​दशैंको टिका साइत सार्वजनिक

दृष्टि न्यूज

काठमाडौं, ६ असोज । 
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको हिन्दु नेपालीहरुको महान चाड दशैँको साइत सार्वजनिक गरेको छ । दशैँको पहिलो दिन असोज २४ गते नवरात्र आरम्भ हुने भई त्यसै दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको छ ।

यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्राइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गरी बिहान ९ बजेर ५१ मिनेटमा टीकाको साइत रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

कात्तिक ६ गते मङ्गलबार सबै बली पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि दशैँ समापन हुनेछ । 

Related News