​गच्छेदारका कारण कांग्रेसमा थप विवाद, युवा नेताहरु मौन

दृष्टि न्यूज

काठमाडौं, २१ कात्तिक । 
२०६४ मा नेपाली कांग्रेस परित्याग गरेर मधेसी दलमा लाग्दा विजय गच्छदार केन्द्रीय समिति सदस्यमात्र  थिए। १० वर्षपछि कांग्रेस फर्कदा उनी उपभासपति बनेका छन् । 

कांग्रेसभित्र सबैभन्दा भ्रष्ट नेताको छवी बनाएका गच्छेदार सबैभन्दा अवसरवादी नेता मानिन्छन् । तर, उनै कांग्रेसको नेतृत्व तहमा पुगेका छन् । जसले कांग्रेसभित्र थप विवाद बढेको छ । 

गत वर्ष असोज ३० मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेका गच्छदारलाई पार्टीको कुनै जिम्मेवारी दिइएको थिएन। केन्द्रीय समितिको बैठकमा विशिष्ट आमन्त्रित सदस्यका रुपमा सहभागी हुँदै आएका थिए। केन्द्रीय सदस्य हुँदै पार्टी त्यागेका गच्छदार ११ वर्षपछि पार्टीको उपसभापतिमा पदासीन भएका छन्। 

असोज ३० मा नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम विलय भएको थियो। कांग्रेस सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका तत्कालीन अध्यक्षबीच पार्टी एकिकरणको सहमति पत्रमा हस्ताक्षर गरेका थिए। सहमतिपत्रमा ‘एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश जिल्ला नगर र गाँउसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसको भातृ÷भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गर्ने’ उल्लेख थियो। 

सहमतिमा उल्लेख भएको ‘यथोचित समायोजन’ १३ महिनासम्म पनि कार्यान्वयनमा आउन सकेको सकेको थिएन। कांग्रेसमा पार्टी विलय गराएका गच्छदारको निरन्तरको दबाबपछि उनी आफू समायोजन भएपनि पार्टीका अन्य नेता तथा कार्यकतालाई भने कुनै जिम्मेवारी दिइएको छैन। 
 
पार्टी एकीकरणको समयमा गच्छदारलाई उपसभापति बनाउने अलिखित सहमति भएको थियो। त्यसैको आधारमा उनले पार्टीका फोरमहरुमा निरन्तर आवाज उठाइरहेका थिए। गत बैशाखमा भएको केन्द्रीय कार्य समितिको बैठकमा चार घण्टासम्म आफ्ना गुनासा सुनाएका थिए उनले। बैठकमा कांग्रेसलाई गरेको योगदान सहित पृष्ठभुमिको वकालत गरे। 

केन्द्रीय कार्य समितिको बैैठक लगत्तै सभापतिले बहुमतको आधारमा निर्णय गराएर विमलेन्द्र निधीलाई उप सभापति बनाइयो। विधानको कारण देखाएर गच्छदार उपसभापति हुन सकेका थिएनन्। पार्टीका नेता तथा कार्यकर्तालाई भातृ संस्थाहरुमा समायोजन नगरेपछि गच्छदार रुष्ट थिए। 

चार महिनाअघि पार्टीका शीर्ष नेता सहभागी भएको एक कार्यक्रममा गच्छदारले आफूसँगै आएका कार्यकर्तालाई जिम्मेवारी नदिए कार्यकर्तालाई काठमाडौं बोलाउने चेतावनी दिएका थिए। गच्छदारले एकपछि अर्को चर्को दबाब बढाएपछि पार्टी नेतृत्व जिम्मेवारी दिन सहमत भएको हो। 
 
नेपाली कांग्रेस विधानको धारा ५० मा बाधा अड्काउ फुकाउने अधिकारको व्यवस्था गरिएको छ। विधान अनुरुप गच्छदारलाई उपसभापति बनाउने अधिकार केन्द्रीय कार्य समितिलाई हुँदैन। तर, बन्देज फुकाउने अधिकार भने हुन्छ। विधानले बन्देज लगाए त्यसको फुकुवा गर्ने निर्णय त्यसलगत्तै हुने महासमिति बैठक वा महाधिवेशनमा केन्द्रीय कार्य समितिले पेश गर्नुपर्छ। 



मंगलबारको बैठकमा ‘राजनीतिक आवश्यकता र निर्णय’को आधारमा गच्छदारलाई उपसभापति बनाइएको बताइएको छ। महामन्त्री डा शंशाक कोइरालाले उपसभापति बनाउने प्रस्ताव केन्द्रीय कार्य समितिको बैठकमा पेस गरेका थिए। प्रक्रिया मिचेर उपसभापति बनाउन लागिएको भन्दै संस्थापन इतर समूहले आपत्ति जनाएको थियो। उनलाई उपसभापति बनाउन हुन्न भन्ने पक्षमा कोही पनि थिएनन् तर प्रक्रियागत रुपमा उपसभापतिको जिम्मेवारी दिनुपर्नेमा केही नेताले जोड दिएका थिए।
 
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीले मनोनित गर्ने विधीको विरोध गरे। केसीले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका सबै नेता कार्यकर्तालाई समग्रमा समायोजन गर्ने गरी कार्यदल बनाउन आग्रह गरेका थिए।
अचम्म पार्टीका युवा नेताहरु गगन थापा, प्रदीप पौडेल लगायत यो विषयमा मौन छन् । अर्का युवा नेता विश्वप्रकाश शर्मा प्रवक्ता नै भएकाले पार्टी निर्णयविरुद्ध बोल्न सक्ने कुरा भएन । यो निर्णयले पार्टीको युवा वर्गमा चरम निराशा छाएको छ । 

Related News