​‘डाबर स्कुल इम्युनो च्याम्प–२०१७’को पहिलो चरण समापन

काठमाडौं, १४ पुस । डाबर नेपालले काठमाडौं, पोखरा, तथा चितवनका विद्यालयमा आन्तरिक शक्ति (इम्युनिटी)को सन्देशसहित सञ्चालन गरेको दोस्रो संस्करणको ‘डाबर स्कुलइम्युनो च्याम्प–२०१७’ को पहिलो चरण समापन भएको छ । कार्यक्रमको पहिलो चरणमा ८६ विद्यालयका ३५,८०१ विद्यार्थीले सहभागिता जनाएको कम्पनीले बताएको छ । 
कार्यक्रममा डाबर नेपालका प्रतिनिधि र पार्टनर अस्पताल वयोधा अस्पतालका प्रतिनिधिले विद्यालयमा गई विद्यार्थीको उचाइ र तौल मापन गरी विद्यार्थीको बडी मास इन्डेक्स निकालिने गरिएको कम्पनीको भनाइ छ । त्यसैगरी विद्यालयको सफाइ र खानेपानी सुविधा हेरी प्रतियोगिता सम्पन्न हुन्छ ।
डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । जाडो महिनामा विशेषगरी ८ कक्षासम्मका विद्यार्थीको आन्तरिक शक्तिमा कमी आएर साधारण रोग लाग्ने हुँदा पूर्वसावधानी अपनाउन कार्यक्रमबाट सहयोग पुगेको उनले दाबी गरे । 
कार्यक्रमबाट १० वटा विद्यालय विजेता घोषणा हुनेछन् । काठमाडौं पूर्व र भक्तपुर, काठमाडौं पश्चिम, ललितपुर, पोखरा र चितवनबाट २–२ वटा विद्यालय विजेता बन्नेछन् । वयोधा अस्पतालका प्रबन्धक उत्तम थापाले कार्यक्रम व्यक्ति विशेषको विकासबारे जानकारी प्राप्त गर्ने उपयुक्त थलो हुने विश्वास व्यक्त गरे ।

Related News