​‘चुनावमा बोलेको कुरा पूरा गरेरै छाड्छु’ -धनबहादुर बुढा, प्रतिनिधिसभा सदस्य, डोल्पा

धनबहादुर बुढा डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । डोल्पाबाट दोस्रो पटक नेकपा (एमाले)बाट विजय हासिल गरेका बुढाले खसेकोमध्ये ७७ प्रतिशत मत पाएर विजयी भएका हुन् । बुढाले ११ हजार ७६१ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढा ३ हजार १ सय ६७ मत ल्याएर पराजित भए । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सभा सदस्य एवं  नेकपा (एमाले)का युवानेता  बुढासँगको कुराकानी : 
डोल्पामा गत संविधान निर्वाचनमा पनि अत्यधिक ५६ प्रतिशत मत प्राप्त गर्नुभयो । अहिलेको निर्वाचनमा पनि ७७ प्रतिशत मत प्राप्त गर्नुभयो । तपाई के कारणले डोल्पामा यति लोकप्रिय हुनुभयो ?
अघिल्लो पटकको दोस्रो संविधानसभाको चुनावमा पनि नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष अंगदकुमार बुढा बागी उम्मेदवारको रुपमा उठेका थिए । तत्कालीन शान्ति मन्त्री सत्य पहाडी डोल्पा जिल्लाको हकमा शक्तिशाली उम्मेदवार र केन्द्रीय राजनीतिको नेता हुनुहुन्थ्यो ।  त्यस्तो अवस्थामा पनि ५६ प्रतिशत मत ल्याएर विजय हासिल गरेँ । किन त्यस्तो मत आयो भन्दा मैले डोल्पाली जनताको दःख सुखमा सधैँ इमान्दार रहेर साथ दिएको थिएँ । चुनावभन्दा अगाडिबाट नै जिल्लाको विकासको हकमा होस् वा व्यक्तिगत कुरामा होस् वा संस्थागत रुपमा यो वा त्यो नभनेर सहयोग गर्दै आएको थिए । पछिल्लो चरणमा चुनाव जितेर आइसकेपछि डोल्पा जिल्लाको विकास सोचेभन्दा राम्रो काम गरेँ । त्यस कारणले गर्दा अहिलेको प्रतिनिधिसभाको चुनावमा थोरै मिहेनत थोरै कोसिस गर्दा पनि ७७ प्रतिशत मत दिएर डोल्पाली बुवा–आमा दिदी बहिनीहरुले विजय गराउनुभएको छ । मलाई डोल्पाली जनताले ठूलो आशा भरोशा गरेका छन् । त्यस कारण डोल्पाली बुवा–आमा, दाजुभाइ, दिदी बहिनीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै सम्मान गर्न चाहन्छु ।  
डोल्पाका जनताका मुख्य समस्याहरु के–के हुन् ?
डोल्पाका जनताहरुको समस्या त धेरै छन् । त्यसमध्ये मुख्य समस्या भनेको मोटरबाटो, शिक्षा, स्वास्थ्य, सिँचाइ, सञ्चार, बिजुली, खानेपानी, खाद्यान्न र बेरोजगारी नै हो । 
तपाईंले अघिल्लो पटक निर्वाचित हुँदा डोल्पाका जनताका समस्या समाधानका लागि पहल गरेर हो कि के कारणले यस पटक पनि डोल्पालीहरुले तपाईंलाई यति धेरै पत्याएका ?
हो मैले निर्वाचित भएर गइसकेपछि डोल्पा जिल्लाको विकास सोचेको भन्दा राम्रो काम गरेँ, त्यस कारणले डोल्पाली जनताले मलाई विश्वास गरेर पत्याएर बढी मत दिएर पठाए ।  
अघिल्लो चार वर्षमा डोल्पा र डोल्पालीका लागि तपाईंले कस्ता काम गर्नुभयो ?
अघिल्लोपटक विकास निर्माणभन्दा पनि संविधान निर्माणको कार्यभार महŒवपूर्ण थियो, जुन काम सफलतापूर्वक पूरा गरियो । त्यसबाहेक विकासका लागि पनि धेरै काम गरिएको छ । चीनको मरिम्ला बोर्डरदेखि धो सम्म ७० किलोमिटर बाटोको लागि १५ करोड बजेट राखेर पनि ट्र्याक खोलेर अहिले मोटरसाइकलसमेत कुद्न सुरु भएको छ । जुम्लाको मौरेदेखि त्रिपूराकोट मोटर बाटोको लागि १० करोड छुट्याइएको छ । जुफाल एयरपोर्टदेखि माझफाल–ताली ५ करोड मोटरबाटोको लागि बजेट विनियोजन गरेर काम भइरहेको छ । निर्वाचन विकास कोषबाट बजेट बिनियोजन गरी भित्तिदेखि सँु पानी त्रिपूराकोटसम्म करिब ३–४ किलोमिटर मोटरबाटो बनाएर जीप पनि गुडिरहेको छ । पहाडा मसिने चौर एयरपोर्ट कालोपत्रको लागि २० करोड बजेट बिनियोजन गरी काम भइरहेको छ । 
बाम गठबन्धनको प्रभाव कस्तो रह्यो डोल्पामा ?
बाम गठबन्धनको प्रभाव डोल्पामा सोचेभन्दा राम्रो भयो । 
नेपालको सबै भन्दा ठूलो जिल्ला डोल्पा जहाँ प्रतिनिधिसभाका लागि एउटै मात्र निर्वाचन क्षेत्र छ । तपाईंहरुले यो विकट भूगोललाई दुईवटा जिल्ला बनाउन पनि खोज्नुभएन र दुईवटा निर्वाचन क्षेत्र पनि बनाउन खोज्नु भएन किन ?
डोल्पा जिल्ला नेपालकै सबैभन्दा सुन्दर ठाउँ र क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठूलो जिल्ला हो । त्यहाँ एक वडाबाट अर्काे वडा जान कम्तीमा पनि चार पाँच घण्टा देखि एक दिन पूरै लाग्ने गर्दछ । भूगोलको हिसाबले ठूलो जिल्ला भए तापनि त्यहाँ करिब चालिस हजार जति मात्र जनसंख्या छ । मैले बारम्बार सम्बन्धित निकायमा दुई वटा जिल्ला बनाउनु पर्छ भनेर पहल गरेको थिएँ । तर, सुनुवाई भएन । सायद जनसंख्या कम भएकाले हुन सक्छ ।
डोल्पाका गाउँहरुमा यातायातको सुविधा पनि छ ?
हाललाई सबै गाउँहरुमा सुविधा छैन तर आन्तरिक रुटमा केही गाउँहरुमा जिपहरु चलिरहेका छन् । 
अर्थतन्त्रको हिसाबले डोल्पामा बहुमूल्य जडीबुटी यार्चागुम्बाको उत्पादन अत्यधिक छ भनिन्छ यसको सदुपयोग डोल्पाले कसरी गरिरहेको छ ?
यार्चागुम्बा सबैभन्दा बढी परिमाण र सबैभन्दा राम्रो गुणस्तरको डोल्पा जिल्लामा पाउने गर्दछ । त्यहाँ डोल्पा जिल्लाको मान्छे मात्र नभएर छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला, रामेछाप, गोरखाबाट पनि हजारौं मान्छे यार्चागुम्बा टिप्न डोल्पा आउने गर्छन् । डोल्पा जिल्लाको मुख्य आय स्रोत भनेकै जडीबुटी हो । अहिलेसम्म जडीबुटी यार्चागूम्बाकै कारणले गर्दा जिल्ला धानेको छ । वर्षेनी कम्तीमा पनि डोल्पा जिल्ला यार्चागुम्बाको आम्दानी करोडौं हुने गरेको छ । यसको सदुपयोग स्थानीय बजार भइरहेको छ जस्ले गर्दा उचित मूल्य पाउन सकेको छैन । यसको महत्वलाई बुझेर नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारीकरण गर्न सकेको खण्डमा डोल्पाली जनताले सोचे जस्तो मूल्य पाउनेछ । 
डोल्पाका गाउँहरुमा यातायात र अन्य भौतिक सुविधाको अवस्था के कस्तो छ बताइदिनुहोस् न ?
डोल्पा जिल्लाको सदरमुकाममा अहिलेसम्म पनि केन्द्रीय सडक सञ्जालले छुन सकेको छैन । नेपाली सेनाले दिनरात खटेर राम्रो काम गरिराखेको छ । त्यस कारण म नेपाली सेनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जाजरकोट, डोल्पा मोटरबाटोको आयोजना प्रमुख कर्णेल विश्व बन्धु पहाडीको भनाइअनुसार १ वर्षभित्र सदरमुकाम पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । मलाई विश्वास छ अवश्य पनि पुग्छ । भौतिक पूर्वाधारको हकमा भन्नु पर्दा सन्तोषजनक छ । 
अब तपाईंको पाँच वर्षे कार्यकालमा डोल्पाका विकासका लागि के के योजना छन् बताइदिनुहोस् न ?
मेरो पाँच वर्षभित्रको अवधिमा भन्नुपर्दा मैले चुनावको प्रचार प्रसार गर्ने क्रममा पनि डोल्पाली जनता सामु बोलिसकेको छु । प्रतिबद्धता जाहेर गरिसकेको छु, पाँच वर्षभित्र प्रत्येक गाउँगाउँमा मोटरबाटो पु¥याउनेछु । चाइनाको मरिम्ला बोर्डर र क्याटो बोर्डरबाट भारतको रुपदिया (जमुना नाका) सम्म मोटर बाटो जोड्ने छु ।  डोल्पा जिल्लामा सञ्चारको ठूलो समस्या र प्रत्येक गाउँमा सञ्चारको सेवा पु¥याउने छु । डोल्पा जिल्लामा बिजुलीको ठूलो समस्या छ । त्यसलाई छिटोभन्दा छिटो समाधान गर्नेछु । डोल्पा जिल्लाको चुनौती भनेको युवा विद्यार्थी भाइबहिनीहरुलाई धेरै बेरोजगारी छन् । उनीहरुलाई रोजगारी दिनेगरी योजना बनाइरहेको छ । डोल्पा जिल्ला जडीबुटीको ठूलो भण्डार भएको जिल्ला हो । यहाँको जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने काममा लागेको छु । 
तपाईले समृद्ध डोल्पाका लागि बनाएको योजना पूरा गर्ने आधारहरु के–के छन् ?
मैले डोल्पा जिल्लालाई समृद्ध बनाउने आधारहरु निम्न छन्– जस्तो कि, चीनको मरिम्ला बोर्डर र क्याटो बोर्डरबाट भारतको रुपदिया (जमुना नाका) सम्म मोटर बाटो जोड्ने छु । पर्यटकीय जिल्ला भएका कारण यसको गुरुयोजना बनाई कार्यान्वयन ल्याउन भरपूर प्रयास गर्ने । जडीबुटीलाई स्थानीय स्तरमै प्रशोधन गराई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने र फलफूल व्यवसायीलाई व्यवसायीकरण गर्न प्रोतसाहित गर्न पहल गर्नेछु । 
डोल्पाका जनताले सब भन्दा बढी रुचाएको जनप्रतिनिधि हुनुहुन्छ । अब त मन्त्री बन्ने होला नि ?
हो मलाई जनताले रुचाएर नै म दुई पटकसम्म दोहो¥याएर डोल्पाली जनताले जिताएर पठाए । २०७० सालमा संविधान निर्माण गर्नु भनेर पठाएका थिए । खुसीको कुरा संविधान निर्माण भयो अहिले पनि मलाई मिहिनेत र परिश्रम नगर्दा नगर्दै पनि अत्यधिक मतले विजय गरेर पठाएका छन् । डोल्पाली जनताले मलाई मन्त्री बन्न शुभेच्छा दिएका छन् ।
डोल्पाबाट काठमाडौं र काठमाडौंबाट डोल्पा नियाल्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
डोल्पाको विकास काठमाडौं जस्तो होस् र काठमाडौं चाँही डोल्पा जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण होस् भन्ने अनुभूति हुन्छ । 
सम्बोधनबाट

Related News