​वीपीको बाटोमा कांग्रेस

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । नेपालको राजनीतिमा ढिलै भए पनि विचार मिल्ने वामपन्थीहरुबीच चुनावी गठबन्धन बनेको छ । विचार मिल्नेहरुबीचको गठबन्धन स्वभाविकै भए पनि विचार नमिल्नेबीच कांग्रेसले जुन लोकतान्त्रिक गठबन्धन बनाएको छ, त्यो अन्ततः कांग्रेसकै लागि मात्र नभएर देशकै लागि दुर्भाग्य बन्न सक्छ । राजतन्त्र पुनस्र्थापनाको मुद्दा बोकेको राप्रपालाई लोकतान्त्रिक गठबन्धनमा ल्याएको कांग्रेसले कि त राजतन्त्र स्वीकारेर वीपीको राष्ट्रिय मेलमिलापको बाटोमा जानु प¥यो । कि त गणतन्त्रको पक्षमा उभिएर कुनै न कुनै रुपमा अहिलेको उपलब्धि रक्षा गर्नु प¥यो । किनभने नेपालमा जति पनि राजनीतिक उपलब्धिहरु भएका छन्, त्यसको पछाडि कांग्रेस र कम्युनिष्टहरुको एकताले भूमिका खेलेको छ । देशलाई अप्ठेरो पर्दा कम्युनिष्टसँग एक ठाउँ उभिनै हुन्न भन्ने मान्यता कांग्रेसले बोक्न थाल्यो भने अन्ततः कांग्रेस वीपीकै मेलमिलापको बाटोमा हिंड्नुको विकल्प देखिँदैन । किनभने, नेपाललाई हिन्दू राष्ट्र बनाउन खोज्नेहरुले यही ध्रुवीकरण चाहेका छन् । कम्युनिष्टहरु जन्मजात धर्म निरपेक्षतावादी र गणतन्त्रवादी भएकोले कांग्रेस–कम्युनिष्ट एक ठाउँ उभिएसम्म नेपालमा आफूले चाहेको एजेन्डा कार्यान्वयन गर्न सकिन्न भन्ने निष्कर्ष एकथरिले निकालेको कारण वाम गठबन्धनले प्रतिगामी र पुनरुत्थानवादीलाई ठूलो राहत मिलेको छ ।
यति कुरा पनि विश्लेषण नगर्ने कांग्रेसका नेताहरुले नेपालमा एकदलीय कम्युनिष्ट शासन लाद्न यो गठबन्धन गरेको स्यालहुइयाँ गरिरहेका छन्, जसमा कुनै सत्यता छैन । प्रतिस्पर्धाबाटै सत्ता प्राप्त हुन्छ भने हतियार बोकेर राज्यसत्ता कब्जा गर्न सकिँदैन भन्ने कुरा बुझेरै नेपालका कम्युनिष्टहरुले बहुदलीय लोकतन्त्र स्वीकार गरेका हुन् । जननेता मदन भण्डारीको बाटोमा माओवादी हिंडेको भए आज देशको राजनीतिक, आर्थिक अवस्था दक्षिण एसियामा सबैभन्दा उत्कृष्ट हुने थियो । तर, दुर्भाग्य नेपालमा राजनीतिक अस्थिरता नचाहने शक्तिले माओवादीलाई बोकेको कारण हजारौं निहत्था जनताले बलिदानी दिनुप¥यो भने नेपालको आर्थिक विकास झन्डै बीस वर्ष धकेलिन पुग्यो । विगतका आफ्ना अपराधलाई गल्ती स्वीकार्दै लोकतान्त्रिक धारमा आएका वामपन्थीहरुको एकतालाई आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेसका नेताहरुले स्वागत गर्नुपर्नेमा उल्टै विरोध गरेका कारण कांग्रेस लोकतान्त्रिक पार्टी होइन भन्ने प्रमाणित भएको छ । बरु वामपन्थी दलका नेताले लोकतान्त्रिक गठबन्धन पनि राजनीतिक स्थिरताको माध्यम बन्न सक्छ भनेर त्यसको स्वागत गरेका छन् ।
कांग्रेसका नेताहरुले वामपन्थी गठबन्धनलाई जतिसुकै गाली गरे पनि कांग्रेसको चरित्र के हो भन्ने कुरा सात सालदेखि अहिलेसम्म नेपाली जनताले भोग्दै आएको कुरा हो । भाषणले देश बन्दैन । त्यसैले अब नेपाली जनताले विकासे भाषण गर्ने नेतालाई होइन, देश र जनताको सेवा गर्ने पार्टीलाई भोट दिने कुरामा दुईमत छैन । गत स्थानीय निकायको निर्वाचनमा वामपन्थीलाई दिएको मतबाटै जनमत बुझ्न सकिन्छ । कांग्रेसका बुद्धिजीवीहरुले स्थानीय निकायमा कांग्रेस आफैँले हार्ने आधार तयार गरेको थियो भनेर पत्र–पत्रिकामा धेरै लेखहरु पनि लेखे । तर, ती लेखहरु पढ्ने र आफूलाई सुधार्नेतिर कांग्रेसका नेताहरु लागेनन् । बरु, उल्टै वाम गठबन्धनविरुद्ध राजावादी पार्टीलाई लोकतान्त्रिक धारमा भित्र्याएर अर्को गल्ती गरेका छन्, जुन नेपाली जनमतको विपरीत छ ।
मुखले कोही पनि लोकतन्त्रवादी बन्न सक्दैन । व्यवहार र चरित्रले लोकतन्त्रवादी हो होइन भन्ने कुरा छुट्याउँछ । सत्तालाई कमाउने भाडा बनाउने र शक्तिलाई दुरुपयोग गरेर आफ्नो स्वार्थपूर्ति गर्ने कांग्रेसको चरित्रकै कारण स्थानीय निकायको निर्वाचनमा धुलो चाट्नुपरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि किन महाअभियोग लगाइयो र किन फिर्ता लिइया भन्ने कुराको जवाफ जनताले अहिलेसम्म पाएका छैनन् । कांग्रेसको यो व्यवहार अधिनायकवाद हो । नेपाल प्रहरीका एक जना डीआईजीबाट सुरु भएको यो प्रकरणले कांग्रेसलाई नांगेझार बनाइदियो । व्यवहार र चरित्रले को लोकतन्त्रवादी को अधिनायकवादी हो भन्ने कुरा छुट्याउँछ । सत्तालाई कमाउने भाडा बनाउने र शक्तिलाई दुरुपयोग गरेर आफ्नो स्वार्थपूर्ति गर्ने कांग्रेस नेतृत्वको चरित्रकै कारण स्थानीय निकायको निर्वाचनमा धुलो चाट्नुपरेको हो । एउटा राष्ट्रको बफादार सिपाहीमाथि सिंगो राज्य खनियो र शक्तिको दुरुपयोग गर्दै महाअभियोगसम्म पुग्यो । यसको जवाफ नेपाली जनताले माग्नै पर्छ । तसर्थ, वाम गठबन्धन राजनीतिक स्थिरता, कानुनी शासन, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डताको लागि अपरिहार्य छ ।

Related News