देउवा निवासमा कलाकारको भिड

काठमाडौं, २३ जेठ । करिब १५ वर्षपछि सत्तारोहण गर्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा केही दिनयता भिडभाड बढेको छ । मन्त्री बन्न खोज्ने सांसददेखि ठेकदारहरुसम्मको भिड देउवा निवासमा छ । 
केही दिनयता कलाकारहरुको समेत देउवा निवासमा आवातजावत बढेको छ । चलचित्र  बिकास बोर्डमा नियुक्तिका लागि भन्दै कलाकारहरु देउवा निवास धाउन थालेका हुन् । जेठ २४ गतेदेखि चलचित्र बिकास बोर्डको अध्यक्ष पद रिक्त हुँदैछ । त्यही पदका लागि कांग्रेस निकट एक दर्जन कलाकारहरु यतिबेला दौडधुपमा लागेका छन् । 
रमाइलो त के छ भने अहिलेको अध्यक्ष राजकुमार राई नै फेरि बोर्डमा नियुक्त हुने दौडधुपमा लागेका छन् । विगतमा तत्कालीन संचारमन्त्री मिनेन्द्र रिजाललाई सेटिङ मिलाएर बोर्डमा नियुक्ति पाएको आरोप उनीमाथि छ । रिजालको अहिले देउवासँग राम्रो सम्बन्ध नभएकाले उनी देउवानिकट नेताहरुकोमा पैसादेखि विभिन्न आश्वासन दिएर दौडधुपमा लागेका हुन् । 
बोर्डमा २ वर्ष रहँदा राईले एउटै पनि राम्रँे काम गर्न सकेनन् । भारतीय फिल्मका वितरक र हलमालिकसँग कमिसन खाएर नेपाली फिल्म उद्योगलाई कमजोर बनाउने काम गरे । पद खुस्किने बेलामा मात्र बक्स अफिसको कुरा निकालेका थिए । उनै राई यतिबेला पैसा बोकेर कांग्रेस नेताहरुको घरमा दौडधुप गरिरहेका छन् । त्यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत कलाकारहरु समेत बोर्डमा नियुक्तिका लागि लबिङमा लागेका छन् । देउवानिकट केही व्यक्तिहरुले पनि नियुक्ति गरिदिने भन्दै पैसा नै असुल्न थालिसकेका छन् ।  

Related News