चीनको लुसान र तानसेनबीच भगिनी सम्वन्ध

गोविन्द भट्टराई

पाल्पा । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको लुसान नगरका कार्यकारी मेयर ची लुन पीन र तानसेन नगर प्रमुख अशोककुमार शाहीद्वारा असार ७ गते दुई नगरबीच सौहार्दपूर्ण सम्बन्ध कायम भएको विज्ञप्ति जारी गरिएको छ । असार ६ र ७ गते लुसान नगरबाट कार्यकारी मेयर ची लुन पीनको नेतृत्वमा काठमाडौं, लुम्बिनी हुँदै तानसेन आएको चिनिया टोलीको सम्मानमा तानसेनस्थित होटल श्रीनगरमा असार ६ गते आयोजित स्वागत कार्यक्रममा दुबै नगरका मेयरले अन्र्तसम्बन्धबारे आआफ्ना कुरा राखेका थिए । धन्यवाद ज्ञापन तानसेन नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले गरिन् । समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उतm अवसरमा भ्रमणटोलीका संयोजक डा. सागर न्यौपाने लगायतले कुरा राखेका थिए । पाहुनाको सम्मानमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन  तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले र तानसेनको परिचय योजना अधिकृत विष्णु पौडेलले प्रस्तुत गरे । 
लुसान नगरका पाहुनाहरूको सम्मानमा तानसेन नगरप्रमुखको मन्तव्य
मित्रराष्ट्र जनवादी चीनको लुसान नगरबाट तानसेनमा उपस्थित आदरणीय कार्यकारी मेयर श्री ची लुन पीन, उहाँको टोलीमा सम्मिलित सम्पूर्ण पाहुनाहरू र तानसेन नगरपालिकाबाट उपस्थित साथीहरू, विश्व शान्तिका प्रर्वतक गौतम बुद्धको जन्मभूमि लुम्विनी निकट मनोरम पहाडी शहर तानसेनमा यहाँहरुलाई स्वागत गर्न पाउँदा हामी हर्षविभोर भएका छौँ । यस अवसरमा प्राकृतिक रुपमा सुन्दर, प्रदूषणमुक्त शहर तानसेन ऐतिहासिक तथा धार्मिक दृष्टिले समेत चर्चित रहेको सन्दर्भ स्मरण गराउन चाहन्छु । हामीलाई सम्झना छ चीनले विगतमा साम्राज्यवादविरुद्ध अथक युद्ध जीतेको थियो । यस्तै पाल्पा तानसेनका तत्कालीन कर्णेल उजीरसिंहको नेतृत्वमा हामीले अंग्रेज साम्राज्यवादलाई परास्त गरेको इतिहास छ ।
विभिन्न कालखण्डमा जहानीया राणशासन, निरङकुश पञ्चायती व्यवस्था र बहुदलीय ब्यवस्थालाई व्यहोरेका नेपाली नागरिकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गरेको पनि एक दशक पार भएको छ । जननिर्वाचित प्रतिनिधिबाट नेपालको संविधान बनेपछि स्थानीयतह,  प्रदेश तह र संघीय तहको निर्वाचन सम्पन्न भइ तीन तहको सरकार गठन भएको तथा आवश्यक ऐन, कानून निर्माणको काम अघि बढेको अवस्थाबारे अवगत गराउन पाउँदा खुसी लागेको छ । यतिबेला हामी संघीयता कायान्वयनको चरणमा रहेका छौँ ।
लामो बलिदानीपूर्ण संघर्षपछि नेपाली नागरिकले आपूmले चुनेका प्रतिनिधि सम्मिलित सरकार प्राप्त गरेका छन् । नागरिकको अर्थपूर्ण सहभागितामा विकास निर्माणका योजना, कार्यक्रम तथा आयोजनाहरु बन्नुका साथै कार्यान्वयनको क्रम अघि बढेको छ तर नागरिक अपेक्षाले पूर्णता प्राप्त गर्न अझै केही समय लाग्ने निश्चित छ । 
नेपाल मित्रराष्ट्र जनगणतन्त्र चीनदेखि हिमाल, पहाड, तराई हुँदै मित्रराष्ट्र भारतसँग सिमाना जोडिएको स्वतन्त्र राष्ट्र हो भन्ने तथ्य यहाँहरूलाई अवगत नै छ । छिमेकी देशहरुसँगको तटस्थ सम्वन्धलाईनेपालले सधै सम्मान गरेको छ । यद्यपि नेपालको विकासको लागि परापूर्वकालदेखि चीन सरकार र चिनिया नागरिकको अहम भूमिका रहेको यथार्थ स्मरण गर्नै पर्दछ । इतिहास साक्षी छ–नेपाली कलाकार अरनिकोले कलाको माध्यमबाट नेपालचीन सम्वन्ध उचाईमा पु¥याएका थिए । नेपालकी चेली भृकुटीले बैबाहिक सम्वन्ध मार्फत नेपालचीन सम्वन्धलाई प्रगाढ तुल्याएकी थिइन । यी केही उदाहरण हुन् । नेपाल र चीनबीच जनस्तरमा समेत सधै सुमधुर सम्वन्ध रहिआएको तथ्य प्रष्ट छ । नेपालको समग्र विकासको लागि चीन सरकारको चासोलाई हामीले सम्मानपूर्वक नियालेका छौँ । 
         हामी तानसेन नगरपालिकामा निर्वाचित भएर आएपछि १ वर्षको दौरान नागरिकले अनुभूति गर्नसक्ने केही काम गरेका छौँ । नगरबासीले विकास, निर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि लुसान नगर र तानसेनबीच सहकार्य होस साथै जनस्तरमा सम्वन्ध विकास होस् भन्ने आग्रह गरेको कुरा यहाँ राख्न चाहन्छु ।
लुसान नगरले गरेका विकास अनुभवबाट तानसेनले धेरै कुरा सिक्न सक्ने हाम्रो ठम्याइ छ । स्थानीय सरकारको हैसियतमा तानसेन र लुसान नगरबीच सौहार्दपूर्ण सम्वन्ध कायम होस, साथै विकासका लागि सहकार्य र समन्वय होस भन्ने हाम्रो चाहना छ ।
      अन्त्यमा, यहाँहरुको भ्रमण उपलव्धिमूलक र सुखद रहोस भन्ने कामनासहित यो भेटको लागि भ्रमण टोलीका प्रमुख लगायत सम्पूर्ण पाहुनालाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गर्दछु । कार्यक्रमको लागि समन्वयपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमका संयोजक डा सागर न्यौपाने तथा सम्वन्धित सबैप्रति विशेष धन्यवाद प्रकट गर्दछु ।  साथै व्यवस्थापनको कार्यमा तानसेन नगरपालिकाबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।
चीनको लुसान नगर र नेपालको तानसेन नगरपालिकाबीच सुसम्वन्ध कायम भएको अवसरमा जारी संयुक्त बक्तव्य
जनवादी गणतन्त्र चीनको लुसान नगरका कार्यकारी मेयर ची लुन पीनको नेतृत्वमा २०७५ असार ६ र ७ गते नेपालको काठमाडौं, लुम्विनी हुँदै तानसेन नगरपालिकाको मैत्रीपूर्ण भ्रमणमा आएको टोलीले भ्रमण उपलव्धिमूलक भएको अनुभूति गरेको छ । तानसेनको कला, संस्कृति,पर्यटन क्षेत्रको विकास र नागरिकबीचकोे सम्वन्धलाई थप उचाइमा पु¥याउन भ्रमण फलदायी भएको तानसेन नगरसरकारको मूल्याङ्कन छ । बुद्धसन्देश पछ्याउँदै लुम्विनी हुँदै तानसेन आएको लुसान नगरको टोलीप्रमुख कार्यकारी मेयर ची लुन पीन र तानसेन नगर सरकार प्रमुख श्री अशोककुमार शाहीबीच दुवै नगरको हितका लागि निम्न बुँदाहरूमा सहकार्य गर्ने सहमति भएको छ ।
(१) परम्परागत रुपमा नेपाल चीनबीच सरकार र जनस्तरमा कायम दौत्य सम्वन्धलाई सम्मान गर्दै तानसेन र लुसान नगरबीच विकास निर्माणका सकारात्मक अनुभव आदान प्रदानका लागि सहकार्य र सहयोग गरिने छ ।
(२) दुवै नगरको पर्यटकीय विकासका लागि बुद्ध सर्किट, शिल्करोड, बुद्धदर्शन लगायतका अवधारणालाई आत्मसात गर्दै सम्भव समन्वय, सहकार्य र सहयोग जनस्तरबाटै कायम गरिने छ ।
(३) तानसेन नगरपालिका र चीनको लुसान नगरबीच सहयोग र सहकार्य हेतु आजैका मितिदेखि सौहार्दपूर्ण सुसम्वन्ध कायम भएको घोषणा गर्दछौँ ।

Related News