दशैँ–तिहार फिल्म : दशैँमा छक्का पञ्जा–३, दिपावलीमा चंगा चैट

एमपी सुब्बा

एमपी सुब्बा । कुनै पनि चाडपर्व वा सार्वजनिक बिदामा आफ्नो फिल्म रिलिज गर्न निर्माता र कलाकार मरिहत्ते गर्छन् । दशैँ र दीपावलीलाई लक्षित गरेर धेरैजसो निर्माताले फिल्म बनाएका हुन्छन् । यो संस्कृति नेपालमा मात्र नभएर बलिउडमा पनि छ । त्यो समयमा व्यापार राम्रो हुने भएकाले पनि निर्माता-निर्देशक आफ्नो फिल्म रिलिज गर्नलाई लालायित हुने गरेका हुन् । तर, नेपाली फिल्मका लागि समय एउटै हुँदैन जबकि, त्यो समयमा राम्रो बलिउड फिल्म रिलिज भइदियो भने नेपाली फिल्म निर्माताहरु हच्किन्छन् । यसपटकको दीपावली ठ्याक्कै त्यस्तै भएको छ ।
नेपालीको महान चाड दशैँमा आशा गरिएका दुई नेपाली फिल्म रिलिज हुँदैछन् । तर, दीपावलीलाई भने खाशै त्यस्तो नेपाली फिल्म छैन किनकि, दीपावलीमा ठूला ब्यानरका बलिउड फिल्महरु रिलिज हुँदैछन् । जो दीपावलीलाई नै लक्षित गर्दै निर्माण गरिएका हुन् ।  
दशैँलाई लक्षित गरेर यही २४ गते अर्थात घटस्थापनाका दिन अभिनेत्री दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा–३’ र अर्को ‘जय भोले’ ३० असोजमा फूलपातिको दिन रिलिज हुँदैछ । ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजले खाशै बलिउड फिल्मको सामना गर्नुपर्ने छैन किनकि अधिकांश राम्रा बलिउड फिल्म दीपावलीमा रिलिज हुँदैछन् । दशैँमा केही हलिउड फिल्म रिलिज हुँदैछ । तर, नेपाली फिल्मलाई हलिउड फिल्मले असर गरेको पाइँदैन । त्यसैले यसपटकको दशैँमा ‘छक्का पञ्जा–३’ले नेपाली फिल्म ‘जय भोले’सँगै टक्कर गर्नुपर्नेछ । तर, ‘छक्का पञ्जा–३’ आफ्नै दर्शक रहेको भन्दै दीपाश्री विस्वस्त छिन् ।
हाल आफ्नो फिल्म प्रमोशनमा रहेकी दीपाश्री भन्छिन्, ‘ब्रान्ड हो, भइहाल्छ भनेर हात बाँधेर बस्ने गर्दैनौँ । आफ्नो तर्फबाट शतप्रतिशत कोसिस गर्न कन्जुस्याइँ गर्दैनौँ ।’ ‘छक्का पन्जा–३’को पहिलो गीत ‘पहिलो नम्बर’ हिट भइरहेको भन्दै उनले आफ्नो फिल्मप्रति उत्साहित रहेको बताएकी छन् । 
गीत हिट हुनु फिल्म चल्नुको पुर्व संकेतसमेत मानिन्छ । त्यसैले पनि यसपालीको दशैँ ‘छक्का पञ्जा–३’मय हुने उनको विश्वास छ । ‘छक्का पञ्जा–३’ का दुई गीत रिलिज भइसकेका छन् । जसमा ले ‘पहिलो नम्बर’ बोलको गीतलाई करोड बढीले हेरिसकेका छन् । उक्त फिल्मको दोस्रो गीत ‘उमेर ढल्किन्छ’ले पनि तारिफ पाइरहेको छ । ट्रेलर आएपछि आफ्नो फिल्मको सर्वत्र चर्चा भइरहेको बताउँदै उनले ‘छक्का पञ्जा–३’ले दर्शकलाई २ घन्टा २० मिनेट पूर्ण मनोरञ्जनका साथै समाजोपयोगी सन्देश ग्रहण गर्नु दावी गरेकी छन् । 
दीपाश्री निरौलाको निर्देशनमा दीपकराज गिरी, दीपाश्री, जितु नेपाल र केदार घिमिरेलगायतको संयुक्त लगानीमा बनेको फिल्मले व्यवसायिक रेकर्ड तोड्ने आँकलन गरिएको छ । ‘छक्का पञ्जा–३’ कमेडी जनराको लभ स्टोरी फिल्म हो । जसमा दीपा, दीपकका लागि केदार घिमिरे, प्रियंका कार्की, दीपिका प्रसाइँ, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।
त्यस्तै, ‘जय भोले’ अशोक शर्मा निर्मित तथा निर्देशित फिल्म हो । लामो समयको अन्तरालपछि अशोक ‘जय भोले’ लिएर आएर हुन् । हाल यो फिल्मका टिम पनि प्रमोशनमा जुटेका छन् । यस फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का र निर्माता तथा निर्देशक अशोक शर्मा सयंमकै पनि अभिनय छ । 

हाल स्कुल र केजल–कलेजमा फिल्मको प्रमोशन गर्दै आएका निर्देशक अशोकले भने, ‘दशैँमा सबै स्कुल तथा कलेज बिदा हुने भएकाले बिद्यार्थीहरुले आफुहरुसँग यो फिल्म हेर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैले म आफ्नो फिल्मप्रति ढुक्क छु ।’ उनले आफ्नो फिल्मलाई कसैले फिल्मले असर नगर्ने दावी गरेका छन् । उनी भन्छन्, ‘बजारमा जति नै फिल्म आएर पनि हुन्छ । दर्शकले राम्रो फिल्मलाई हेर्ने हो । राम्रो फिल्म आउँदा दर्शकले जति पनि फिल्म हेर्छन् । त्यसैले मलाई अरु फिल्मसँग मतलव भएन ।’
निर्माता अशोकका लागि चुनौती भनेको ‘छक्का पञ्जा–३’ नै हो । हलिउड फिल्मले नेपाली फिल्मलाई असर नगर्ने भएपछि ढुक्क रहेका अशोक ‘छक्का पञ्जा–३’सँग पनि आफ्नो फिल्मले प्रतिस्पर्धा नगर्ने दाबी गर्दै आएका छन् । ‘कथा र विषयवस्तु फरक अनि कलाकारसमेत फरक भएपछि दुईवटै फिल्मको आ–आफ्नै दर्शक हुने उनको दाबी छ ।  दर्शकले फिल्म मनोरञ्जनका लागि हेर्छन् । यसपटक दशैँमा रिलिज हुने दुवै फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने आ–आफ्नै अढान छ । 
अभिनेत्री तथा निर्मात्री रेखा थापाले लामो समयदेखि दशैंलाई लक्षित गर्दै आफ्नो फिल्म रिलिज गर्थिन् । तर, यसपटक उनी दीपावलीमा ‘मालिका’ प्रदर्शन गर्दैछिन् । रेखा निर्मित तथा निर्देशित फिल्म रेखा निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ १६ कार्तिकमा रिलिज हुँदैछ । तर, त्यही समयमा अर्को नेपाली फिल्म ‘चंगा चेट’ पनि रिलिज हुँदैछ । 
प्राय आफ्नो फिल्म नजुधाउने रेखाले यसपटक बलिउड फिल्मसँग पनि टक्कर गर्नुपर्ने अवस्था छ जबकि, दीपावलीका अवसरमा बलिउडका राम्रा फिल्महरु आउँदैछन् । बलिउड फिल्मले बजार कब्जा गर्ने डरले दीपावलीमा आफ्नो फिल्म रिलिज गर्न हच्किरहेका बेला रेखा र माधव वाग्लेले साहस गरेका छन् । 


माधव वाग्ले निर्मित ‘चंगो चेट’ र रेखाको ‘मालिका’सँग बलिउडको ‘२.०’ लगायतका फिल्म रिलिज हुँदैछन् । बलिउड स्टार अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफको मुख्य अभिनय रहेको फिल्म ‘२.०’ २९ अक्टुबरमा रिलिज हुँदैछ । यो एउटा एक्शन तथा एड्भेन्चर फिल्म हो । यही फिल्मसँग टक्कर गर्नुपर्ने अवस्था आएपछि अन्य नेपाली फिल्म रिलिज नगरिएको नेपाली फिल्मका वितरक सुनिल मानन्धरको भनाइ छ । 
‘दशैँ र दीपावली आसपासमा अन्य बलिउड पनि रिलिज हुँदैछ । जो बिग बजेटकै रहेका छन् । दशैँ र तिहार एक महिनाको अवधिमा ८ बलिउड फिल्म रिलिज हुँदैछन् । जसमा ‘२.०’, प्रमुख रहेको छ भने अन्य ‘बधाइ हो’, ‘बजार’, ‘ठग्स हिन्दुस्थान’ रहेका छन् । ‘ठग्स हिन्दुस्तान’मा पनि आमिर र अमिताभ नै मुख्य भूमिका रहका छन् । यी दुई बलिउड हस्तीको फिल्मसँग नेपाली फिल्म निर्माताले आफ्नो फिल्म जुधाउन चाहेका छैनन् । यो कुरा यस समयावधिमा नेपाली फिल्म सिनेमा हलमा नआउनुले पनि पुष्टि गछ । 
१६ कार्तिकपछि एकपटक ३० कार्तिकमा मात्र नेपाली फिल्म रिलिज हुँदैछ । ती फिल्म पनि खाशै बिग बजेटका छैनन् । ३० कार्तिकमा ‘दैलो’, ‘गुनगुन’, ‘अनुग्रह’लगायतका चार फिल्म रिलिज हुँदैछन् । 

Related News