देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे : सचिव भट्टराई

दृष्टि न्यूज

काठमाडौं, २८ पुस । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् । 
सचिव भट्टराईले भने, ‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन् ।’
सचिव भट्टराईले भने, ‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गर्नुभयो, देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्यो ।’ आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो । 
भट्टराईले अघि भने, ‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन्, हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ, अनि हामी सरकार बनाउँछौं भन्दा किन यस्तो सौदावाजी ? आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस् ।’ 
त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारको भएपनि अहिलेकै सरकारले तोक्नेगरि दलहरुवीच नयाँ सहमति हुँदापनि यो सरकारले विलम्ब गरेकोमा आपत्ति जनाए । उनले भने,‘अब यही सरकारले सबै काम गर्ने भनेर सहमति भएपछि अझैपनि निर्णय नगर्नु दुःखदायी कुरा हो, संविधानका छिद्रा मसिना कुरा र प्वाललाई टेकेर नाटक देखाउनुहुँदैन्, यो सबै नौटंकी कुरा हुन् ।’
उनले नक्कली बाँधहरु अगाडि राखेर आँधीबेहरी छेक्छु भन्ने सपना नदेख्न प्रधानमन्त्री देउवा र निर्वाचन आयोगलाई चेतावनी समेत दिए । उनले भने, ‘आँधबेहरीले नक्कली बाँधहरु सबै भत्काईदिन्छ, खुट्टा टेक्न नसक्नेहरु समाप्त भएर जान्छन्।’ उनले अहिलेको समस्याको समाधान गर्ने विषयबारे प्रधानमन्त्री देउवाको कोर्टमा बल रहेको पनि स्पष्ट पारे । उनले भने,‘प्रदेश प्रमुख, अस्थायी राजधानी र सपथग्रहण गराउने ठाउँ, राष्ट्रियसभाको निर्वाचन समयमै सम्पन्न गर्नुहोस्, हाम्रो सुझाव  छ।’
त्यस्तै उनले निर्वाचन आयोगले पनि अब कुनै नाटक मञ्चन गर्न नहुने चेतावनी दिए । उनले भने, ‘अब नाटकको कुनै अर्थ छैन, नुन खाएपछि पदीय जिम्मेवारी पूरा गर्नुहोस्, हामी यही ध्यानाकार्षण गराउन चाहन्छौं ।’
उनले पार्टी अध्यक्ष ओली स्वास्थ्य चेकजाँचपछि स्वदेश फर्किएपछि एमाले–माओवादी केन्द्रवीचको एकताले गति लिने विश्वास दिलाए । उनका अनुसार सरकार गठन पुर्व नै पार्टी एकता भैसक्ने छ । ‘यति कुरा बुझ्नुहोस्, एमाले र माओवादी एउटै पार्टी भएर सरकारमा जान्छन् । ’
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । नेता शर्माले भने, ‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो ।’ उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे । 

Related News