वामदेवमाथि अन्तर्घात भएको होइन- दामोदर अर्याल

दृष्टि न्यूज

कमरेड वामदेव गौतम कसरी चुनाव हार्नुभयो ?
चुनाव हार्नुका विभिन्न कारणहरु छन । मैले हारको फेहरिस्त बताइरहँदा त्यो आधिकारिक र विश्वसनीय नहोला । तर बर्दियाको स्थानीय पार्टी कमिटीहरुले निर्वाचनको आधिकारिक समीक्षा गरिसकेका छन् । भूगोलमा काम गरिरहेका स्थानीय पार्टी कमिटीहरुले गरेको समीक्षा सबैले मान्नुपर्दछ । सत्य पनि त्यही हो । त्यो प्रतिवेदन अध्यक्ष र महासचिवलाई बुझाइसकेको छ । सत्य के हो, पार्टीले नै बताउँला नि ।
स्थानीय पार्टी कमिटीहरुको निर्वाचन समीक्षामा के छ ?
बर्दिया क्षेत्र नं.१ मा पुर्वएमालेको ३८ वटा वार्ड कमिटी, ४ वटा तह कमिटी र जिल्ला कमिटीमा निर्वाचनको व्यापक समीक्षा भयो । सम्पूर्ण कमिटीहरुले अन्तर्घात भएको कुरालाई ठाडै अस्वीकार गरेका छन् । त्यसवाहेक जनवर्गीय संगठनहरुको निर्वाचन समीक्षाहरुमा पनि पार्टीभित्रवाट अन्र्तघात भएको कुरालाई अमान्य ठहर भएको छ । 
वामदेवलाई हराउने आरोपमा तपाई पनि त मुछिनु भएको छ नि !
मलाई पार्टीको आधिकारिक निकायवाट यसका सम्बन्धमा आजसम्म सोधपुछ गरिएको छैन । म सँग कुनै प्रकारको प्रष्टीकरण मागिएको पनि छैन । मलाई सोधपुछ गरिएमा आफ्ना भनाइहरु राख्न सधैँ तयार छुु । व्यक्तिगत ढंगले, केही पत्रपत्रिकाहरुमा र केही अनलाइन समाचारहरुमा मलाई आरोप लगाएको थाहा पाएँ । म उक्त समाचारहरुको खेदपूर्वक अस्वीकार गर्दछु ।
म २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा सामेल भएको हुँ । आजसम्म लाभको पदमा काम गरेको छैन । पञ्चायतकालमा आरआर क्याम्पसको सभापति हुँदा थुप्रै पटक हिरासत र जेल जीवन बिताएर आफूलाई परिपक्व बनाएको छु । मेरा समकालीन मित्रहरु मात्र होइन, मैले राजनीतिक काम सिकाएकाहरु समेत पार्टीको पोलिटव्युरो, केन्द्रीय सदस्य, सांसद र मन्त्री भैरहँदा मैले चित्त दुखाएको छैन, बरु गौरव गरेको छु । नेताहरुसँग काम माग्न गएको छैन, तर पार्टीले दिएको जिम्मेवारी आफ्नो विवेक र ज्ञानले भ्याएसम्म इमान्दारीपूर्वक पूरा गर्ने कोशिश गरेको छु । पार्टीभित्रका खराव प्रवृत्ति र आन्तरिक प्रतिस्पर्धाहरुमा सतिसालझै उभिए हुला, तर पार्टीका विरुद्धमा लाग्ने कल्पना पनि गर्न सक्दिनँ । केही साथीहरुले भन्ने गर्नहुन्छ, ‘तपाईं राता आँखे जनवादको शिकार हुनुभयो ।’ शायद साथीहरु सत्य छन् कि !
पाच नं प्रदेश कमिटीले बनाएको छानविन कमिटीले के रिपोर्ट ल्यायो ?
त्यो छानविन कमिटी बर्दिया जम्मा दुई चोटी पुग्यो । पहिला चोटी एक रात बर्दिया बस्यो, दोश्रो चोटी बाँकेको कोहलपुर बस्यो । अन्तर्घात भएको भनिएको बर्दिया क्षेत्र नं १ मा एकदिने जाँचबुँझले कति समीक्षा र सत्यको नजिक पुग्न भ्यायो होला ? त्यसबाहेक त्यो छानविन टोलीको रिपोर्ट प्रदेश कमिटीभित्र र बाहिर आजसम्म सार्वजनिक भएको छैन । आरोपित कार्यकर्ताहरु आफ्नो गल्ती र कमजोरी थाहा पाउन चाहन्छन् । तर आजसम्म बर्दियाली इमान्दार कार्यकर्ताहरु आरोपित त छन् तर आफ्नो गल्ती र कमजोरी थाहा पाउन सकेका छैनन् ।
त्यसबाहेक केही साथीहरुलाई प्रष्टीकरण माग्दै २०७५ साल असार ३ गते पूर्व एमालेको लेटरप्याड प्रयोग गर्दै पत्र बुझाइएको छ । जेष्ठ ३ गते पार्टी एकीकरण भएको सन्दर्भमा असार ३ गते पूर्व पार्टी एमालेको लेटरप्याड प्रयोग गर्न पाइन्छ कि पाइँदैन यो पनि रहस्यकै गर्भमा छ । बर्दिया जिल्लामा क्रियाशील सार्वभौम स्थानीय कमिटीहरुको निर्वाचन समीक्षा सत्यको नजिक होला कि एक दिने छानविन टोलीको ? यो विवेकपूर्ण निर्णयको प्रतिक्षा पनि बर्दियाली कार्यकर्ताहरु गरिरहेका छन् ।
वामदेव गौतम कर्णाली प्रदेशको डोल्पामा पुनः निर्वाचन लड्दै हुनुहुन्छ । वामदेव जस्तो शीर्ष नेतालाई आफ्नो प्रतिनिधि बनाउने अवसरबाट बर्दिया त चुक्यो नि !
सत्य हो । हामीले वामदेव गौतमलाई जिताउन सक्नु पर्दथ्यो । तर हामीले सकेनाँै । यो हार भनेको वामदेवको मात्र होइन, हाम्रो हार, पार्टीको हार र बर्दियाली जनताको पनि हार हो । तथापि जनताको अभिमतको सम्मान गर्नै पर्दछ । हारियो भन्दैमा जथाभावी टिप्पणी गर्दै हिँडनु हँुुदैन । मदन भण्डारीले भन्नुभएको छ, ‘राजनीतिमा आन्तरिक होस् वा बाहिरी, प्रतिस्पर्धाबाट नै श्रेष्ठता हासिल गर्नुपर्दछ ।’
डोल्पावाट उँहा पुनः निर्वाचित हुने कुरामा बर्दियालीहरु खुुशी छन् । डोल्पा र बर्दियाको राजनीतिक मात्र होइन, सामाजिक, आर्थिक र पारिवारिक सम्बन्ध पनि छ । दुवैतिर घर हुनेहरु पनि प्रशस्त छन् । डोल्पावाट बसाइँसराइ गरेर बर्दिया आउनेहरुको संख्या ठूलो छ । विवाह, व्रतवन्ध र चाडपर्वहरुमा डोल्पालीहरु बर्दिया झर्छन्, बर्दियालीहरु डोल्पा उक्लन्छन् । तर बर्दियामा पार्टी हार्नुको वास्तविक कारण पत्ता नलगाइ भावावेशमा डोल्पामा पुनः निर्वाचन गराइयो भने परिणाम प्रत्युत्पादक पनि हुनसक्छ । वामदेवको वर्दिया पराजय र यसबाट उत्पन्न परिणामबाट बर्दियाका इमान्दार कार्यकर्ताहरु दुःखित् छन् । एक ठाउँको कार्यकर्ताहरुलाई दुःखित् बनाएर अर्को ठाउँको कार्यकर्ताहरु उत्साहित हुन सक्दैनन् । तसर्थ पार्टीले साविक भेरी र कर्णाली अञ्चलका कार्यकर्ताहरुलाई उत्साहित पार्र्दै डोल्पाको चुनावी अभियान सञ्चालन गर्नुपर्दछ । अनि मात्र डोल्पामा हाम्रो जित सुनिश्चित हन्छ । अन्यथा डोल्पामा फेरि बर्दिया नदोहरिएला भन्न सकिँदैन । अनि फेरि केही थान डोल्पाली इमान्दार कार्यकर्ताहरु आरोपित हुने खेल पुनः शुरु हुन्छ । चुनावअघि वा पछि कार्यकर्ताहरुलाई आतंकित बनाएर प्रतिक्रियावादीहरुसँगको लडाइँ जितिदैन । त्यसवाहेक नेता वा कार्यकताहरुले बझनुपर्ने सत्य के हो भने ‘राता आँखे जनवाद’ को प्रयोगले पार्टी कहिल्यै स्थापित हुन सक्दैन ।
अन्त्यमा केही भन्नु छ ?
हामी भूगोलमा काम गर्ने कार्यकर्ता हाँै । पञ्चायतका विरुद्ध कम्युनिष्ट आन्दोलनमा लागिरहँदा केवल बलिदानी भावना मात्र थियो । यो भावना अझै हामीमा जीवित छ । यही भावनाले नै हामीलाई पदप्रतिको आशक्तिबाट जोगाएको छ । जनता र कार्यकर्ताहरुसँग हार्दिकतापूर्ण सम्बन्धले नै व्यक्ति वा संस्था स्थापित हुने हो । म यो पदमा पुग्नै पर्छ, म जस्तो को छ ? भन्ने घमण्डले व्यक्तिको त कुरै छोडौ, ठूलाठूला साम्राज्यहरु ढलेका छन् । मदन भण्डारी मन्त्री, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुुनुभएन, तर उहाँलाई इतिहासले सधैँ सम्झिरहन्छ । तर ठूला ठूला पदवाहकहरु इतिहासको गर्तमा मिल्काइएका छन् । हामी यही आदर्शमा जीवन बिताउने अभियानमा छौँ  ।

Related News