दार्जिलिङ छाड्दै विद्यार्थी

दार्जिलिङ, ८ असार । गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जिलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जिलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जिलिङमा सार्वजनिक सवारी साधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारी साधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनुपर्नेछ । उनले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए । उनले भने, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं ।’

भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जिलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ । यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन् । बंगाली भाषालाई बाध्यकारी बनाउने बंगाल सरकारको प्रयासपछि आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णयसमेत गरेका छन् ।

बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन् । बंगाल सरकाले मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको उनले बताइन् । 

Related News