
पर्यटन व्यवसायमा २५ वर्षको संघर्ष– सिएन पाण्डे, पर्यटन व्यवसायी
Tuesday, 9 Jan, 2018 11:57 AM

टुर्स एण्ड ट्राभल व्यवसायीहरुको संस्थान नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट(नाट्टा)को आगामी शुक्रबार हुन गइरहेको अधिवेशनमा उनी अध्यक्ष पदका बलिया दाबेदार हुन् । धेरै पर्यटन व्यवसायीले उनलाई सर्वसम्मत बनाउने प्रयास गरेपनि केही व्यक्तिले नमानेपछि उनी सशक्त उम्मेदवारका रुपमा अघि बढेका छन् ।
त्यस्तो नाट्टा उनको लागि नयाँ ठाउँ भने होइन । यसअघि चार कार्यकाल नाट्टामा बिताइसकेका छन् । सुरुमा कार्यसमिति सदस्य त्यसपछि कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्षका रुपमा कार्यरत छन् । लामो अनुभवकै आधारमा आफुले पर्यटन तथा ट्राभल÷टुर्स क्षेत्रकै लागि केही योगदान दिनका लागि अध्यक्ष पदमा उम्मेदवार दिएको पाण्डे बताउँछन् ।
यस्तो छ उनको सफलता यात्रा
अघाँखाँचीमा जन्मिएका पाण्डेले गाउँकै स्कुलबाट एसएलसी उत्तिर्ण गरे । उच्च शिक्षाको सपना बोकेर उनी पोखरा गए । पिएन क्याम्पसबाट पढाई पुरा गरेपछि उनी व्यवसायमा लागेका हुन् ।
पारिवारिक लगानीमा सन् १९९३ मा पोखरामा सम्राट टुर्स एण्ड ट्राभल्स स्थापना भएको थियो । ‘त्यतिबेला पर्यटक आगमन एकदमै राम्रो थियो, त्यसकारण सुरुदेखि नै व्यवसाय राम्रो हुँदै गयो,’ पाण्डे भन्छन्,‘ती वर्ष पछि नै हामीले काठमाडौंमा पनि शाखा खोल्यौं ।’
६ वर्ष पोखरामा बिताएपछि उनी काठमाडौं आएर व्यवसाय सम्हाले । व्यवसाय बढ्दै गयो । सन् २००३ देखि तिब्बत तथा मानसरोवर यात्रा प्याकेज संचालन गर्न थालेपछि सम्राट टुर्स देशकै अग्रणी ट्राभल्स कम्पनी बन्न पुग्यो । आफ्नो कम्पनीबाट मात्र करिब २० हजार पर्यटक मानसरोवर घुम्न गएको उनी बताउँछन् ।
उनको परिवारले होटल व्यवसाय पनि संचालन गर्दै आएको छ । पोखरा र चितवनमा होटल ल्याण्डमार्क पाण्डे परिवारले संचालन गर्दै आएको छ । कसरी उनी सफल पर्यटन व्यवसायी बन्न पुगे त ? पाण्डे भन्छन्, ‘मेहनत र इमान्दारीता नै हो ।’ निरन्तर मेहनत गरेपछि आफुहरु सफल भएको उनको भनाइ छ ।
थप मेहनत गरेर उनी समग्र पर्यटक क्षेत्रलाई नै केही योगदान दिन चाहन्छन् । यो क्षेत्रको सबै सम्भावना र समस्याबारे आफु जानकार भएको र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग समेत सम्पर्क भएकाले नाट्टाका अध्यक्षमा आफ्नो दाबेदारी रहेको उनी बताउँछन् । ‘सर्वसम्मत नै होउ भन्ने चाहना थियो,’ उनी भन्छन्, ‘चुनावबाट चुनिन पनि म तयार नै छु ।’
अध्यक्षका रुपमा पर्यटन उद्योगसँग सम्बन्धित एयरपोर्टका समस्यादेखि नेपाल एयरलाइन्सलाई बलियो बनाएर थप पर्यटक देशमा भित्र्याउने योजनामा केन्द्रीत हुने पाण्डेको भनाइ छ ।