अख्तियारबाटै भ्रष्टाचारलाई प्रश्रय


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिदमा ६७ करोड रुपैयाँ घोटाला गरेको कुरा संचारमाध्यमले प्रमाणसहित उजागर गरे । झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा प्रचलित मूल्यभन्दा ५ गुणा बढी तिरेको पाइए पनि सरकारदेखि भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही कारबाही गरेको जानकारी छैन । अख्तियारले छानबिन गर्ने भनेको एक महिना हुनै लागेको छ । तर छानबिन कहाँ पुग्यो केही जानकारी जनसमक्ष आउन सकेको छैन । जग्गा खरिदमा घोटाला गर्ने कार्यकारी निर्देशक गोपाल खड्कालाई  निलम्बन समेत अहिलेसम्म गरिएको छैन । उल्टै उनी छात्ती फुलाएर भ्रष्टाचार विरुद्ध समाचार लेख्ने पत्रकारलाई धम्की दिइरहेका छन् । र, जति ठूलो अक्षरमा समाचार लेख्न सक्छौ लेख तर मलाई कसैले केही गर्नसक्दैन भन्दै हाकाहाकी चुनौती दिइरहेका छन् । भ्रष्टाचारीमाथि सरोकारवाला निकायले कारबााही नगर्दा उनीहरु पत्रकारहरुको जीउज्यानमाथि नै धावा बोल्न थालेका छन् ।
ब्यवस्थापिका संसदका उपभोक्ता हित सम्बन्ध समिति, अर्थ समितिदेखि विकास समितिसम्मले निगमको जग्गा खरिदमा छानबिन सुरु गरेका थिए । तर ती समितिका सांसदहरु समेत पछिल्ला दिनमा शिथिल हुँदै गएका छन् । कतिपय सांसदहरु त प्रक्रिया पु¥याएर खरिद गरेको रहेछ भनेर उल्टै भ्रष्टकै समर्थनमा बोल्न थालिसकेका छन् । यसले सांंसदहरु समेत भ्रष्टहरुको चास्नीमा डुबेको कुरालाई पुष्टी गरेको छ । भ्रष्टाचारको जालो यति जेलिएको छ कि अख्तियार, संसदीय समिति सबैलाई जालमा पारिसकेपछि मिडियालाई धम्क्याउने नीति गोपाल खड्काहरुले अख्तियार गरेका छन् । अख्तियारले २ हजारदेखि ५ हजार घुस लिने कर्मचारीलाई पक्राउ गरेको भन्दै बढाइचढाइ गर्छ तर जग्गा खरिदमा ६७ करोड भ्रष्टाचार गर्नेलाई प्रमाणसहित समाचार आउँदा पनि कारबाही गर्दैन । उल्टै छानबिन सुरु गरेको भनेर मिडियालाई दिउँसै आँखामा छारो हाल्ने काम गर्दैआएको छ । नीतिगत भ्रष्टाचार चुडामणि शर्मा र गोपाल खड्काहरुले अरबकै हाराहारी गर्दा पनि कारबाही नहुने तर २ हजार रुपैयाँ लिएको आरोपमा शाखा अधिकृत कविता केसीहरुको जागिरै चट् हुने मुलुक नेपाल भएको छ । शर्माले २१ अर्ब भ्रष्टाचार गरे, तर उनी एकरुपैयाँ धरौटी नराखी छुटिसकेका छन् । गोपाल खड्काले जग्गा खरिदमा ६७ करोड भ्रष्टाचार गरे तर प्रक्रिया पु¥याएर खरिद गरेको भनेर जोगिएका छन् । के प्रक्रिया पु¥याएर खरिद गरे जे पनि गर्न पाइन्छ ? यो प्रश्न यो देशका शासक, ६०१ सांसद र भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायलाई हो ।
अख्तियारले छानबिन सुरु गरेको भनेको कति दिनसम्म टुंगोमा पुग्छ । निगमको जग्गा खरिद प्रकरणमा भएको चरम अनियमिततामा कारबाही नभएपछि भ्रष्टाचार जति गरे पनि हुँदोरहेछ भन्ने सन्देश जनमानसमा प्रवाह भएको छ । यो सन्देश प्रवाह हुनु दुर्भाग्य हो । भ्रष्टाचार गर्नेहरु दण्डित हुनुपर्छ । कमसेकम आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितता टुंगो नलागेसम्म अख्तियारले दोषी गोपाल खड्कालाई निलम्बन गरेको भए अख्तियार भन्ने संस्थाको कामकारबाहीप्रति जनतामा आशा जाग्ने थियो । तर जग्गा खरिदमा भएको अनियमिततामा अख्तियारको मौनता रहस्यमय छ । अख्तियारका पदाधिकारीमध्ये एकजना गोपाल खड्काका नाता पर्ने भएकाले कारबाही नहुने चर्चा भइरहेको छ । जग्गा खरिद प्रकरणमा पूर्वआपूर्ति मन्त्री दीपक बोहरा पनि तानिने भएकाले अख्तियारले छानबिनमा बिलम्ब गरिरहेको चर्चा पनि हुने गरेको छ । निगमले जग्गा खरिदमा गरेको नांगो भ्रष्टाचारमा अख्तियारको रहस्यमय मौनताले त्यसलाई पुष्टी गरेको छ । यसले अख्तियारप्रतिको सम्मानमै आँच पुग्न गएको छ । जुन देशका लागि शुभ होइन । 
दशरथ गिरी, रामकोट, काठमाडौं

Related News