दसैँ मनाएर मुग्लान हानिँदै सुदूरपश्चिमेली

दृष्टि न्यूज

वीरेन्द्र रावल, धनगढी । कैलालीको पहलमानपुरका २८ वर्षीय भक्ति आचार्य मंगलबार धनगढी बसपार्कमा बसको प्रतीक्षामा थिए । पिठ्युँमा भिरेको झोलाको भन्दा भारी मनमा थियो । निधारमा रहेको हातले उनको असन्तुष्टि पोखिरहेको थियो । मनको बोझ र असन्तुष्टि थियो, स्वदेश छाडेर मुग्लान भासिनुपर्दाको । स्वदेशमै रोजगारी नपाएपछि अन्य लाखौँ नेपालीलाई जस्तै उनलाई पनि बाध्यताले मुग्लान डो¥याउँदै थियो । आर्थिक अभावका कारण उनले खाडी वा मलेसिया त रोज्न सकेनन्, आफ्नै गाउँघरका सयौँ युवा जाने गरेको भारतलाई नै उनले रोजगारीको गन्तव्य रोजे । 
दसैँ मान्न मुग्लानबाट घर फर्किएका अन्य थुप्रै पनि फेरि मुग्लान (भारत) फर्कने तयारीमा छन् । उनीहरूका मलिन अनुहारले परिवार, घर, समाज छाडेर मुग्लान भासिनुपर्दाको पीडा बयान गरिरहेको हुन्छ । तर, नगई नहुने बाध्यताबीच मन नलागी नलागी पनि पाइला बढाउन उनीहरू बाध्य छन् । 
भक्ति आचार्यको कथा अलि भिन्न छ । उनी पहिलोपटक मुग्लान जाँदै छन् । भारत गए काम पाइन्छ भन्ने त उनले सुनेका छन् । तर, के काम गर्ने ? कस्तो काम पाइने हो ? काम कसले दिलाइदिने हो भन्ने केही थाहा छैन । गाउँमा काम नपाएपछि जुगारा चलाउन गाउँघरका अन्य युवा विदेशीएको देखेका उनी त्यसैको पछि लाग्दै भारत जान लागेका हुन् । सन्तोषको एउटै कुरा के भने उनी दसैँ मनाएर फर्कन लागेका गाउँकै केही युवाका साथ उनी जाँदैछन् । उनको हातमा सीप भनेको केवल खेती जोत्नेबाहेक केही छैन । बाध्यताले मुग्लान भासिनु परेको उनी बताउँछन् । 

गाउँमा सरकार आयो, रोजागारी आएन 
अछाम कमलबजार नगरपालिका–५ का ४५ वर्षीय अमरबहादुर बिष्ट पनि भारत जाँदैछन् । कामको खोजीमा केही वर्षअघि भारत पुगेका उनी गत निर्वाचनका बेला गाउँ फर्किएका थिए । ‘चुनावमा भोट हाल्न भनेर आएको थिएँ,  यही मेसोमा परिवारसँग दसैँ मनाउन पनि पाएँ,’ उनी भन्छन्, ‘अब काम खोज्न भारत जाँदैछु ।’ एक वर्षजति गाउँ बसेर फर्किएन लागेका उनी रोजगार पाइने हो कि होइन भन्ने दोधारमा छन् । 
चुनावपछि गाउँगाउँमा सरकार बन्ने र विकास निर्माणका काम सुरु भई यतै रोजगारी पाइने आशामा उनी नेपाल फर्किएका थिए । तर, पूरा हुन सकेन । काम पाउन नसक्दा परिवार पाल्नै धौ धौ भयो । त्यसैले भारी मन लिएर उनी पुनः भारत जाने निर्णयमा पुगे । परिवारको गर्जो टार्न छिमेकीसँग लिएको ऋणको भारले उनलाई पोलिरहेको छ । त्यसैले जन्मथलो छाडेर कर्मथलो फर्कन लागेको उनी बताउँछन् । ‘आमा भने पनि बाबा भने पनि हाम्रा लागि भारतका सेठ, साहु नै हुन्,’ दुखेसो पोख्दै उनी भन्छन्, ‘नेपालमा नत रोजगारी छ, नत अवसर । भारत नगए पेट पाल्न सकिने अवस्था छैन । बाध्यताले मुग्लान भासिँदैछु ।’

वृद्धलाई समेत मुग्लान जाने बाध्यता
लगाम गाउँपालिका सुर्खेतका ६८  वर्षीय वृद्ध  टिकासिंह दर्लामीमगर पनि छोरा छोरी र नाती नतिनासँगै भारत जान लागेका छन् । उमेरले बाइजा, कालले आइजा भन्ने उमेरका दर्लामीमगरसँग पनि अर्को विकल्प छैन । धनगढी बसपार्कमा मुम्बइ जाने बसका लागि बसको प्रतीक्षा गरिरहनु भएका बृद्ध दर्लामीमगर भन्छन्, ‘ घरमा बसेर खान लाउन पुग्दैन । काम नगरे पेट पाल्न सकिने अवस्था छैन । त्यसैले भारत जाँदैछु ।’ भारतमा साहु महाजनका गाडी, मोटरसाइकल र जीप धोएर भए पनि पेट गुजारा चलाउन सकिएला कि भन्ने उनको विश्वास छ । 
१८ वर्षको उमेरदेखि नै रोजगारीका लागि भारत आउजाउ गरेका उनी वृद्धा श्रीमतिलाई घरमा छाडेर हिँड्दैछन् ।

महिला पनि भारत जान बाध्य
पुरुष मात्रै होइनन्, महिलासमेत रोजगारीका लागि भारत जाने गरेका छन् । अछाम पर्भा घर भएकी एक महिला पतिसँगै साथ लागेर रोजगारी खोज्न भारत जान लागेकी छिन् । भारतको सुरतमा रोजगारी गर्ने उनका श्रीमान्ले ५ वर्षदेखि भारतमै बसेको जानकारी दिए । नेपालबाट कामका लागि भात जाने अधिकाँश पुरुषले चौकीदारी, सोसाइटीलगायतका क्षेत्रमा काम गर्ने र महिलाले घरायसी कामकाज गरेर जीविकोपार्जन गर्ने गरेको बताइन्छ । नेपालमा जननिर्वाचित सरकारले काम देला भन्ने आशा बोके ती पूरा नहुँदा भारत जानुको विकल्प नभएको उनीहरू बताउँछन् । आप्नो घर छाड्नुपर्दा सबै दुःखी छन् । हातमा भने जस्तो सीप नहुँदा र कामको टुंगो नहुँदा भारतमा पनि जीवन सहज छैन भन्ने उनीहरूलाई थाहा छ, तर जानुको विकल्प छैन नरहेको उनीहरूको भनाइ छ । 
भनेजस्तो काम नपाउँदा भारतका गल्ली गल्लीमा हजारौँ नेपाली कष्टकर जीवन बिताइरहेका भेटिन्छन् । तर, यो पनि सुदूरपश्चिमेलीका लागि मुग्लान रोजगारी बाध्यता बनेको छ । सरकारले स्वदेशमै रोजगारीको व्यवस्था नगर्दा मुग्लान जानेहरूको संख्या बढ्दैछ । आइतबार र सोमबार मात्र गौरीफन्टा नाका भएर १० हजार नेपाली भारततर्फ हानिएका छन् ।

Related News