोली भैरहवामा आएको छ । केही लगानीकर्ताले भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र सेजमा यहाँको उद्योगी ब्यबसायी सगंको साझेदारीमा सयुक्त लगानी गर्ने तयारीमा रहेको समेत बुझीएको छ । सेज सचांलनमा भइरहेको ढिलाईका कारण उक्त कार्य हाल अलमलमा परेको एक उद्योगीले बताए ।  मुलुकै लगानी सम्भाव्यतामा उदयीमान हँुदै गएको भैरहवा र यस क्षेत्रमा लगानी गर्न चिनियाँ टोली इच्छुक देखिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । उनका अनुसार चीनको साक्षी प्रान्तको सरकारी र सिंगोयाका उद्योगीको टोलीले लागनीका लागि अध्ययन सुरु गरेको हो । उक्त टोलीले भैरहवास्थित सिद्धार्थनगर नगरपालिमा छलफल समेत गरेको छ । 
साक्षी प्रान्तको बाउजी सहरसँग गत वर्ष सिद्धार्थनगरले भगनी सम्वन्धसमेत बिस्तार गरेको थियो । छलफलमा चिनियाँ सरिकारी टोलीका प्रमुख जानछिङ सिले भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको भन्दै लगानी गर्न आफूहरु इच्छुक रहेको बताए । खासगरी चिनियाँ टोलीले यस क्षेत्रमा पर्यटन, औद्योगिक र कृषि क्षेत्रमा लगानीका लागि इच्छुक रहेको उनले बताए ।
साक्षी प्रान्त चीनको मात्र नभई विश्वकै ध्यानाकर्षण गर्ने प्रान्त भएको बताउँदै उनले त्यहाँको कृषि उत्पादन, विद्युतीकरण, औद्योगीकरणलगायतबाट समेत सिक्न सक्ने भन्दै भ्रमणको लागि नगरपालिकालाई निम्तासमेत दिए । सिंगोयाका उद्योगी सिछिङ क्वारले औद्योगिक उत्पादनमा चीनले गरेको विकास आफूहरुले नेपालमा पनि विस्तार गर्न चाहेको बताए । अन्य क्षेत्रसँगै औद्योगिक विकास देश विकासमा मेरुडण्ड भएको प्रस्ट्याउँदै उनले यहाँको औद्योगिक विकासमा सहयोग गर्न समेत आफूहरु तयार रहेको बताए । उनले यहाँको सरकारी र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने समेत बताए । लुम्विनीको मात्रै प्रचार गर्न सके नेपालले यसबाट ठूलो लाभ लिन सक्ने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले नेपालको प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हँुदै गइरहेको यो जिल्लामा बुद्धको जन्मस्थल लुम्बिनी, निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा–ब्यापारिक मार्ग बिस्तार, कालीगण्डकी कोरिडोर, विशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन तथा त्यसमा प्राप्त हुने सुविधाहरु र भारतसँगको ठूलो बजारजस्ता अवसरहरु रहेका कारणले यो क्षेत्रमा लगानी गरेर चिनियाँ टोलीलेसमेत ठूलो फाइदा लिनसक्ने बताए ।
उनले मुलुकमा पछिल्लो समय राजनीतिक स्थिरता कायम हुँदै गएकाले लगानीको वातावरणसमेत सिर्जना भएको बताए । नगरपालिकाका वैदेशिक सल्लाहकार एवं संस्कृतिविद् प्राडा गितु गिरीले दशकौ शताब्दीदेखि नै नेपाल र चीनबीच घनिष्टता रहेको चर्चा गर्दै मित्रतालाई लगानीमा बदल्न आग्रह गरे । उनले चीनमा लाखौ बौद्धमार्गीहरु रहेको र तिनीहरुलाई बुद्धजन्मस्थल लुम्विनीमा कम्तीमा एक पटक दर्शन गराउने वातावरण सिर्जना गराउन टोलीलाई आग्रह गरे । उनले रुपन्देही पर्यटन, कृषि, उद्योग क्षेत्रमा प्रचर सम्भावना बोकेको क्षेत्र भएकाले ढुक्क भएर लगानी गर्न सुझाए । 

Related News