​चितवनमा वाम गठबन्धन अगाडि

चितवन, १८ मंसिर । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर २१ गते हुन गइरहेको छ । चितवनमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा निर्वाचन हँुदैछ । पूरै चितवनमा चुनावी चहलपहल बढेको छ । 
स्थानीयतह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले यस निर्वाचनमा मुलुकभर नै नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको छ । चितवनको पूर्वी क्षेत्रमा कम प्रभाव भए पनि पश्चिम चितवन र माडी नगरपालिकामा माओवादी केन्द्रको प्रभाव राम्रो छ । यसैगरी नेपाली कांग्रेसले पनि राप्रापासँग मिलेर प्रतिस्पर्धा गरेको छ ।
गत संविधानसभा निर्वाचन र स्थानीय तहको मत परिणामको आधारमा चितवनको तीनवटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु बलिया देखिन्छन् । स्थानीय तहको निर्वाचनमा चितवन क्षेत्र नं. १ मा जम्मा सदर मत ७९ हजार चारसय १८ रहेको थियो । जसमध्ये वडाध्यक्षहरुलाई प्राप्त मतको गणना गर्दा ३५ हजार पाँचसय ९२ मत एमालेलाई प्राप्त भएको थियो । यसैगरी क्षेत्र नं. १ मा माओवादीलाई १० हजार एकसय साठी, कांग्रेसलाई २९ हजार तीन सय ९२ र राप्रपालाई दुई हजार सातसय ५७ मत प्राप्त भएको थियो । यस हिसाबले १३ हजार छ सय तीन मतले वामपन्थी गठबनधन क्षेत्र नं. १ मा अगाडि छ । स्थानीय निर्वाचनको तथ्यांक हेर्दा चितवनको सबै क्षेत्र र प्रदेशमा पनि वामपन्थी गठबन्धन नै अगाडि देखिएको छ । क्षेत्र नं. १ ‘क’मा ७७५७ र ‘ख’ मा पनि ५८४६ मतले वामपन्थीहरु अगाडि नै देखिन्छन् । 
क्षेत्र नं. २ मा जम्मा सदर मत ६६ हजार चारसय ७५ रहेको थियो । जसमा एमालेले २७ हजार छसय ३८ र माओवादीले ११ हजार छ सय चार मत स्थानीय निर्वाचनमा प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसले २४ हजार सातसय ५५ र राप्रपाले एक हजार सात सय ५४ मत प्राप्त गरेका थिए । यसलाई आधार मान्दा क्षेत्र नं. २ मा पनि वामपन्थी गठबन्धन १२ हजार सात सय ३३ मतले अगाडि देखिएको छ । क्षेत्र नं. २ ‘क’ मा पाँच हजार तीन सय एक मत र ‘ख’ मा सात हजार चार सय ३२ मतले वामपन्थी गठबन्धन अगाडि छ । 
क्षेत्र नं. ३ मा जम्मा सदर मत ७८ हजार तीन सय २१ रहेको थियो । जसमा एमालेलाई २४ हजार चार सय ९४, माओवादीलाई १८ हजार एक सय चार, कांग्रेसलाई २६ हजार ना ैसय २३ र राप्रपालाई ८३४२ मत प्राप्त भएको छ । यस क्षेत्रमा पनि ७३३३ मतले वामपन्थी गठबन्धन अगाडि छ । क्षेत्र नं. ३ को प्रदेश ‘क’ मा एकहजार दुई सय ५२ र ‘ख’ मा छ हजार ८१ मतले वामपन्थी गठबन्धन अगाडि छ ।
चितवनको क्षेत्र नम्बर १ मा पूर्वी चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्दछन् । क्षेत्र नम्बर २ मा पूर्वी चितवनको कालिका नगरपालिका, उत्तरको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाभित्रका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नं. वडा पर्दछन् । निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र भरतपुर नगरपालिकाभित्रका १९ वडा समेटिएका छन् । जसमा वडा नं. ६, ८, ९ र १३ देखि क्रमशः २८ नं. वडासम्म पर्छन् । 
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार चितवनमा कूल तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर एकमा एक लाख १९ हजार नौ सय ९८, दुईमा एक लाख आठ हजार दुई सय १५ र तीनमा एक लाख २५ हजार आठ सय २३ जना मतदाता छन् । क्षेत्र नम्बर एकको प्रदेश क मा ५५ हजार पाँच सय ४४, प्रदेश ख मा ६४ हजार चार सय ५४, क्षेत्र नम्बर दुईको प्रदेश क मा ५२ हजार दुई सय ९८, प्रदेश ख मा ५५ हजार नौ सय १७, क्षेत्र नम्बर तीनको प्रदेश क मा ६८ हजार तीन सय ६२ र प्रदेश ख मा ५७ हजार चार सय ६१ जना मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा चितवनमा नेकपा एमालेले सात वटा स्थानीय निकायमध्ये पूर्वी चितवनका चार वटै नगरपालिकामा बहुमत जित्न सफल भयो । माडी नगरपालिका र भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले काँग्रेसको सहयोगमा विजय प्राप्त ग¥यो । नेपाली काँग्रेसले जिल्लाको एउटामात्र गाउँपालिका इच्छाकामनामा विजय प्राप्त गरेको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर एकबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, दुईबाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र तीनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट क्षेत्र नम्बर एकको प्रदेश क मा दावा दोर्जे लामा, प्रदेश ख मा कृष्णप्रसाद खनाल, क्षेत्र नम्बर दुईको प्रदेश क मा घनश्याम दाहाल र प्रदेश ख मा विजय सुवेदी, क्षेत्र नम्बर तीनको प्रदेश क मा कृष्ण भुर्तेल र प्रदेश ख मा रामलाल महतो उम्मेदवार छन् ।
नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिक मिलेर बनेको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर एकबाट राजेन्द्र बुर्लाकोटी, दुईबाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र तीनबाट वनमन्त्री विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर एकको प्रदेश क मा धनबहादुर गुरुङ, प्रदेश ख मा उत्तम आचार्य, क्षेत्र नम्बर दुईको प्रदेश क मा जितनारायण श्रेष्ठ र प्रदेश ख मा प्रकाश अधिकारी, क्षेत्र नम्बर तीनको प्रदेश क मा दिनेश कोइराला र प्रदेश ख मा साजन महतो उम्मेदवार छन् ।

Related News