​दालभात खाएर नमर्ने देशभक्त साहित्यकार

श्याम रिमाल ।
मैले त क्रान्तिलाई सलामी दिइसकेँ
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ
क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ
म क्रान्तिको भोको छु
क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ
(गोपालप्रसाद रिमाल, मेरो प्रेमको कथा, आमाको सपनाबाट)

‘हामीलाई आजै, अहिल्यै, भोलि नै प्रजातन्त्र चाहिन्छ, छेक, थुन, मार, काट, ज्यान सरकारको’ भन्दै मोहनशम्शेरका दरबारबाट निस्किएका थिए उनी । डर थियो नेपाली काँग्रेसले भारतको सहायताले यहाँ क्रान्ति गरेमा विदेशी हस्तक्षेप भएर सार्वभौमिकतामा हस्तक्षेप होला । तर मोहनशम्शेर यिनको गुप्तचरीमा  काँग्रेसका सूचना पाउने लोभमा थिए । रिमालले भनेको प्रजातन्त्र दिने खालका कहाँ थिए र ती राणा ? 
राष्ट्रियता र प्रजातन्त्रका अनन्यतम उपासक, क्रान्ति र स्वतन्त्रताका प्रेमी । घोक्ने विद्यार्थी थिएनन् । बीच बीचमा स्कुलबाटै बेपत्ता हुन्थे । १९९३ को एसएलसीमा बोर्ड प्रथम । जङ्गीसेल किनेर कुपुकुपु खान्थे । परिवारभन्दा देशसेवाको धुन ज्यादा । देश बनाउनुपर्छ, देश बनाउनुपर्छ भन्थे । दालभात मात्र खाएर नमर्ने, देशका लागि केही गरेर मर्ने प्रतिज्ञा थियो । बिहान पशुपतिनाथ र साँझ शोभा भगवतीकहाँ गएर प्रार्थना गर्थे–
 म गर्छु देशसेवा बल देऊ लौ मलाई
मबाट होस् सबैको आनन्द औ भलाइ
बखत भयो यही हो बेला नजर उघारी हेरिदेऊ
त्यो दिलबाट तमस हटाई उज्यालो हावा फैलाइदेऊ
राणा खलक मृगेन्द्रशम्शेरका अघि औँला ठडाई ठडाई गीत पनि गाए–
एक जुगमा एक दिन एक चोटि आउँछ
उलटुपुलट, उथलपुलट, हेरफेर ल्याउँछ 

विजय मल्ल, कृष्णप्रसाद रिमाल, दमनराज तुलाधर, तीर्थराज तुलाधरसँगको मित्रमण्डली थियो । साथीहरुसँग भेट्दा छुटिँदा जयनेपाल भन्थे । राष्ट्रवादी चरित्रको नेपाल प्रजा पञ्चायत यिनको आफ्नै दल थियो । गान्धीवादी थिए, सशस्त्र क्रान्ति मान्दैनथे । नेपाली काँग्रेसलाई भारतले सहायता दिएमा नेपाली माटोमा भारतकै नियन्त्रण हुन्छ भनी मोहनशम्शेरलाई सजग गराएका थिए । हामीलाई जेलमा दिइएको यातनाले मगज खल्बलियो । एक्काइस दिनसम्म त अनशन बसे । मोहनशम्शेरले  दहीमा मदविष हाल्न लगाए । म पागल होइन, कोही पनि मलाई बुझ्दैनन् भन्थे  । 
गोरखापत्रको स्तर उकालेर प्राभ्दा जस्तो बनाउनुपर्छ भन्थे । जोड लेखक सङ्घ बनाएर सदस्य बनाउँदै हिँड्थे  । देशको स्थिति भने जस्तो थिएन, खुकुरी भिरेर भेटे जतिकालाई काट्छु भन्थे ।  राँचीमा उपचार गर्न त लगियो तर घुँडाको गेडी फुस्काएर पठाइयो । 
खर्रा र  झर्रा कविताहरु । कोही वाल्ट ह्विटम्यान भन्छन्, कोही निराला । आजका छन्दविहीन कविताका गुरु । भानुभक्त आदि पद्यकवि, रिमाल आदि गद्यकवि ।  लेनिनको बाटो हिँडेर बुद्धको शान्ति खोज्थे । कवितामा नारीलाई प्रेम  गर्थे–आमा, नारी, युवती सम्बोधन गरेर । मलाई त प्रेम र क्रान्ति बराबर छ भन्थे ।  समस्यामूलक नाटकका सूत्रपात पनि उनै । नारीलाई सहनशील हैन, विद्रोही पात्र बनाए । विश्व र भारतमा भइरहेको परिवर्तन बुझेका थिए । परिवर्तन चाहन्थे, त्यसकारण क्रान्तिको सपना देखे । भावावेग, संवेदनशीलता र उपयुक्त  शब्दविन्यास । काल्पनिक  आदर्शवाद हैन, वस्तुवादी दृष्टिकोण–राजनीतिप्रेरित क्रान्ति चाहन्थे । उनको विचार र शिल्प आफ्नै राजनीतिक चेतनाको खेतमा लहलहाएको बाली थियो । भन्थे–“ यो सत्य हो कि हामी दुवै राँची पठाइन ठीक भएका हौँ  तर देवकोटा साहित्यिक पागल हुन् भने म राजनीतिक पागल हुँ । ” सात सालको क्रान्ति अधुरो देखेर नै उनी विक्षिप्त भए । 
लवेदा सुरुवाल त सधैँ लगाउँथे, पछि छालाको ब्याग र कम्मरमा खुकुरी पनि बोक्न थाले–नेपाली राष्ट्रिय हतियार । एक पटकलाई  श्यामप्रसादलाई पनि काट्छु  भने, किन रे भन्दा श्यामप्रसादले पैसा खान पाएदेखि अर्काले जे जे भन्यो, त्यही त्यही लेखेर हिँडेको देखेर । प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका पालामा चामलको भाउ वृद्धि भयो, यिनी के सहन्थे, गए उनकहाँ र भने–“ए टङ्के, निस्की, काट्छु ।”उनको खुकुरी त्यहीँ खोसियो पनि । 
गत विसं २०७३ जेठ १८ गते हेटौँडामा उनको सालिक स्थापना गरियो साहित्यकार एवं साहित्यिक पत्रकार आरसी रिजालको पहलमा । उनको पोस्टर तस्बिर चाहिँ विमल निभा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक भएका बेला छापिएको रहेछ ।  रिमालबारे प्रा डा केशवप्रसाद उपाध्यायको कृति प्रकाशित छ भने वानिरा गिरीलगायतले विद्यावारिधि प्राप्त गरेका छन् । बगर प्रतिष्ठान, बनिता प्रतिष्ठान र साहित्य सदनले यिनको नाममा साहित्यिक पुरस्कार पनि राखेको थिए र छ । कवि युयुत्सु आरडी शर्माले उनका कविता अङ्ग्रेजीमा अनुवाद गरेर प्रवद्र्धन गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले उनको स्मृतिमा पहिले कुनै कार्यक्रम मनाउने यस वर्ष रिमाल जन्मशताब्दी वर्ष मनाउने क्रममा यस वर्ष जेठ १८ र  असार १९ गते दुई कार्यक्रम गरिसकेको छ । उनका सुपुत्र मदनले दुवै कार्यक्रममा भने– ‘विदेशमा बसी राजनीति गर्दा तिनकै नुन खानुपर्छ, सधैँ सताउँछ, त्यसैले अहिले त्यही नुनले हामीलाई सताइरहेको छ ।’
रिमाल ! एक पटक हा¥यौ
तर सधैँ जित्यौ
किनकि पराजय र आत्महत्याको बदला
बाँचेर आमाको सपना गुन्गुनाइरह्यौ (खगेन्द्र सङ्गम, सन्की रिमाल)

Related News