​देउवाको दुई प्रसंग

जिम्मेवारी सम्हालेको छोटो समयमै प्रधानमन्त्री शेरबहादुर देउवा अत्यन्तै धेरै बदनाम हुन पुगेका छन् । साझा सवालको अन्तर्वार्ता र सप्तरी जिल्लाको भाषणले देउवाको कमजोरी छताछुल्ल भएको छ । बेढंग र बेहोसी पारामा प्रस्तुत हुँदा देउवा हाम्रा प्रधानमन्त्री हुन भन्न समेत जनतालाई लाज हुने अवस्था सिर्जना भएको छ । 
बीबीसी एक्सन मिडियाले उत्पादन गर्ने साझा सवाल चर्चित टेलिभिजन कार्यक्रम हो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको, तेस्रो चरणको निर्वाचनका लागि बाटो सहज भएको, प्रदेशसभा र संघीय संसदको निर्वाचनको आधार बन्दै गरेकाले साझा सवालमा अन्तर्वार्ता दिन देउवाका लागि उपयुक्त समय पनि थियो । कार्यक्रममा तयारी र जिम्मेवारीका साथ प्रस्तुत भएको भए देउवाले आफ्नो अनुकुलको प्लेटफम बनाउन सक्थे र हाइट अझ  बढाउन सक्थे । तर, बिना तयारी र गैर जिम्मेवार रुपमा प्रस्तुत हुँदा देउवा नराम्रोसँग फसे । 
कार्यक्रमको सुरुदेखि नै देउवा जिम्मेवारी रुपमा प्रस्तुत हुने र प्रश्नलाई सही ढंगले सम्बोधन गरेका थिएनन । हल्काफुल्का उत्तर दिँदै टार्दै अघि बढेका देउवालाई जब सागर ढकालले कडा प्रश्न गरे, त्यसपछि उनको दाँतबाट पसिना आयो । सागरको प्रश्न थियो– ‘लिक्वानलाई सिंगापुरमा ढुंगा दिइएको थियो । हिरा बनाए । तर, नेपालमा तपाईलाई हिरा दिँदा ढुंगा बनाउनुभयो । यसको कारवाही कस्लाई गर्ने ? सिंगापुर, चीन, बेलायतमा सबै प्रधानमन्त्रीहरु देशका उत्कृष्ट विश्वविद्यालयका विद्यार्थी भएका छन् । बेलायतमा विगत ७० वर्षदेखि सम्पूर्ण विद्यार्थी अक्सफोर्डका छन् । नेपालमा ७० वर्षदेखि मन जित्ने प्रधानमन्त्री कुन चाहिँ पायौं, तपाईँ कहिले विस्थापित हुने, हामी अति निराश भयौं । जनताका लागि प्रधानमन्त्री कहिले हुने ?’ यो प्रश्न सुन्नासाथ प्रधानमन्त्री देउवाले सहती जवाफ दिँदै भने ‘हेर्नुस्, नेपालमा जस्तो विद्यालय छ, त्यही पढ्ने हो नि ।’ त्यसपछि सागरले थपे –‘नेपालको विद्यालय होइन’ । त्यसो भन्नासाथ प्रधानमन्त्री देउवाको पारो तातिहाल्यो । उनले भने–‘तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ । कहाँबाट ल्याउने अक्सफोर्ड नेपालमा, त्रिभुवन विश्वविद्यालय छ नि । अक्सफोर्ड पढेको बाहेक प्राइम मिनिस्टर हुन पाउँदैन ?’ सागरको प्रश्नलाई देउवाले सहज रुपमा उत्तर दिन सक्थे । तपाईँलाई थाहै रहिनछ । म पनि बेलायतै पढेको हुँ नि । अनि तपाईँले बेलायतमा ७० वर्षका प्रधानमन्त्रीले अक्सफोर्ड पढेको भन्नु भयो, तिनीको नाम तपाईँ नै भन्नुस भनेको भए सागरको बोली नै बन्द हुने थियो । तर, देउवाले आक्रोशित बने र प्रश्न सोध्नेमाथि नै खनिए । 
यस्ता कार्यक्रममा मन पर्ने÷नपर्ने जस्ता सुकै प्रश्न हुन सक्छन् । हुन त साझा सवालले कार्यक्रममा सहभागी गराउँदा नै कुन प्रश्न सोध्ने भन्ने निर्धारण गरेको हुन्छ । एक त साझा सवालले ठाडा ठाडा प्रश्न गर्न लगाउँछ । त्यो त्यसको विशेषता नै हो । किनकि साझा सवाल चर्चित भएकै कडा प्रश्नले हो । तर, सहभागीले सबै प्रश्न जस्ताको तस्तै सोध्छन् भन्ने निश्चित हुँदैन । त्यसलाई साझा सवालले पनि नियन्त्रण गर्न सक्दैन । 
साझा सवाल प्रसारण भएपछि देउवाको शैली र जिम्मेवारीमाथि ठूलो प्रश्न उठाइयो । जब देउवा बदनाम हुँदै गए, त्यसपछि अर्का थरीले देउवा स्पष्ट बोल्छन्, जे हो त्यही बोल्छन्, देउवाको कुनै दोष छैन, बरु प्रश्न सोध्नेको दोष छ, साझा सवालको दोष छ भन्दै प्रतिवाद गर्न थाले । कतिपयले त साझा सवाल वैदेशिक सहयोगबाट चल्छ । यसको काम भनेको राष्ट्रियता कमजोर पार्नु र पदमा बसेकालाई खुइल्याउने हो समेत भने । तर्क गर्न नपाइने भन्ने होइन । तर, त्यसो गर्दा आफ्नो धोती खुस्केको भने थाहा पाउन आवश्यक हुन्छ । जतिसुकै तर्क गरेपनि साझा सवालमा देउवा गैरजिम्मेवार रुपमा प्रस्तुत भएका हुन् र चुकेका हुन् । त्यसमा कमजोरी भयो । आगामी दिनमा सच्चाएर अघि बढ्छौं भन्नुको विकल्प प्रधानमन्त्री देउवा र उनका सहयोगीमा छैन । 
उता, सप्तरीमा त प्रधानमन्त्री देउवा बेहोसी पाराले नै प्रस्तुत भए । बाढी पीडित क्षेत्रको अवलोकन गर्न पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रममा शर्मनाक भाषण गरे । राहात कार्यक्रम घोषणा गर्न आयोजित कार्यक्रममा लिखित भाषण पढ्दै गर्दा प्रधानमन्त्री देउवाले ‘जल उत्पन्न प्रकोप कार्यालय लाहानमा व्यापक अनियमिता भएको छ । संसदीय समिति गठन गर्नु प¥योे’ भन्दै भाषण गर्दै गए । बिना प्रसंगको भाषण अघि बढेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले यो त अर्काै प¥यो भनेर ध्यानाकर्षण गरे । कटुवालले ध्यानाकर्षण नगरेको भए देउवा अझ ठूलो भाषण दुर्घटनामा पर्ने थिए । किनकि देउवाले कार्यक्रमका लागि तयार पारिएको भाषण ठानेर पूर्व सिचाईँ मन्त्री उमेश यादवले बुझाएको ज्ञापनपत्र पढदै थिए । 
यी दुई घटनापछि एक थरीले सहयोगी टिम प्रभावकारी नहुँदा र सल्लाहकारको समूह नहुँदा देउवाको कमजोरी उदाङ्गो भएकोमा जोड दिएका छन् । त्यस मध्ये केही त यसैलाई भजाएर सल्लाहकार खाने दाउमा समेत लागेका छन् । तर, अर्काे थरीले भने देउवा स्वयंमा कमजोरी हुँदा यस्तो नियति भोग्नु परेको तर्क गरेका छन् । सल्लाहकार र सहयोगी टिम प्रभावकारी हुँदा प्रधानमन्त्रीलाई धेरै सहज हुन्छ । तर, साझा सवालको उत्तर र सप्तरीको भाषणलाई भने सल्लाहकार र सहयोगी टिमले बचाउन सक्दैन । त्यसका लागि प्रधानमन्त्री नै सचेत र जिम्मेवार हुनु पर्छ ।  होइन भने, यस्ता घटना दोहोरिरहन्छन् । र, बदनाम भइरहन्छ । 

Related News