रेडियो नेपालको टाक्कटुक्क कार्यक्रममा धनियाँका रुपमा चर्चा कमाएकी दीपाश्री निरौला सर्वाधिक व्यापार गर्ने फिल्म छक्कापञ्जाको निर्देशकसम्म बनिन् । उनी यतिबेला छक्का पन्जा २ र गाइजात्राको काममा व्यस्त छिन् । उनै दीपाश्रीसँग रेजिना पाण्डेसँगको जम्काभेट :
यो वर्षको गाईजात्रा कतिको लागेको छ ?
लागेकै छ । ३६५ दिन नै हाम्रोमा गाइजात्रा छ । त्यसकारण हरेक दिन गाईजात्रा जस्तो लाग्छ ।
गाईजात्राका कार्यक्रम के छन् ?
प्रज्ञा प्रतिष्ठानमा हाम्रो गाईजात्रा प्रहसनका कार्यक्रम छ । हामी धैरै नै छौं । गाईजात्राको दिनदेखि भदौ ३ गतेसम्म यो जात्रा चल्ने छ ।
यसपालिको गाईजात्रामा विशेष केही छ कि ?
हामी जहिले पनि विशेष नै गर्ने सोच बनाइरहेका हुन्छौ । यसपाली पनि नयाँपन दिने प्रयासमा छौं ।
कमाईको हिसाबले गाईजात्रा पर्व त हाँस्य कलाकारहरुको लागि दशैं हो भन्छन् नि ?
हो नै यतिबेला हामी मन खोलेर, दिल फुकाएर मज्जाले कार्यक्रम गर्छाै । हाँस्छौ हसाउँछौं । कमाई पनि अलिअलि भइहाल्छ ।
चलचित्रमा पनि निकै व्यस्त हुनुहुन्छ होइन ?
हो, छक्का पन्जा २ को काममा पनि निकै व्यस्त छु । यसको सम्पूर्ण काम सिद्धिसकेको छ । आसोज ११ गते सप्तमीको दिनबाट सम्पूर्ण हलहरुमा लाग्दैछ ।
छक्का पन्जा जस्तै छक्का पञ्जा २ पनि सफल होला ?
दशर्कले रुचाएर नै पुनः हामीले यो चलचित्र बनाएका हौैं । कथावस्तु अलग छ, सोच नयाँ छ, नयाँपन दिन खोजेका छौं । शुद्ध मनोरञ्जनात्मक चलचित्र छ, त्यसकारण सफल हुनेमा विश्वस्त छौं ।
नयाँपन के दिन खोज्नुभएको छ यस चलचित्रमा ?
धैरै नै नयाँ छ । चलचित्र हेरेपछि तपाईं दशर्कहरुले नै थाहा पाउनु हुन्छ । हेरेपछि उहाँहरुले चलचित्र भनेको यस्तो हुनुपर्छ भन्नुहुने छ ।
तपार्इंहरु चलचित्रमा लागेपछि टेलिचलचित्रलाई त ठ्याम्मै बिर्सनुभयो नि ?
बिर्सिएको होइन । सानोतिनो समस्या आएर हो । यसबाट हामीलाई दर्शकले हामीलाई कतिको माया गर्नुहुन्छ भन्ने पनि बुझेका छौं । अब योजना बनाउँदै छौं, ढिला होला तर राम्रो कार्यक्रम लिएर आउछौं ।
कसरी तपाईं कलाकारितामा सफल भइरहनुभएको छ ?
कर्म गर फलको आशा नगर भन्ने कुरामा विश्वास गर्छु । मेहनत गरिन्छ भने ईश्वर दाइना हुन्छन् भन्ने कुराको अनुभव गरेको छु ।
कतिबेला आफू कलाकारितामा सफल भएँ भन्ने महसुस भयो ?
रेडियोमा धनियाँ र तितो सत्य नेपाल टेलिभिजनमा जुन बेला प्रसारणमा आयो त्यतिबेला म कलाकार बने जस्तो लाग्यो । बाटोमा हिंड्दा हात मिलाउन खोज्ने, बाटोमा धैरैले ऊ दीपाश्री भन्दै हात हल्लाएर देखाउँदा ओहो म पनि कलाकार भएछु भन्ने लाग्यो ।
जीवनसाथी रोज्ने बेला भएन ?
भनेको त हो, लगन नै जुरेको छैन, अब लगन शिवले जुराउँछन् कि !