​कम्युनिष्ट सत्ताको बार्दलीबाट बडादशैंको शुभ–कामना !

दृष्टि न्यूज

माथवरसिंह बस्नेत । मैले आफ्नो अध्ययन र जीवन भोगाईका सन्दर्भमा जुन अनुभव हासिल गरेको छु, त्यसका आधारमा धेरै पटक दोहो¥याएको छु कि उदार प्रजातन्त्रमा कम्युनिष्ट विचार अटाउँछ तर कम्युनिष्ट शासन सत्ताभित्र प्रजातन्त्र कुनै हालतमा अटाउँदैन । उदाहरणका लागि पहिलो कम्युनिष्ट देश– सोभियत संघ र पूर्वी युरोपका देशहरु मात्र होइनन्, त्यसपछिको चीन, उत्तर कोरिया र क्युवालाई प्रस्तुत गर्ने गरेको थिएँ । आफ्नै जीवनकालमा सोभियत संघको विघठन र कम्युनिष्ट शासनको दारुण पतन देखिसकेकाले चीनको कम्युनिष्ट सत्ताले पनि प्रजातन्त्रलाई लामो कालसम्म रोक्न सक्तैन, ढिलोचाँडो प्रजातन्त्रको उज्यालो चिनियाँ जनताको आँगनमा पनि फैलिने छ भन्ने अनुमान लगाउन होइन, विश्वास गर्न थालिसकेको थिएँ । तर यसबीचमा राजनीतिबाट आदर्श, सिद्धान्त, मूल्य र मान्यताजस्ता  आधारभूत कुरामा यति ह्रास र अवमूल्यन भयो कि प्रजातन्त्र र कम्युनिष्टको पहिचान नै मेटिन थाल्यो । विडम्वना, माओ र उनको नौलो जनवादलाई आदर्श मान्ने झापाली हुन् वा स्वघोषित माओवादी किन नहुन्, दुवैथरिले भारतसमक्ष त्वंशरणम् भनेर १२ बुँदे दिल्ली सम्झैेतामा आत्मसमर्पण गरेको मात्र होइन, उनीहरु नै लोकतन्त्रवादी बनेर काठमाडौंको सत्तामा सवार भएको देखेपछि नेपालमा माक्र्स र माओ दुवै असान्दर्भिक हुन पुगेको मान्नै प¥यो । अर्को शब्दमा भन्ने हो भने उनीहरुका लागि सत्ता मात्र सान्दर्भिक भयो, विचार र सिद्धान्त गौण हुनपुग्यो । प्रजातन्त्रिक राज्यव्यवस्था ध्वस्त पारेर नयाँ जनवाद स्थापना गर्न हिडेका माओवादी, उल्टै लोकतन्त्रका व्याख्याता बन्नपुगेका छन् र अहिले त संवैधानिक रुपमै त्यसका संरक्षक पनि उनीहरु नै भएका छन् । 
भनिरहन परेन कि १२ बुँदे दिल्ली सम्झौताको मार्गचित्र बमोजिम त्यसरी अघि बढेको नेपालको राजनीति, नयाँ संविधान बनेपछि सत्ताकब्जा विना नै कम्युनिष्टको हातमा पुगेको छ । केन्द्रदेखि गाउँसम्म कम्युनिष्टको सत्ता विस्तार भएपछि मजस्ता प्रजातन्त्रवादीले फेरि अनिश्चित कालसम्म जेल जीवन विताउनु पर्ने अथवा कुनै श्रम शिविरमा बुढेसकाल गुजार्नुपर्ने स्थिति सिर्जना भयो भन्ने अनौठो हुँदैन । किनभने प्रजातन्त्रमा कम्युनिष्ट अटाए पनि कम्युनिष्ट सत्तामा प्रजातन्त्र अटाउँदैन भन्नेमा म ढुक्क जो थिएँ, तर लोकतन्त्र आएपछि देश, धर्मनिरपेक्ष बनेजस्तै राजनीति पनि विचार र सिद्धान्तनिरपेक्ष बनिसकेको रहेछ । कम्युनिष्टले माक्र्सवाद र कांग्रेसले प्रजातन्त्र छाडिसकेका र उतैको लोकतन्त्र बोकिसकेका हुनाले सिद्धान्तको ह्याङ्ओभर कसैमा शेष बचेको रहेनछ । त्यो भनेको अब उप्रान्त कसैले पनि आदर्शप्रति आस्थावान् र सिद्धान्तको सीमामा अडिनु पर्ने वाध्यता नरहेको उद्घोष हो । जसले जे गरे पनि हुने स्वतन्त्रताको अर्को नाम, लोकतन्त्र हो भनेर हिडे भैहाल्यो । क्या मज्जा ! जुन बेला जुन विचार बोक्दा फायदा हुन्छ, त्यही अनुसार चल्नु युगको राजनीतिक चातुर्य र  धर्म बन्न पुग्यो । त्यस्तो अराजक स्थिति मौलाएको बेला मैलेचाहिँ लेख्नुको औचित्य नदेखेर चुपो लागेर बस्नुमा कल्याण देखें । विभिन्न प्रकारका मिडियाको बाढी आएकै छ, लेख्नेहरुको कुनै कमी छैन । विदेशी लगानीकर्ता पनि थैलीको मुख खोलेर बसेकै छन् । यस्तो लुटतन्त्र चलेका बेला प्रजातन्त्रका आदर्शका कुरा लेखेर लोकतन्त्रवादीलाई किन ठेस पु¥याउनु भन्ने सोचेर केही नलेख्ने अठोट गरेको थिएँ । तर कोलाहल मच्चाउनेहरुको भीड जति ठूलो भए पनि सत्य बोल्ने, लेख्ने र खोतल्ने पत्रकारको अभाव भने आज पनि उत्तिकै रहेको पाएँ, जति निर्दलीय पंचायत व्यवस्थाको चकचकिका बेला प्रजातन्त्रका पक्षमा लेख्नेहरुको अनिकाल थियो । उस बेला दरवारियाहरुको जगजगि थियो भने अहिले विदेशीको विगविगी चलेको छ । यस्तो अवस्थामा साँचो कुरा यो हो है भन्ने माध्यम मैले दृष्टिलाई पाएँ र आफ्नो दृष्टिकोण यसैमार्फत् राख्ने अठोग गरें । यो काम मैले कम्युनिष्टलाई सुधार्न अथवा बिगार्न गरेको होइन, सम्पूर्ण जीवन प्रजातन्त्रका निम्ति अर्पिएको व्यक्तिले त्यसको दुर्गतिलाई टुलुटुलु हेरेर बस्नुभन्दा आलोचना गर्दै जाने बाटो रोज्नु युगधर्म हो भन्ठानेर आलस्य त्यागेको हुँ । त्यो धर्म जोगाई दिने काम भयो भने एक दिन स्वाभिमान राष्ट्रवादी पुस्ता जाग्नेछ र त्यसैले आफ्ना पुर्खाको निधारमा विदेशीले बलात् थोपरिदिएको कालो टीका मेट्ने उद्यम अवश्य गर्नेछ, त्यस बेला यस्तो दृष्टिले त्यो पुस्तालाई निरन्तर दिशाबोध गराइरहने छ । त्यही निष्कर्षले मलाई लेखनमा लाग्न पुनः सक्रिय तुल्याएको हो । 
देश, बडादशैंको रमझममा प्रवेश गरिसकेकाले महंगीको अचाक्लि पीडाबाट पीडित नेपालीलाई समसामयिक राजनीतिको अड्बाङ्गे अवस्थामाथि गरिएको टीका–टिप्पणी जतिसुकै गम्भीर भए पनि पढ्ने फुर्सद र जाँगर हुँदैन । त्यो काम दशैंपछि मात्र हुनेछ । त्यसैले सरकारी कर्मचारीले दशैंपछिको तारीख तोकेजस्तै म पनि त्यसपछि मात्रै लेख्ने किरिया खान्छु– धरोधर्म !  
मेरा विचार र दृष्टिकोण, दृष्टि र शम्भुजीका अनुकूल छैनन्, त्यसको मलाई पूरा हेक्का छ । मलाई यो तथ्य याद छ, निर्दलीय पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाका लागि भएको जनआन्दोलनका क्रममा हामीले अलग कित्तामा हुँदाहुँदै पनि साझा उद्देश्यका निम्ति संगै काम गरेका थियौं । अहिले पनि दृष्टिका विचारसंग म सहमत नभए पनि असहमत हुन पाउने अधिकारप्रति भने हामी दुवैथरि सहमत छौं । विश्वको पहिलो महान क्रान्ति– फ्रान्सको राज्यक्रान्तिका मार्गदर्शक दार्शनिक रुसोले अर्का क्रान्तिकारी नेता भोल्टेयरलाई जुन आश्वासन दिएका थिए, त्यो भावनाको सम्मान गर्न शम्भुजीले पनि कुनै कञ्जुसी देखाउनु होला भन्ने मैले ठानेको छैन ।  
सूर्यविनायक, भक्तपुर

Related News