​के गर्नु आफू हिरोइन परिएन– दीपा लामा, प्लेब्याक सिंगर

दृष्टि न्यूज

गायिका दीपा लामा भन्नेवित्तिकै श्रोता-दर्शकले नेपाली फिल्म ‘बीर विक्रम’को ‘सारे सारे’ बोलको गीतलाई सम्झिन्छन् । यो पछिल्लो समयको ‘ब्लकबस्टर’ गीत हो । यसै गीतमार्फत प्लेब्याक सिंगरका रुपमा चर्चामा आएकी दीपाले गायनमा आफूलाई थोरै समयमै स्थापित गराएकी छन् । तीन दर्जनभन्दा बढी नेपाली फिल्ममा स्वर दिइसकेकी दीपाको पछिल्लो हिट गीत फिल्म ‘बबी’को ‘आँखाको नानी भित्र’ हो । उक्त गीतलाई यु–ट्युबमा लाखौले हेरिसकेका छन् । पछिल्लो समय फिल्म र आधुनिक गायनमा व्यस्त रहेकी दीपासँग एमपी सुब्बाको जम्काभेट :
गायनयात्रा कस्तो चलिरहेको छ ?
राम्रै छ । फिल्म र कलेक्शन एल्बमहरुमा गाइरहेकी छु । आफ्नै एल्बमको पनि तयारी गर्दैछु ।
तपाइँ फिल्म र आधुनिक गीत बराबरी गाउनुहुन्छ है ?
बरबरी जस्तै गाउँछु । अझै आधुनिक भन्दा फिल्मको बढी गाउँदै आएकी छु । मलाई जे धेरै अफर आउँछ, त्यही गाउने हो ।
तपाइँ प्लेब्याक सिंगर कि आधुनिक ?
फिल्मकै बढी गाउँछु, त्यसैले प्लेब्याक नै हो । म आफूलाई पनि प्लेब्याक सिंगर नै भन्न रुचाउँछु ।
तपाइँले गाएका गीतमा हिरोइनहरु छमछमी नाचेको देख्दा कस्तो लाग्छ ?
एकदमै खुसी लाग्छ । म आफै नाचेको फिलिङ आएँछ । तर, के गर्नु आफू हिरोइन परिएन ।
स्वरमात्र नभएर रुपमा पनि राम्री हुनुहुन्छ । फिल्ममा खेल्नु रहर लाग्दैन ?
कहाँ म राम्री छु र ? अर्को कुरा म गायिका हुँ । अभिनय गर्न मन पनि आउँदैन  । म गायनमै ठीक छु ।
गायनमा कसरी लाग्नुभयो ?
गायिका बन्छु भन्ने त लागेको थिएन । तर, सानैदेखि गाउनचाहिँ रहर लाग्थ्यो । त्यतिमैमा पहिलोपटक राजशुक्र लिम्बूको संगीतमा ‘मेरै भन्छ खै’ बोलको गीत गाएकी थिएँ । त्यो गीत श्रोताले मन पराएपछि गायनलाई निरन्तरता दिएकी हुँ ।
तपाइँलाई भाग्यमानी गायिका भन्छन् नि, के भन्नुहुन्छ ?
खै, भाग्यमानी नै भन्नुपर्ला किनकि, गायनमा लागेपछि लगातार गाउन पाएकी छु । फिल्ममा मैले गाएका सबै गीत हिट भएका छन् । त्यसैले अरुले मलाई भाग्यमानी गायिका भन्छन् । म खुसी छु ।
पछिल्लो तपाइँले गाएको हिट गीत कुन हो ?
हालै रिलिज भएको फिल्म ‘बबी’ को ‘आँखाको नानी भित्र’ हो । यो गीतलाई लाखौँले हेरिसकेका छन् । जतिले हेर्न भ्याए, सबैले मन पराइदिएका छन् ।
गायनबाहेक अरु के गर्नुहुन्छ ?
केही गर्दिनँ । यो क्षेत्रमा लागेको ५/६ वर्ष भयो । त्यसयता गायनमै व्यस्त हुँदै आएकी छु । भ्याइ–नभ्याई त नभनौँ, तर खाली चाहिँ बस्नु परेको छैन ।
प्रेम र रोमान्सका गीत गाएर दर्शक-श्रोतालाई लठ्ठै बनाउनुहुन्छ । आफैँचाहिँ प्रेममा पर्नुभएको छ कि छैन ?
छैन । अहिलेसम्म मलाई प्रेम प्रस्ताव गर्ने आएका छैनन् । नराम्री भएर हो कि क्या हो । कसैले हेरेका छैनन् ।
अरुले प्रेम प्रस्ताव नगरे आफूले गर्दा नि त हुन्छ, होइन र ?
हुन त हिजोआज केटीले पनि प्रेम प्रस्ताव राख्ने गर्छन् । तर, मैले मन परेको भेटेकी छैन । यदि मन परेको भेटे भने अवश्य गर्छु ।
यत्रो भीडमा पनि मन परेको एउटै भेट्नु भएन है ?
भीड त छ नि । तर, त्यो भीडमा देखेको, मन परेको मेरो जीवनमा मेल नखानु पनि सक्छ । रुप मात्र राम्रो भएर के गर्नु ? आँखाको आकर्षण र मनको आकर्षण फरक कुरा हो ।
अहिलेसम्म मन परेको केटा नै पाउनुभएन छ ? घरजम कहिले गर्ने त ?
एक दिन त भेटिएला नि । कतै न कतै मेरो लागि भनेर जन्मिएका होलान् । उसलाई भेट्नेवित्तिकै घरजम गर्छु । केही वर्षचाहिँ लाग्छ ।      

 

Related News