​चुनावले करिश्माको डिभोर्स ?

काठमाडौं, २ जेठ । आइतबार सम्पन्न पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा भाग लिएपछि धेरै कलाकारहरुले खुशी व्यक्त गर्दै भोट हालेको फोटो सामाजिक सञ्जालमा  पोष्ट गरेका छन् । नायक राजेश हमालदेखि नायिका रेखा थापासम्मले भोटपछि फेसबुकमा आ–आफ्नो भोट हालेको फोटो हालेर खुशी व्यक्त गरेका छन् । 
तर, नायिका करिश्मा मानन्धरले भने आइतबार बिहानै फेसबुकमा आक्रोश व्यक्त गरिन्, त्यो पनि आफ्नै श्रीमान बिनोद मानन्धरविरुद्ध । बिनोदका कारण आफूले भोट हाल्न नपाएको भन्दै उनले फेसबुकमा बिनोदविरुद्ध लामो आक्रोश पोखेकी छिन् ।  सामान्य एउटा पारिवारिक विषयलाई असामान्य ढंगले सार्वजनिक रुपमा व्यक्त गरेपछि त्यो विषयले ठूलै चर्चा पायो र उनीहरुको दाम्पत्य जीवनको बारेमा अनेक चर्चा बढाएको छ । 
आफ्नो मतदाता परिचयपत्र काठमाडौंबाट बनाउन सहयोग नगरेको भनेर करिश्माले त्यस्तो आक्रोश पोखेकी हुन् । उनले लेखेकी छिन्, ‘हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहे, यसै पनि विनोदजीको असाध्यै राम्रो मान्छे भन्ने इमेज छ । तर आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन, बिनोद ...तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् .. तिम्रो एकल निर्णयले ह‘ुदैन ...सबै कुरामा तिमि नै मालिक बन, तर केही कुरा सहन सकिँदैन ।’ यसरी उनले बिनोदलाई तानाशाह भएको आरोप लगाएकी छिन् । 
करिश्माले थप लेखेकी छिन्, ‘म काठमाडौंको नागरिकता भएको मान्छे उहासँग बिबाह गरेपछि सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो ।  म चुप लागे  । सायद श्रीमानकोमा राख्नु पर्छ होला भनेर यत्रो वर्ष भयो उहाँले मेरो भोटर कार्ड बनाई दिनु भएन । हामी लाजिम्पाट बस्छौं । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटर कार्ड लिनु भएछ । तर  उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झिनु भएन ।’ यसरी आफ्नो मतदाता परिचयपत्र बनाउन नसम्झाएको करिश्माको यत्रो आक्रोश थियो । जबकि सक्रिय राजनीतिमा लागेकी करिश्मालाई यति सामान्य कुरा आफै‘ले ख्याल गर्नुपर्ने हो ।
हुन त धेरै वर्षदेखि करिश्मा र बिनोदसँगै बस्दै अँएका छैनन् । उनीहरुले स्वतन्त्रतापूर्वक आ–आफ्नो जीवन जीउन भद्र सहमति गरेका छन् । त्यहीअनुसार बिनोद लाजिम्पाट बस्दछन् भने करिश्मा गोदावरीमा बस्दछिन् । करिश्माले छोरी र आफन्तकै लागि भनेर डिभोर्स नगरेको आशय दिने कुरा सोही स्टाटसमा लेखेकी छिन् । तर, धेरैले यो विषयमा करिश्मालाई नै दोषी भन्दै गाली गरेका छन् । 
भद्र सहमतिमा सम्बन्ध अघि बढाएको यो जोडीको दाम्पत्यमा यो चुनावले भने ठूलै असर पार्ने देखिन्छ । उक्त स्टाटसपछि बिनोद र करिश्माबीच झगडा भएको स्रोत बताउँछ । करिश्माका एक निकट व्यक्तिका अनुसार करिश्माले डिभोर्सका लागि बिनोदसँग प्रस्ताव राखिसकेका छन् । 

Related News