​देवाशिष अधिकारी अष्ट्रेलियन क्रिकेटको स्टेट लेभल टिमका लागि छनोट

काठमाडौं, २९ चैत । नेपाली मूलका देवाशिष अधिकारी अष्ट्रेलियाको स्टेट लेभल टुर्नामेन्टका लागि छनोट भएका छन् । क्रिकेट एन.एस.डब्लुको मेल एकाडेमी कार्यक्रम अन्तर्गत १३ वर्ष भन्दा मुनि उमेर समूहमा एन.एस.डब्लु ‘ब्लु’ मेट्रो स्क्वाडका लागि १ नम्बरमा नाम निकाल्दै उनी छनोट भएका हुन् ।
अधिकारी हाल क्यान्टर्बरी एण्ड वेस्ट सबर्बबाट क्रिकेट खेल्दै आएका छन ् । अधिकारी त्यो एकेडेमीमा छनोट भएका छन् जुन एकेडेमीले अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका लागि धेरै प्रतिभाशाली खेलाडीहरुको उत्पादन गरिसकेको छ । माइकल क्लार्क, डेभिड वार्नर, प्याट क्युमिन्स तथा मिसेल स्टार्क जस्ता राष्ट्रिय खेलाडी सोही एकेडेमीका उत्पादन हुन् ।
देवाशिष अहिले १२ वर्षका भए । सन् २०१३(१४ को दश वर्ष मुनि उमेर समूहको स्टेट लेभल टुर्नामेन्टमा पनि उनले क्यान्टर्बरी एण्ड वेस्ट सबर्ब टिमबाट खेलेका थिए । आफ्नो टिमका ओपनर ब्याट्सम्यान अधिकारी भरपर्दा स्वीङ बलर पनि हुन् र हाल स्पीन बलिङमा पनि सुधारिएको प्रदर्शन गर्दै आएका छन् ।
पत्रकारसँग कुरा गर्दै देवाशिषले आफ्नो क्रिकेट यात्रालाई सहज बनाइदिनुभएकोमा बुवा सागर अधिकारीप्रति आफू कृतज्ञ रहेको बताए । मिचेल स्टार्क, डेभिड वार्नर, विराट कोहली लगायतका स्थापित अन्तराष्ट्रिय खेलाडी मन पराउने उनले नेपाली राष्ट्रिय टोलीबाट भने प्रदिप ऐरी, पारस खड्का र सन्दीप लामिछानेलाई बढी मन पराउँछन् ।
न्यु साउथ वेल्स राज्यका विभिन्न क्षेत्रका स्थानीय टोलीबाट खेल्दै आएका युवा खेलाडीहरुलाई अत्यन्त कडा मापदण्डका आधारमा स्टेट लेभल टिमका लागि छनोट गरिन्छ । क्रिकेट एन.एस.डब्लुले जनाए अनुसार प्रतिभा पहिचान, प्रदर्शन, कोच तथा प्रशिक्षकको रिपोर्ट, अनुशासन लगायतका मापदण्डमा आधारित रहेर छनोट गरिएको हो ।
छनोट भएका सबै खेलाडीलाई क्रिकेट एन एस डब्लुले आफ्नो एकेडेमी मार्फत् १२ महिनाको सघन प्रशिक्षण प्रदान गर्दै इन्टरस्टेट टुर्नामेन्टका लागि तयार गर्नेछ । यी युवा खेलाडीहरुले उत्कृष्ट कोचहरु मार्फत् प्रशिक्षणका साथै एलिट खेलाडीहरु द्वारा नियमित परामर्श प्राप्त गर्नेछन् ।
फोटोमा बुबा सागर अधिकारीसँग देवाशिष ।

Related News