​देवदह काण्डको सम्भावित रहस्य र चुनौती

डी.आर.घिमिरे । गत शुक्रबार बिहान ४० वर्षे बसन्त पौडेल (बलु) रुपन्देही देवदहको ढेकारमा रहेको आफ्नो फर्निचरमा आगो तापिरहेका थिए । बिहान करिब सवा ११ बजे कालो साइन बाइकमा काठको अडर छ भन्दै दुई जना ब्यक्ति मोटरसाइकलमा आए । एकजनाले अर्डरको टिपोट भन्दै कागजको टुक्रा दिएपछि पौडेल त्यो पढ्न लागे । उनी टिपोट पढिरहेका बेला मोटरसाइकलको पछाडि बसेको अर्कोले गोली हाने र उनीहरु मोटरसाइकलमै भागे ।
टाउको र छातीमा गोली लागेर ढलेका बलुलाई तत्काल लुम्बिनी अञ्चल अस्पताल लगियो । तर, उनको बाटोमा नै मृत्यु भइसकेको थियो । मृतक बलु एमाले क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् । पौडेलमाथि गोली प्रहार भएको केही बेरमै मनोज पुःनले प्राइभेट नम्बरबाट बुटवलका सञ्चारकर्मीहरुलाई फोन गरे र पौडेल हत्याको जिम्मा लिए ।
आफू हाल मलेसियामा रहेको भन्दै उनले ब्यक्तिगत रिसिइबीका कारण पौडेलको हत्या गरेको दावी गरे । फिल्मी शैलीमा भएको यो हत्याको श्रृंखला कहाँ गएर टुंगिने हो यकिन गर्न गाह्रो छ । गत वर्ष यसरी नै भएको दुर्गा तिवारीको हत्याको जिम्मा पनि उनैले लिएका थिए । तत्पश्चात् सो काण्डका विरुद्घ धेरै ठूलो आन्दोलन भयो । यद्यपि हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । तर, सो काण्डमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नलार्ई बलु पौडेलले अनावश्यक दुःख दिएको र फसाएकोले त्यसको बदलामा हत्या गरेको जिकिर मनोजले गरेका छन् । मनोज पुन तिवारी हत्याकाण्डपछि फरार छन् र तिनै मनोजलाई निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि संलग्नता देखिएकोले प्रहरीले खोजी गरिरहेको छ । 
हत्यापश्चात् प्रहरीले बुटवल–देवदह सडक खण्डको भलुही जंगलमा लु४प १४ नम्बरको हिरो होन्डा ग्ल्यामर बाइक फेला पारेको छ । कसैले फालेर हिँडेको अवस्थामा फेला परेको मोटरसाइकल हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । गत वर्ष तिवारी हत्याकाण्डमा पनि यसरी नै नक्कली मोटरसाइकलको प्रयोग गरिएको थियो । हत्या अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमेत संलग्न छ र अहिलेसम्मको अनुसन्धानबाट हत्यामा पुन समूहकै संलग्नताको आशंका गरिएको छ ।
‘जुन प्रकृतिले हत्या भएको छ, त्यसको शैलीे दुर्गा तिवारी र शरद गौचनको हत्या प्रकृतिसँग मेल खान्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन् । दुवै घटनामा हत्यालगत्तै फोन गरेर उनैले जिम्मेवारी लिएका थिए । देवदह–६ मा स्थायी घर भएका मनोज दुर्गा तिवारीको हत्यापछि आपराधिक समूहका नाइकेका रूपमा चिनिँदै आएका छन् । त्यसअघि उनी केही समय एमाले र केही समय माओवादी कार्यकर्ताको रूपमा परिचित थिए ।
पुनले रूपन्देहीमा आपराधिक गतिविधिलाई ब्यापक पार्दै आएका छन् । गत भदौ १२ गते भैरहवामा पेस्तोल देखाएर ७ लाख ६० हजार लुटिएको घटना र मंसिर २१ मा उद्योग वाणिज्य संघ भैरहवाका  उपाध्यक्ष कुलप्रसाद न्यौपानेको हत्या प्रयासका घटनामा पुन जोडिएका छन् । यसवाहेक चन्दा उठाउने काममा पनि उनी सक्रिय छन् । रुपन्देहीका कैयन् ब्यापारीवाट मोटो रकम उठाएका छन् जसको जानकारी प्रहरीलाई पनि छ । उनको फोन कसैले उठाएन भने उक्त पसल वा घरमा मोवाइल फालेर त्यस नम्वरमा हान्ने र त्यसमार्फत् अमुक ठाउँमा रकम पठाउन लगाई हुण्डी गर्न लगाएका घटना समेत् छन् ।
देवदह काण्डले जन्माएका केही प्रश्न ?
एकजना ब्यक्तिले राज्यलाई चुनौती दिएको छ । ऊ खुलेआम हत्याको जिम्मा लिन्छ र यसपछिको निसाना को हो भनेर पनि किटान गर्दछ । अहिले पनि उसले केहीलाई निसाना बनाएको कुरा केहीमार्फत्  भनिरहेको छ । अचम्म यो छ कि हरेक दिनका हरेक गतिविधिको जानकारी उसलाई हुन्छ । कतिपय गोप्य भनिएकै बैठकको सूचना पनि उसलाई हुने गरेको छ । उसको सूचना संयन्त्रलाई संकेत गर्दै आइतबार प्रहरी तालिम केन्द्रमा आयोजित सर्वपक्षीय बैठकमा रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले सहयोगीहरु यही कतै हुनसक्ने अनुमानसमेत गरे । उनले शंकाको घेरामा धेरै जना भए पनि प्रमाणको अभावमा पक्राउ गर्न नसकिएको र हिजोका दिनमा पनि एउटा तहमा पुगेर रोकिएको संकेत समेत गरे । प्रविधिको यति ठूलो विकास हुँदा पनि प्राइभेट नम्बरबाट गरिएका फोनको रेकर्ड नआउनु वा ल्याउन नसक्नु आश्चर्यको विषय बनेको छ ।
यो घटनाको पछि सार्वजनिक जग्गाको प्रसंग भएको अनुमान गरिएको छ । देवदहमा रहेको करिव नौ विगाहा सार्वजनिक जग्गा मनोजको ग्याङले बिक्री गरेको र सो सार्वजनिक जग्गा ब्यक्तिले बिक्री गरेर नाफा आर्जन गर्नु अनुचित हुने भन्दै उक्त जग्गा लुम्विनी वौद्ध विश्वविद्यालयको नाममा गराउने प्रक्रिया सुरु भएपछि मनोजको उद्देश्यमाथि धक्का लाग्यो । सम्भवतः जग्गा सार्वजनिक गराउन सक्रिय भएवापत् दुर्गाको हत्या भयो र ऊ फरार भयो । यही काण्डमार्फत् आफूलाई बसिखान नदिएको आक्रोश स्वरुप हत्याका श्रृंखला गराइरहेको जानकारी अहिले मनोजले फोनमार्फत् केही ब्यक्तिलाई गराएको छ । पैसा बुझेका ब्यक्तिवाट उसले अहिले पनि दवाव खेप्नु परेकाले तिवारी हत्या काण्डको विरोधमा सक्रिय हुने र सो जग्गा सार्वजनिक गराउन सक्रिय हुनेहरुलाई नै छानीछानी हत्या वा धम्की दिन थालेको पनि अनुमान गरिएको छ ।
मनोज सामान्य ब्यक्ति नै हुन् । उनले आक्रोशमा दुर्गाको हत्या गरे । तत् पश्चात् कानुनी कारवाहीको डरले फरार भए । उनले आफू मलेसिया रहेको भनेपनि उनी भारतीय भूमिमा लुकेको हुनुपर्छ र त्यहाँ उनीे आपराधिक समूहसँग सम्पर्कमा आएको हुनुपर्छ । सम्भवतः त्यसैमार्फत् पैसा कमाउने र जीविका चलाउने ध्याउन्नमा उनी छन् । अब उनी ठूलै गिरोहको फन्दामा परेको हुनुपर्छ र शायद अब उनी उम्कन सक्ने अवस्थामा छैनन् ।
प्रहरीको चुनौती प्रविधिमैत्री हुन नसक्नु हो वा क्षमताको अभाव हो ? राज्यमाथि एउटा ब्यक्ति धावा बोलेको छ । श्रृंखालावद्घ घटना थपिरहेको छ । स्वयम् प्रहरीलाई समेत फोन गरेको छ । यस्तो अवस्थामा प्रहरीले चाहेको छैन भनेर आरोप लगाउनै सकिँदैन । तर, पक्राउ पर्दैन । यसको अर्थ क्षमतामाथि प्रश्न हो वा के ? खुला सिमानालाई देखाएर मात्र प्रहरी उम्कन सक्ने अवस्था छैन ।
गौतम वुद्घको मावलीस्थल देवदहको वेइज्जती भएको महसुस स्थानीयले गरेका छन् । उनीहरुको टाउको लज्जावोधले निहुरिएको छ । यो एउटा वा दुईवटा घटनाको कुरा मात्र हैन काल पसेको अनुभूति गरिएको छ । यो अवस्थाबाट कसरी मुक्त हुने र गराउने जटिल प्रश्न पनि उठेको छ ।
मुख्यसचिवको आश्वासन पछि बन्द स्थगित  
उक्त घटना पश्चात् हत्यारालाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै रुपन्देही जिल्ला बन्दको घोषणा भयो । दुई दिनपछि प्रतिकूल मौसमका कारण जनतालाई अनावश्यक दुःख दिनु अनुचित हुने भन्दै प्रशासनसँगको वार्ता पश्चात् बन्द स्थगन गर्ने र कारवाहीका लागि निरन्तर दवाव सिर्जना गर्ने निर्णय भएको छ । प्रशासनसँग वार्ता भएपनि सरकारको स्थायी सरकारको रुपमा स्थापित् मुख्यसचिवसँगको वार्तापश्चात् मात्र आन्दोलन स्थगन भएको छ । एमाले उपमहासचिव एवं सभासद् घनश्याम भूसालमार्फत् सर्वपक्षीय बैठकमा मुख्यसचिवले सबै मागहरुप्रति सरकार सकारात्मक रहेको र मन्त्रिपरिषदको बैठकको माइन्युटमा हस्ताक्षरमात्र गर्न बाँकी रहेको भन्दै अब वस्ने बैठकको पहिलो निर्णय नै यही विषयमा हुने विश्वास ब्यक्त गर्नुभएको थियो । तत्पश्चात् प्रजिअसमेत सुरक्षा अंगका उच्चस्तरीय अधिकृतसहित सर्वदलीय वैठकमा ६ वुँदे सहमति भएको थियो ।
सहमति भएका वुँदामा गत वर्ष हत्या गरिएका दुर्गा तिवारी र बसन्त पौडेल (बलु)लाई सहिद घोषणा गर्ने । देवदह क्षेत्र सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेको र पटक–पटक यस्ता आपराधिक घटना घट्ने गरेकाले उक्त क्षेत्रमा रहेको प्रहरी चौकीलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्ने  र ढेकावरमा प्रहरी बिटको स्थापना गर्ने । आपराधिक समूहको धम्की (थ्रेट) मा रहेका नागरिकको तत्काल सुरक्षाको प्रवन्ध मिलाउने छन् । 
त्यस्तै घटनामा संलग्न दोषीहरुलाई अविलम्व पक्राउ गरी कानुनी कारवाहीका लागि उच्च प्राथमिकता दिने र बन्द, चक्काजाम लगायतका कार्यक्रम  स्थगन गर्ने सहमति पनि भएको छ । उता पीडित पक्षले भने गत वर्ष जस्तै सहमति पालना गरेन भने पुनः बन्द समेतका आन्दोलन गर्ने भएको छ । 

Related News