​कांग्रेसको आधारक्षेत्र रहेन मधेश

आलोक नेपाली । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले मधेशलाई आधार बनाएर राजनीति गरे । पूर्वी तराईमा जन्मिएर बनारसमा शिक्षा लिएका कोइरालाको मधेशसँग जन्म र कर्मले विशेष सम्बन्ध रह्यो । त्यसैले उनले मधेशलाई बुझेर राजनीति गरे । उनको नेतृत्वमा कांग्रेसले गरेको ‘सशस्त्र क्रान्ति’ को आधार मधेश र सीमापारीका क्षेत्रहरू थिए । वीपीले मधेशको मर्म बुझेका थिए । तिनै वीपीको आदर्श दोहो¥याएर नेपाली कांग्रेसले मधेशलाई भोट बैंक बनायो । कांग्रेस हरेक चुनावमा मधेशमा उत्साहजनक मत ल्याउन सफल भयो । तर, समय बदलिदै गएको छ । अब कांग्रेसले मधेशलाई भोट बैंक नमाने हुने अवस्था बनेको छ । हालसम्म भएका चुनावहरूमध्ये मधेशका १२ जिल्लामा कांग्रेसको अवस्था कमजोर बन्दै गएको छ । मधेशको मागमा भन्दा नेताहरूले राजनीतिक स्वार्थ पूर्तिमा भोट बैंकमा सिमित बनाएको यथार्थ मधेशी जनताले बुझ्नुले अब मधेशको राजनीतिमा समेत परिवर्तनहरू देखिनथालेको छ । 
उग्रपन्थीलाई काँध
वीपी देश, काल परिस्थिति बुझेका उदारवादी नेता थिए । राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गरे । व्यक्तिगत राजनीतिलाई दाउमा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्किए । राजनीतिमा खारिदै गएपछि वीपीले बुझे कि विदेशीहरू आफ्नो स्वार्थ पूरा नहुञ्जेलसम्म मात्र साथ दिन्छन् र ‘युज एण्ड थ्रो’ गरिदिन्छन् । वीपीले तानाशाह नै भएपनि राजासँग मेलमिलापको हात बढाएर राष्ट्रको अस्तित्वमा आँच आउने कदम चाल्न तयार भएनन् । तिनै वीपीको तस्वीर देखाएर कांग्रेसले मतदातालाई आकर्षित गर्दै आएको छ । तर, वीपीले व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाउने तत्वहरूसँग हातेमालो गर्नुपर्ने राजनीतिक दर्शन सिकाएका थिएनन् । नेपाली कांग्रेसले अहिले माओवादी केन्द्रसँग हातेमालो गर्नुमा उसका केही नेताहरूको राजनीतिक स्वार्थ सिवाय केही छैन । देशलाई दश वर्ष सशस्त्र द्वन्द्वमा धकेलेर विकासमा पछि पार्ने प्रचण्डसँग शेरबहादुर देउवाको हातेमालोप्रति कांग्रेसीहरू नै सन्तुष्ट छैनन् । वीपी पुत्र सशांक र जीपी पुत्री सुजाताले सार्वजनिक रूपमा यसबारे गम्भीर असन्तुष्टि देखाइसके । कांग्रेसको काँध चढेर फूर्ति नगर्न चेतावनी दिइसके सशांक र सुजाताले । उग्र वापपन्थी प्रचण्डले अवसरवादी देउवाको काँध चढेर भरतपुरमा पकड जमाए । कांग्रेसको पकड क्षेत्र मानिएको चितवन कांग्रेसको राजनीतिलाई देउवाले राजनीतिक स्वार्थका लागि जुवाको खालमा फालिदिए । कोइराला परिवारको पकड क्षेत्र रहेको भरतपुरमा देउवाले माओवादी लगाएर आफ्ना आन्तरिक प्रतिष्पर्धीमाथि कुटिल राजनीति गरे । राजनीतिको सबै षड्यन्त्रका कारण रेणु दाहाललाई भरतपुर महानगरपालिकाको चुनाव जिताए । अब त्यहाँ कांग्रेसको जरा उखेल्न प्रचण्ड सक्रिय भइसके । उनले भरतपुरलाई चुनावी क्षेत्र बनाउने भइसके । 
भरतपुर शुरूवात मात्र हो । कांग्रेसको आधार क्षेत्रमा पकड बनाउन प्रचण्डले अनेकन रणनीति अपनाएका छन् । मधेशमा बढारिइसकेको माओवादीले त्यहाँ पनि कांग्रेससँग भित्री सहमति गरेर चुनाव लड्दैछ । उदाहरणका लागि वीरगञ्ज महानगरपालिकाको उम्मेदवारीलाई लिन सकिन्छ । नेकपा एमालेले मुस्लिम समुदायबाट मेयरको उम्मेदवारी दिएपछि माओवादीले पनि मुस्लिम समुदायबाट मेयरको उम्मेदवार बनायो । त्यहाँ भित्री रूपमा माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग पु¥याउने रणनीति बनायो । प्रदेश नम्बर दुईको स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले षड्यन्त्रकारी चुनावी रणनीति बनाएका छन् । मधेशमा सबै शक्ति मिल्दा पनि एमाले बलियो रहेको रिपोर्ट शेरबहादुर देउवा र प्रचण्डको टेबुलसम्म रिपोर्ट पुगेपछि अत्तालिएर अन्तिम समयमा साँठगाँठहरू हुन थालेको छ । मधेशमा कांग्रेसले जमाउँदै आएको पकड इतिहासमै पहिलोपटक फितलो भएको संकेत हो यो । अब कांग्रेसले मधेश आफ्नो पकड क्षेत्र हो भन्न नपाउने अवस्था बन्न सक्छ । माओवादीलाई बुई चढाउँदा कांग्रेसको अधोगति अबका चुनावी घटनाक्रमले देखाउन सक्छ । 
प्रहरीको प्रयोग
प्रदेश नम्बर दुईको चुनावलाई संसद र प्रदेशको चुनावको पूर्व परिक्षा मानिएको छ । हालसम्मको नतिजा अनुसार छ वटा प्रदेशमा एमाले पहिलो पार्टी बन्न सक्यो । शेरबहादुर देउवाको गृहक्षेत्र सुदुरपश्चिममा समेत कांग्रेस दोस्रो स्थानमा पुग्यो । चुनावमा कमजोर रहेको रिपोर्टलगत्तै देउवाले दुई चरणमा चुनाव गर्ने निर्णय गर्न लगाए । चुनावमा सुरक्षा निकायबाट आफ्नो दललाई साथ दिने वातावरण बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीमा समेत चलखेल गरे । नवराज सिलवाललाई आइजीपी बन्ने भए कांग्रेसलाई जिताउने स्पष्ट रणनीति सुनाएर आश्वस्त पार्न भनेको खुलासा भइसकेको छ । जयबहादुर चन्दलाई आइजीपी बनाउने देउवाको उद्देश्यमा चुनावमा षड्यन्त्र गर्नु नै थियो । पछिल्लो समय प्रकाश अर्यालबाट सोचे अनुरुपको सहयोग नपाएपछि देउवा आइजीपी परिवर्तनको खेलमा लागेको सूचनाहरू आएको छ । देउवाले अर्याललाई राजीनामाका लागि दबाब समेत दिइसकेको खुलासा भयो । यसका पछाडि सुरक्षा निकायमा प्रभाव बनाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने रणनीति लुकेको छ । नेपाली सेना देउवाको स्वार्थपूर्तिमा सहयोगी हुन तयार भएन । सेनालाई प्रभावित पार्न फाष्ट ट्रयाकलगायतमा निर्णयहरू गरिएपनि नेपाली सेनाका जर्नेलहरूले राष्ट्र र जनताप्रतिको धर्म र कर्तव्य बिर्सेनन् । देउवाका लािग प्रहरीमात्र उत्तम अस्त्र बाँकी रहेपछि त्यहाँभित्र चलखेलमा सक्रिय भएका छन् । प्रहरीमा प्रदेशमा सात आइजीपी बनाउने देखि ३२ वर्षे लगाउने सम्मको विवादास्पद निर्णयहरू गरेर भएपनि चुनावमा धाधली गराएर नतिजा आफ्नो पक्षमा बनाउने खेलमा लागेका छन् । 
देउवा र प्रचण्डले चुनाव दुई चरणमा गर्ने निर्णय गराउँदै प्रदेशको चुनावलाई सार्ने खेल खेल्न थालेका छन् । प्रदेशको चुनावी परिणाम आफ्नो पक्षमा नआउने रिपोर्ट भेटेपछि संसदको चुनाव मात्र गर्ने र प्रदेशको चुनावलाई थाती राख्ने खेलहरू भइरहेका छन् । व्यक्तिगत स्वार्थका लागि संविधान कार्यान्वयनलाई धरापमा पार्ने चेलखेल हुनुले शंकाहरू जन्मन थालेका छन् । देउवाको इतिहास सकारात्मक छैन । उनले राजालाई प्रजातन्त्र बुझाएका थिए । यसपटक संविधान कार्यान्वयनमा अड्चन बनाएर राजतन्त्र फर्काउने देखि धर्म नीरपेक्षलाई धरापमा पार्ने सम्मको खेलमा सहभागी हुनसक्ने संकेतहरू देखापर्न थालेको छ । 
प्रदेश दुईको नतिजाको प्रभाव
चुनावको मुखमा देउवाले मन्त्रिमण्डल विस्तार गरे । इतिहासमै नभएको जम्बो मन्त्रीमण्डल बनाएर बदनामी कमाए । चुनावको मुखमा उनको कदमले कांग्रेसलाई ठूलो धक्का दिनसक्ने कांग्रेस नेताहरू नै भनिरहेछन् । तथापि, देउवा जुनसुकै हालतमा चुनाव जित्ने प्रपञ्चमा लागेका छन् । प्रदेश दुईमा सरकारमा रहेकाहरूले साम, दाम, दण्ड भेदको रणनीति बनाएका छन् । जुनसुकै षड्यन्त्र गरेर भएपनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न खोज्दैछन् । चुनाव आफ्नो पक्षमा पार्न मधेशमा हिंसा मच्चन सक्ने खतरा देखिइसकेको छ । कांग्रेस, माओवादी र केही मधेश केन्द्रित दलको गठबन्धनले एकजुट भएर एमाले एक्लैलाई चुनौती दिन कठिन देख्दैछन् । यसका बाबजुद एमाले पहिलो भयो भने चुनाव टार्ने चलखेल हुनसक्छ । जित्नका लागि नियम कानुनको धज्जी उडाउने प्रवृत्ति देउवा र प्रचण्ड दुवैमा छ । उनीहरूबीच केही मिल्छ भने नियम कानुनको धज्जी उडाएर भएपनि राजनीतिक लाभ लिन खोज्ने प्रवृत्ति समान छ । सिद्धान्तलाई एकातर्फ मिल्काएर व्यक्तिगत लाभको राजनीतिक गर्छन् । देउवालाई वीपीको सिद्धान्तको सार के हो भनेर सोध्दा प्रष्ट उत्तर दिन सक्नेछैनन् । उनका लागि वीपी आदर्श होइनन् राजनीतिरूपी व्यापारमा बेच्ने नाम भएको छ । वीपीले जे सोचेर देउवाको नेतृत्व विकासमा भूमिका खेलेका थिए त्यो भन्दा विपरित नतिजा आएको छ । समाजवादी चिन्तनका वीपीका शिष्य देउवा नवपूँजीपति हुन् भन्ने बुढानिलकण्ठको विशाल जमिन र महललाई हेर्दा थाहा लाग्छ । देउवा सम्पत्ति विवरण समेत सार्वजनिक गर्न डराउने अवस्थामा पुगिसके । प्रचण्डले माओको रचनात्मक कामलाई भन्दा ध्वंशात्मक क्रियाकलापको सिको गरे । माओको राष्ट्रभक्ति र विकासको सोचलाई सिक्न चाहेनन् । माओका लागि परिवारभन्दा देश र जनता प्रीय थिए । तर, प्रचण्डका लागि कुपुत्र प्रकाश प्रीय भएका छन् । छोरी रेणुका लागि राजनीतिक मूल्य र मान्यतालाई सखाप पारे । दुनियाँका छोराछोरीलाई हिंसाको अग्निकुण्डमा होमेर आफ्ना सन्तानको राजनीतिक भविष्य बलियो बनाउन खोजे । 
जनताले एकपछि अर्को चुनावमा देउवा प्रचण्ड गठबन्धनलाई झड्का दिएका छन् । तिनकै गृहक्षेत्रमा तिनका रोजाईका उम्मेदवार पराजित भएका छन् । अब हुने चुनावमा झन् ठूलो झड्का दिनेछन् । देशमा बेथिती र अराजकतालाई बढावा दिनेहरूलाई ब्यालेटबाट जवाफ दिनेछन् । नेपाली जनतालाई जे लादेपनि सहिहाल्छन् र मरेका नेताको नाम भजाएपछि मत पाइने संस्कारमा फेरबदल आइसकेको छ । वीपीको तस्वीर राख्ने तर विचारलाई लात्ताले कुल्चनेहरूलाई जनताले बुझेका छन् । अबको चुनावी नतिजामा जनताले देशलाई माया गर्नेहरूको पहिचान गरी मतदान गर्नेछन् । देशलाई दाउमा राख्नेहरूलाई पराजित गर्नेछन् । 

Related News