​दरौँदी–१ जलविद्युत्मा जनता बैंकको अगुवाईमा कुमारी र सेन्चुरी बैंकले लगानी

दृष्टि न्यूज

काठमाडौं । कालिका गु्रपअन्तर्गतको डायमन्ड हाइड्रोपावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत् आयोजनाका लागि १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको वित्तीय व्यवस्थापन भएको छ । गोर्खा जिल्लामा निर्माण हुन लागेको दरौँदी १ जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाईमा कुमारी बैंक र सेन्चुरी बैंकले लगानी गर्ने भएका छन् । तीन बैंकले आयोजनाको कुल लागतको ७० प्रतिशत लगानी गर्ने भएका हुन् । लगानीसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैंकका तर्फबाट जनता बैंकका काठमाडौं क्षेत्रीय प्रमुख कल्याणविक्रम पाँडेले बिहीबार हस्ताक्षर गरेका हुन् ।
आयोजनाको निर्माण लागत १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरूले लगानी गर्ने भएका हुन् । माथिल्लो दरौँदी १ जलविद्युत् आयोजना गोरखा जिल्लामा अवस्थित दरौँदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवद्र्धित चालू अवस्थामा रहेको ६ मेगावाट दरौँदी एको टेलरेसको पानी र दरौँदी खोलामा २० मिटरको बाँध बाँधी १४ दशमलव ९६ क्युसेक पानी जलविद्युत् केन्द्रसम्म पु¥याउने आयोजनाको लक्ष्य रहेको छ । यसका लागि करिब २ हजार ९ सय ५० मिटर पाइप, २ हजार २४ मिटर सुरुङ र करिब ७ सय २४ मिटर पेनस्टक पाइपको माध्यमद्वारा विद्युत् गृहमा जडित दुईवटा फ्रान्सिस टर्वाइनको माध्यमले विद्युत् उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौँदी खोलामा छोडिने जनाइएको छ । 
परियोजना प्रतिवेदनअनुसार आयोजनाबाट वार्षिक ५ करोड १८ लाख ३२ हजार ८ सय ८८ युनिट विद्युत्ीय ऊर्जा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिदबिक्री सम्झौताअनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिने जनाइएको छ । 

Related News