​चियापानको सन्देश

दृष्टि न्यूज

नेपालीहरूको महत्वपूर्ण चाड दसैँ सकिएको छ । तिहार, नेपाल संवत्, छठ लहरै आउँदैछन् । आउन लागेका कतिपय चाडले भातृत्वको महत्ता दर्शाउँछन्, कतिपयले आत्मशुद्धी त कतिपयले समाजलाई एउटै सूत्रमा बाँध्ने सन्देश बोक्छन् । यि सन्देश हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको उन्नयनका निम्ति अनिवार्य मानिन्छ । जनताको सुख र राष्ट्रको समृद्धिको सपना साँच्ने राजनीतिक दलका निम्ति  पनि यस्ता पर्वका सन्देशले निकै महत्व राख्छन् । विशेषतः एउटा राजनीतिक व्यवस्थाबाट अर्को राजनीतिक व्यवस्थामा प्रवेश गरेपछि सामुन्नेमा आउने संक्रमणहरू पार लगाउन यस्ता सन्देशले अचुक काम गर्दछन् । असन्तुष्ट मनहरूलाई, टाढिएका व्यक्तिहरूलाई एउटै थलोमा उभ्याउन र सामूहिकताको भावना विकास गराउन यस्ता चाडपर्व प्रभावकारी बन्नेगर्छन् । त्यसैले पनि राजनीतिक दलहरूले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानको कार्यक्रम राख्ने गरेका हुन् । संविधान जारी भई पहिलो संघीय निर्वाचन सम्पन्न भएपछि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि गत साता यस्तै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना ग¥यो । 
यस वर्षको चियापान धेरै मानेमा महत्वको थियो । पार्टी एकतापछि दुईपार्टीका नेता–कार्यकर्तालाई एउटै थलोमा उभ्याउन, अन्तरघुलन बढाउन, दूरी घटाउन, संसय हटाउन मात्र होइन, एकअर्काप्रति आदरभाव बढाउन पनि चियापानले ठूलो भूमिका खेलेको विश्लेषण सुनिएको छ । पार्टीभित्रका कतिपय असन्तुष्टि समाधान गर्दै सशक्त, बलियो पार्टी संगठन निर्माणको दिशामा अघि बढ्न पनि चियापानले प्रेरणा प्रदान गरेको स्वयं नेताहरूले नै बताएका छन् । चियापानमा प्रमुख नेतृत्वमा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नपाए पनि नेकपाका शीर्ष नेताहरूले उनको अभाव खड्किन दिएनन् । यसले पार्टीभित्र सहअस्तित्व र जिम्मेवारीबोध बढेको देखियो । 
अघिल्लो दसैँमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनलाई लक्षित गरी चुनावी गठबन्धन घोषणा गरेका थिए । तर, त्यहीँबाट एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने बाचा पनि गरिएको थियो । त्यसले देशभरका कम्युनिष्ट नेता–कार्यकर्ताबीच ठूलो उत्साह ल्यायो । वामपन्धी विचारधारा बोक्ने लाखौँ जनताले उल्लासपूर्वक दसैँ मनाए । त्यसको सकारात्मक परिणाम मतदानमा प¥यो । निर्वाचनपछि प्रचण्ड बहुमतसहित गठबन्धनले संघीय सरकार निर्माण ग¥यो, भने केहीपछि औपचारिक रूपमा पार्टी एकताको घोषणा । एकता घोषणापछि भने एकताका बाँकी काम पूरा गर्न तीव्रता आउन सकेन । महिनौँ बित्दासमेत तल्ला कमिटी एक हुन सकेनन् । लाखौँ कार्यकर्ता भएको पार्टीको संगठन भताभुंग र भद्रागोलको अवस्थामा पुग्यो । फलस्वरुप पार्टी संगठन मात्र होइन, केन्द्रदेखि तल्लातहका सरकारसमेत अलमलमा देखिन थाले । 
मुलुकका सबै भौगोलिक इकाइमा पछिल्लो एक वर्षभन्दा बढीसमयदेखि स्थानीय सरकार क्रियाशील छन् । अधिकार सम्पन्न ती अधिकांश सरकारको नेतृत्व नेकपाले गरिरहेको छ । एउटाबाहेक ६ वटा प्रदेश सरकारमा पनि नेकपाकै प्रचण्ड बहुमत छ । दुईतिहाइ बहुमतसहित संघीय सरकार चलिरहेको छ । नेतृत्वका लागि इतिहासमा यस्तो अवसर विरलै प्राप्त हुन्छ । त्यसैले अहिलेको नेतृत्वले छाती चौडा गरी, उदारतापूर्वक निर्णयहरू लिन सक्नुपर्दछ । त्यसो भयो भने मात्र प्रधानमन्त्री ओलीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार हुन सक्छ । सिंगो पार्टीपंक्तिलाई सशक्त नबनाई यो सपना साकार हुन सक्दैन । र, पार्टी संगठनलाई विगतको जस्तै चुस्त र सशक्त बनाउन एकताका बाँकी प्रक्रिया यथासम्भव चाँडो, यथासक्य सहमतिमा पूरा गरिनुपर्दछ । पार्टीभित्र सुन्न थालिएको छ । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायतका असन्तुष्टि सार्वजनिक रूपमै सुनिन थालिएका छन् । यति ठूलो पार्टीको सांगठनिक समस्याहरू हल गर्दा सर्वसम्मत निर्णय सम्भव हुन पनि सक्दैन । तर, असन्तुष्टिका आवाजलाई बलमिचाइँबाट दबाबउन खोजियो भने पार्टी बलियो बन्न सक्दैन । बरु, छलफलमा सबैलाई भाग लिने मौका प्रदान गरी पारदर्शी रूपमा निर्णय गराउँदा त्यसमा सबैको अपनत्व रहन्छ । त्यसले पार्टीभित्रको लोकतान्त्रिक पद्दतिलाई नै बल पुग्दछ । यस दिशातर्फ पार्टी नेतृत्वको ध्यान जान जरुरी छ । यस वर्षको एकीकृत चियापानले यही सन्देश सबैलाई छरेको हुनुपर्छ । 

Related News