​घिमिरेको बाटो खुल्यो

दृष्टि न्यूज

काठमाडौं, १ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व परिवर्तन भएको छ । नेतृत्व फेरिएसँगै अख्तियारभित्र थप उत्साह देखिएको छ । विगतमा अख्तियारबाट छानविन भएका कतिपय ठूला मुद्दाको फाइल त्यत्तिकै थन्किएको छ । निष्पक्ष र निर्भिक प्रशासकको छवि बनाएका घिमिरेले कार्यवाहक सम्हालेपछि ठूला माछामा हंगामा मच्चिएको छ । 
प्रमुख आयुक्त दीप बस्न्यातले सोमबारदेखि विदा लिएका छन् । केही दिनपछि अनिवार्य अवकाश पाउन लागेका उनी सोमबारदेखि नै विदामा बसेका हुन् । फागुन ४ गतेदेख अनिवार्य अवकाश पाउने बस्न्यात आइतबार अख्तियार दिवस मनाए लगत्तै विदामा बसेका हुन् । उनको अवकाशपछि मंगलबारदेखि आयोगका वरिष्ठतम् आयुक्त नवीन घिमिरेले आयोगको कार्यवहाक प्रमुख आयुक्तको जिम्मेवारीका छन् । प्रमुख आयुक्तले अवकाश पाएको अवस्थामा वरिष्ठ आयुक्त कार्यवाहक हुने प्रावधानअनुसार उनले जिम्मेवारी पाएका हुन् । 
एमाले निकट मानिने घिमिरे नै आयोगको प्रमुख आयुक्त हुने सम्भावना छ । प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्ले प्रमुख आयुक्तको नियुक्ति गर्ने कानुनी व्यवस्था छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने बाटो खुलेपछि घिमिरेको पनि प्रमुख आयुक्त हुने बाटो खुलेको हो । एमाले अध्यक्ष ओलीले आफ्नो प्राथमिकतामा सुशासनको एजेण्डालाई राखेकोले पनि सुशासनका लागि अख्तियारलाई थप प्रभावकारी बनाउनुपर्ने हुन्छ ।
पूर्व सचिव घिमिरे निजामती सेवामा रहदा इमान्दार छवी बनाएका व्यक्ति हुन् । उनी आयोगको प्रमुख आयुक्त भएपछि धेरै भ्रष्टाचारीहरु कारवाहीमा पर्ने विश्वास लिइएको छ । जसकारण केही माफियाहरु उनलाई रोक्ने चलखेलमा समेत लागेका छन् । अख्तियारभित्र पनि उनी प्रमुख आयुक्त भएपछि धेरै काम गर्ने विश्वास कर्मचारीहरुले लिएका छन् ।

Related News