​जम्बो संसदीय समिति गठनप्रति रामचन्द्र पौडेलका छोराको ब्यंग्य

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले नेपाली कांग्रेसले गठन गरेको जम्बो संसदीय बोर्डप्रति ब्यंग्य गरेका छन् । बुधबार कांग्रेसको कार्यसम्पादन समितिको बैठकले १७ सदस्यीय संसदीय बोर्ड गठन हुनासाथ सामाजिक संजाल फेसबुकमा पौडेलले टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘१७ जना संसदीय समिति सदस्यले प्रतिनिधिसभामा अत्यधिक बहुमतले बिजयी हुनुुहुनेछ । अग्रिम शुभकामना ।’ 
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न कांग्रेसले पार्टीको विधान विपरीत १७ सदस्यीय संसदीय बोर्ड बनाएकोमा आलोचना भइरहेको बेला पौडेलपुत्रले पनि ब्यंग्य गरेका छन् । 
पौडेलका छोरा सुशील कोइराला प्रधानमन्त्री हुँदा बेलायतबाट नेपालमा आएका थिए । उनलाई गरिब घर परिवार सहयोग समन्वय बोर्डको कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो । तर केपी ओली सरकारका गरिबी निवारण मन्त्री चित्रबहादुर केसी आएपछि उनले राजीनामा दिएर पुनः लण्डनतिर लागेका थिए । पौडेल इन्जीनीयर हुन् । नेपालमा असल मानिसको कुनै काम छैन भन्दै उनी पुनः बेलायत फर्किएका थिए ।
 प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ११ सदस्यीय संसदीय समिति बनाउने अनुमान गरिएको थियो । तर रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्का गुटलाई भागबण्डा गर्न १७ सदस्यीय बनाउनु परेको दलिल पेश गर्दैआएका छन् । पार्टी विधानमा ६ पदाधिकारी सहित बढीमा ८ सदस्य थप गरी १४ सदस्यीय मात्र संसदीय समिति बनाउने ब्यवस्था छ । उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन नगरेका कारण ११ सदस्यीय संसदीय समिति बनाउने चर्चा थियो । तर देउवाले १७ सदस्यीय बनाएका छन् । देउवाले पौडेल पक्षका ६, सिटौला १ र खड्कालाई १ गरी ८ जना दिएका छन् भने आफ्नो पक्षका ९ सदस्य राखेका छन् । खड्कालाई देउवातिरै गणना गर्दा १० र ७ हुन्छ ।

Related News