​डेनमार्क र अष्ट्रेलिया १–१ गोलको बराबरी

दृष्टि न्यूज

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले १–१ बराबरी खेलेका छन् । 
विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको सातौँ मिनेटमा नै गोल गरेर खाता खोलेका थिए । तर त्यसको प्रतिउत्तरमा ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले गोल गरेर बराबरी गराए । 
त्यसपछि खेल अवधिभरी पटक पटक दुवै पक्षबाट गोल गर्ने प्रयासहरु भएपनि गोल थप्न नसकेपछि खेल एक एकको बराबरीमै सीमित भएको हो । 
यस पटकको विश्वकपको पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी गर्न सफल भएकाले अघिल्लो चरणको सम्भावना जिवितै रहेको छ । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्न सफल भएको थियो । 
बिहीबार नै समूह ‘सी’ कै दोस्रो खेल राति पौने ९ बजे पेरु र फ्रान्स भिड्न लागेका छन् । पहिलो चरणमा डेनमार्कसँग पराजित भएको पेरुलाई फ्रान्स पनि कडा चुनौती हुने अनुमान गरिएको छ । फ्रान्सका खेलाडीले यसअघिको खेलमा अष्ट्रेलियालाई पराजित गरेका थिए । 
बिहीबारको तेस्रो खेल अझ रोचक हुने अनुमान गरिएको छ । राति पौने १२ बजे चर्चित खेलाडीहरू सहभागी अर्जेटिन्टना र क्रोएसियाका बीचमा प्रतिश्पर्धा हुने भएकाले थप चासोका साथ प्रतिक्षा गरिएको छ । अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीका कारण पनि यो खेल धेरैले प्रतिक्षा गरेका हुन् । 

Related News