​देउवा प्रवृत्तिको अवसान

दृष्टि न्यूज

विशाल छेत्री । नेपाली राजनीतिमा शेरबहादुर देउवा यस्तो प्रवृत्तिको नाम हो, जसले शक्तिमा पुग्न र स्वार्थ पूरा गर्नका निम्ति यो धर्तीमा गर्न नहुने जति सबै कर्म गरिसके । यो प्रवृत्ति थोरबहुत हरेक राजनीतिक आकांक्षा भएको पात्र र राजनीतिक संस्थामा हुन्छ । आफ्नो महत्वाकांक्षा, नैतिक मूल्य र सैद्धान्तिक मान्यताका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्नु हरेक राजनीतिक व्यक्तित्वको दायित्व हो । नैतिकतालाई नै त्यागेर, शक्तिको उन्मादमा गरिने जुनकुनै कार्यले वैधानिकता र मान्यता प्राप्त गर्न सक्दैन । आफू शक्ति पुग्न जुनसुकै उपायबाट पुग्दा पनि हुन्छ । तर आफू शक्तिमा हुँदा जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्ति देउवा प्रवृत्ति हो ।
देउवाले एकपटक होइन, पटकपटक आफ्नो संगठनलाई घात गरेका छन् । नेपालको पुरानो र लोकतन्त्रका निम्ति लडेको राजनीतिक दल कांग्रेसबाट देउवालाई बाहेक गरेर हेरौँ एक पटक । उनले के मात्र गरेनन् ? हुन त गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो पारिवारिक अधिनायकवाद चलाउन खोजेकै हुन् । कोइरालाको त्यो प्रवृत्तिका विरुद्ध साहसपूर्वक लडेका कारण देउवालाई कांग्रेसजनले पत्याएको हो । नकि, देउवामा अन्य त्यस्तो अद्वितीय प्रतिभा भएर । तर, देउवा कोइराला अधिनायकवादविरुद्ध लडे । तर, त्यसमा आफ्नो जहानियाँ सत्ता स्थापित गर्न खोजे । 
०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा नै माओवादी विद्रोहको बीजारोपण भएको थियो । उनले नै सांसद खरिद बिक्रीदेखि जम्बो मन्त्रिमण्डलको सुरुवात गरेका थिए । गठबन्धनका नाममा जे पनि जायज हुन्छन् भन्ने असंसदीय अभ्यासका सबै अधम नमूना उनले नेपालमा प्रयोग गरेका थिए । वास्तवमा संसदीय व्यवस्थालाई सिध्याउन संसदीय व्यवस्थाभित्रैबाट सक्रिय पात्रका रुपमा अहिले पनि देउवालाई लिइन्छ । अन्ततः तिनै देउवाले भएको जननिर्वाचित सरकार दरबारमा बुझाए र जनताको सम्पूर्ण सार्वभौम शक्ति दरबारमा बिसर्जन गरे ।
कांग्रेसलाई विभाजन गर्दा कोइरालाको दम्भले जति काम गरेको थियो, त्योभन्दा कम थिएन देउवाको सत्तालोलुप प्रवृत्ति र बाह्य शक्तिको आड । जसको विवाह नै शक्ति राष्ट्रका राजदूतको संयोजनमा हुन्छ, त्यसबाट पनि स्पष्ट हुन्छ कुन पात्रका पछाडि कुन शक्तिको आशिर्वाद छ भनेर । त्यसैले देउवा यो मुलुकको हितका निम्ति काम गर्ने पात्र नै थिएनन्, होइनन् । आफू शक्तिमा पुग्न र टिक्नका निम्ति जुनसुकै शक्तिकेन्द्रसँग पनि सम्झौता गर्न तयार रहने उनको कमजोरीको फाइदा राजा ज्ञानेन्द्रले मात्रै होइन, नेपालमा स्वार्थ जोडिएका हरेक बाह्य शक्तिले लिएका छन् ।
नेपालमा संसदीय प्रणालीलाई कमजोर बनाउन चाहने शक्तिहरुकै गठजोडले देउवा ०५२ मा प्रधानमन्त्री बनेका थिए । उनलाई प्रधानमन्त्री बनाउनकै निम्ति तत्कालीन मनमोहन अधिकारी नेतृत्वको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार ढालिएको थियो । अधिकारीले घोषणा गरेको मध्यावधि निर्वाचनको निर्णय पनि अदालतबाट उल्टाइएको थियो । देउवा प्रधानमन्त्री भइसकेपछि बाह्य शक्तिका अलावा नेपाली सेनाका जर्नेल, पूर्वपञ्च, दरबारिया शक्तिले समेत उनलाई घेरिसकेको थियो । अन्ततः तिनै शक्तिहरुले देउवाको सत्तालोलुप, पदलोलुप र भ्रष्ट चरित्रलाई उपयोग गरे ।
०६३ पछि कोइराला गल्दै गएपछि फेरि तिनै देउवा कांग्रेसमा तंग्रिए । सुशील कोइरालाको जुम्सो कार्यशैली र स्वभावको फाइदा पनि यिनै जण्ड स्वभावका देउवाले उठाए । जब एकीकृत कांग्रेसको नेतृत्व नै देउवाको हातमा गयो, दुई वर्ष पनि बित्न नपाउँदै सिंगो दललाई लेन्डुपपथमा अग्रसर गराए । सुशील कोइरालाको निधनसँगै पार्टीको कमान पहिला त यिनको हातमा पुग्यो । त्यसको केहीबेरमै यिनको हातबाट अर्कैले उछिट्यायो । नेपालको संविधान, नेपालको सार्वभौमसत्ता र नेपालको आन्तरिक शक्तिलाई जे गर्दा क्षति पुग्छ, तिनै काम देउवाको हातबाट गराइयो यतिञ्जेल नेपालको भूराजनीतिक परिवेश र आन्तरिक चेतना धेरै फरक भइसकेको थियो । देउवाका हातबाट जेजे गराइँदै थियो, त्यसलाई रोक्ने सामथ्र्य पनि सँगसँगै नेपालले हासिल गर्दै थियो । 
यो निर्वाचनमा नेपाली जनताले देखाइदिए । आज धेरै नेपाली कांग्रेसका इमानदार कार्यकर्तालाई पार्टीको यो हविगत हुनुले पीडाबोध अवश्य भएको होला । तर, देउवा अझै जति दिन कांग्रेसको नेतृत्वमा रहन्छन्, त्यति नै कांग्रेसको अधोगति भइरहनेछ । विपक्षी दलको नेताकै रुपमा पनि मुलुकले धेरै अपेक्षा गरेको हुन्छ । संसदीय प्रणालीमा विपक्षीलाई छायाँ सरकार भनिन्छ । भोलि आउने सरकारले सबै राम्रा काम गर्छ भन्ने छैन । त्यतिखेर सचेत गराउने काम, राष्ट्रहितप्रति सरकारको ध्यानाकर्षण गराउने काम विपक्षीको हो । पक्का हो, देउवा रहेसम्म कांग्रेसले विपक्षीको यो भूमिका समेत इमानदारीपूर्वक निर्वाह गर्ने छैन । स्वार्थ मिलेसम्म सत्तापक्षसँग लेनदेनमा सबै कुरा टुंगिनेछन्, स्वार्थ नमिल्दा मात्र विरोध हुनेछ । त्यसबाहेक देउवाले आफ्नो सम्पूर्ण शक्ति भोलि आउने सरकारको जगमा धमिरा पैदा गर्नु हुनेछ ।
देउवाले अदालतमाथि आक्रमण, प्रहरीभित्र अराजकता र सत्तातन्त्रभित्र कमिसनतन्त्रका माध्यमबाट गिरोह शैलीमा चल्न खोजे । त्यो कुरा आजको सार्वभौम मुलुकका जनताले सहँदैनन् भन्ने कुरा उनले बुझ्न चाहेनन् । सत्ताको आडमा जे पनि सम्भव छ भन्ने बुझेका देउवाले आमनिर्वाचनमा पनि प्रहरी र प्रशासनले सबै उनकै पक्षमा निर्णय गरिदिनेछन् भन्ने ठाने । तर, जनमत एकातिर ढल्किएको सुइँको पाएपछि प्रहरी प्रशासन समेत तुलनात्मक रुपमा तटस्थ बसिदियो । चुनावको अघिल्लो दिनसम्म पनि सीडीओ र प्रहरी उपरीक्षक सरुवा गरिरहेको देउवा सरकारले पत्तै पाएन, जनताले उसको नांगो रुपप्रति बेग्लै धारणा बनाइसकेका छन् भन्ने कुरा ।
देउवाले कांग्रेस सभापति बन्नुअघि दिल्ली तीर्थाटन गरेको समय अवधि हिसाब गर्ने हो भने उनले जीवनकालभरिमा डडेल्धुरालाई समेत त्यति महत्व दिएको पाइँदैन । सभापति भइसकेपछि पनि उनी धन्यवाद ज्ञापन गर्न दिल्ली पुगे । चीनविरोधी दलाई लामासँग एउटै मञ्चमा प्रवचन दिएर आए । ओली सरकार गिराउन बाह्य शक्तिको मोहोरा जुन तरिकाले उनी बने, त्यसपछि पनि उनी कृतज्ञता ज्ञापन गर्न दक्षिणमुखी व्यवहार प्रदर्शन गरिरहे । पार्टीभित्र राष्ट्रियता र स्वाभिमानको पक्ष लिने नेताहरुलाई चुनावमा टिकटै दिएनन् । बरु नाकाबन्दीका खबत भारतीय पक्षको सेवामा ककसले कसरी सेवा पु¥याएको थियो भनेर खोजीखोजी कपिलवस्तुदेखि भक्तपुरसम्म टिकट बाँडियो । बाह्य इशारामै कांग्रेसले बाबुराम भट्टराईदेखि महन्थ ठाकुरसम्मको जिताउने ठेक्का लियो । अन्ततः कांग्रेस सिंगै मुलुकबाट बढारियो ।
एकपटक गरेको गल्ती गल्ती हुन्छ, दोस्रोपटक गर्दा त्यो हेल्चेक्र्याइँ हुन्छ । तर, त्यसपछि पनि गलत काम बारम्बार दोहोरिन्छ भने त्यो अपराध हुन्छ । यस्ता कैयौँ अपराध देउवाले गरेका छन्, त्यसलाई अझै पनि माफी दिँदै जाने हो भने कांग्रेस भन्ने पार्टी नै रहने छैन । एउटा नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्दा र भ्रष्टाचारका मुद्दा छिनिरहेकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउँदा कांग्रेसको भूमिका देखेर हुर्किएको आजको कुनै पनि नेपाली बालक भोलि कांग्रेसको झण्डा समाउनु पनि आफ्नो बेइज्जती ठान्नेछ ।कांग्रेस भन्ने एउटा दल रहुन वा नहरनु खासै ठूलो कुरा होइन तर एउटा लोकतन्त्रका निम्ति लडेको मध्यमार्गी शक्ति नहुँदा त्यो स्थान कुनै सिद्धान्तहीन जत्थाले लिन सक्छ र मुलुकको राजनीति पनि त्यस्तै अराजनीतिक जत्थाको हातमा पुग्न सक्छ । जस्तो कि अहिले नयाँ शक्ति पार्टी, विवेकशील साझा खालका ससाना पसल र अभियानहरु एउटा झण्डा र चुनाव चिन्ह लिएर फेसबुकभरि फिँजिएका छन् । र, मूलधारका राजनीतिक शक्तिहरुप्रति विरक्तिएको एउटा जमात बहकिएर तिनै अराजनीतिक जत्थासँग भुलेको छ ।

Related News