​देउवाको भारत भ्रमणको भित्री रहस्य

रवीन्द्र श्रेष्ठ । नेपालमा नेपाली कांग्रेस र भारतमा भारतीय कांगे्रस चुनावी मैदानहरुमा ओरालो लागेको बेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको छ । यो यस्तो अवधि हो जुन वेला हिन्दू धर्मलाई एजेण्डा बनाएका नेपालका राप्रपा जस्ता शक्ति चुनावी मैदानमा ओरालो लागेको छ भने भारतमा हिन्दू धर्मलाई अजेण्डा वनाएको भाजपा चुनावी मैदानमा उकालो लागेको छ । चुनावी शान्तिपूर्णवाटो अंगालेको भारतको सिपिएम  जस्ता पार्टीहरु चुनावी मैदानमा ओरालो लागेको छ भने नेपालको एमाले पार्टी उकालो लाग्दै गरेको अवस्था छ । साथै नेपालको माओवादी आन्दोलनले जनयुद्धको उत्कर्षमा पुगेर पनि प्रचण्ड वावुरामको आत्मसमर्पणवाद र लम्पसारवादले गर्दा ०५८ सालको राप्रपा जस्तै तेश्रो नम्वरमा पुगेको छ भने भारतको माओवादी आन्दोलन यथास्थितिमै रहेको देखिन्छ । 
वर्तमान प्रधानमन्त्री देउवाको भारत भ्रमणको उद्देश्य आगामी चुनावहरुमा आफ्नो दलको विजयको लागि भारतीय सत्तापक्ष, प्रतिपक्ष र अन्य देवी देवताहरुको आशिर्वाद प्राप्त गर्नु थियो र एमाले माओवादी गठवन्धन तोडेर आफुलाई प्रधानमन्त्री वन्न सहयोग गरेकोमा भारतीय नेताहरुलाई धन्यवाद दिनु थियो । यसमा प्रधानमन्त्रीको भ्रमण सफल भएको देखिन्छ । पश्चिमा शक्ति निकट मानिएका देउवालाई भारतीय मित्रहरुको साथ सहयोग र विश्वासको आवश्यकता थियो र यसको प्राप्ति यो भ्रमणको एक अभिन्न उद्देश्य थियो, जसमा देउवा सफल भएको देखिन्छ । यसमा प्राप्त सफलतावाट हौसिएर नै उनले यसपाली दुई तिहाइ नपुगेकोले संविधान संशोधन हुन नसकेको र आगामी चुनाव पछि दुईतिहाई पु¥याएर संविधान संशोधन गर्ने वाचा भारतीय प्रधानमन्त्री समक्ष गर्न पुगेको देखिन्छ । 
भारतीय राजनीति कमजोर केन्द्रिय गठवन्धन सरकारको समस्या हल गर्दै मोदीको नेतृत्वमा वलियो केन्द्रिय सरकार तर्फ लम्किरहेको छ भने नेपाली राजनीति कमजोर र अस्थिर केन्द्रिय गठवन्धन सरकारको मारमा परिरहेको छ । भारतका प्रधानमन्त्री मोदीकै कार्यकालमा नेपालका चार प्रधानमन्त्रीहरुले भारत भ्रमण गरेकाछन् । भारतमा मोदीले भारतीय कांग्रेसको र त्यस भित्रको पारिवारिक शासनलाई चुनावमा पराजीत गरि भाजपाको वलियो सरकार स्थापनाको दिशामा देश हाँकिरहेका छन् भने नेपालमा देउवाले पनि कांग्रेस भित्रको कोइराला परिवारको विरासतलाई विविध संजोगका कारण पराजीत गरेर नेपाली कांग्रेसलाई हाँक्न खोजीरहेका छन् । यो वाहेक यी दुई प्रधानमन्त्रीहरु  विच केही पनि मिल्दैन । देउवाको यस भ्रमणलाई भारतीय सत्ताले महत्व दिनुको मुख्य कारण भनेको नेपालमा चीनको प्रभाव बढेको र आफनो प्रभाव क्षेत्रबाट नेपाल गुम्न थालेको भन्ने भारतीय चिन्ता र दोक्लाम क्षेत्रमा भारत, चीन र भुटानबीच बढेको विवाद हो । नेपाली सत्तापक्षलाई आफ्नै पक्षमा रहेको देखाउने भारतीय पक्षको उद्देश्य पनि यस भ्रमणमा पूरा भएको छ र चीनलाई आफ्नो प्रभाव क्षेत्र शो गर्न भारत सफल भएको छ । नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राख्न चीन र भारतबीच भैरहेको तीब्र प्रतिस्पर्दामा चीनको पराजय  र भारतको विजय भएको छ यसपल्ट । यद्यपि नेपालले दोक्लम विवादमा तटस्थ बस्ने निर्णय गरेको छ ।
भारतीय प्रधानमन्त्रीसँगै गरिएको पत्रकार सम्मेलनमा देउवाले यसपाली संविधान संशोधन हुन नसकेपनि अर्को पटक दुई तिहाई पु¥याएर संशोधन गर्ने कवोल गर्नुले एकातिर देशको सार्वभौमसत्ताको धज्जी उडेको छ र नेपाल अर्ध तथा नव उपनिवेशी देश नै रहेको पुष्टि गर्दछ भने अर्कोतिर मोदी र देउवाबीच आगामी चुनावहरुमा भारतीय समर्थकहरुको दुई तिहाइ पु¥याउने महाजाल वुन्ने काम यस राजकीय भ्रमणमा भएकोछ भन्ने पुष्टि हुन्छ । देउवाले दुईतिहाई पु¥याएर संविधान संशोधन गर्छु भनेर कवोल गर्नुमा चिन्ताको विषय भनेको केवल अहिले नेपालको सत्तापक्षले पेश गरे जति मात्र संविधान संशोधन होला भन्ने भन्दा पनि त्यो भन्दा गम्भीर खालका संशोधन गरेर ठुल्ठुला राष्ट्रघात कांग्रेस र दाहालको माओवादी केन्द्र मिलेर गर्ने हुन् कि भन्ने हो । दुई तिहाई नहुँदा त आफ्ना प्रभुहरु सामु यसरी लम्पसार पर्नेहरुले पछि दुईतिहाइ ल्याए भने के गर्छन् भन्ने चिन्ता अहिले आम जनतामा छाएको छ । अहिले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने देखिन्छ । आगामी चुनावहरुमा जसरी भएपनि भारत समर्थकहरुलाई जिताउन र एमाले लगाएत तुलनात्मक रुपले देशभक्तिको अडान राख्नेहरुलाई हराउने स्ट्राटेजिक योजना दिल्लीमा बन्नुले नेपाली राजनीति आगामी दिनमा थप अस्थीर र गम्भीर संकटमा फँस्दै जाने संकेत गर्दछ । यति मात्र नभई यसले देशको सार्वभौमसत्ता र अखण्डतामा नै गम्भीर संकट ल्याउन सक्ने सम्भावना इंगित गर्दछ । 
पुष्पकमल दाहाल दोश्रो पटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा नेपालको परराष्ट्रनीति भारतको हातमा वुझाएर आएका थिए भने देउवाले नेपालको संविधान नै वुझाएर आएकाछन् । दाहाल भारत भ्रमणमा गएका वेला नेपालले संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय मन्चहरुमा निकट समन्वय गरेर काम गर्ने भन्ने वाचा कवोल बँुदा नम्वर ११ मा राखेर स्वतन्त्र परराष्ट्रनीतिको धज्जी उडाई भारतसंग लम्पसार परेर आएका थिए । नेपाल भारत सम्वन्धमा पुराना असमान सन्धी सम्झौताहरु संशोधन गरि नयाँ समान स्तरका सम्झौताहरु गर्ने विषय दाहाल र देउवाले उठाएनन् । यसपाली देउवाले तराईको बाढी र डुवान समस्याको कारक रहेको सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा वनाएका वाँधहरुका विषयमा ठोस प्रस्तावहरु राखेर अडान लिइ भारतीय पक्षलाई गल्ति सच्याउन लगाउने कुनै काम गरेनन्, न त ९ खर्व वरावरको भारतसँगको विशाल व्यापार घाटा घटाउने तर्फ नै कुनै ठोस कदम चाल्ने काम उनले गरे । 
अहिले भारतले कमजोर वनेका मधेश केन्द्रित दलहरुलाई कम महत्व दिएर सत्ताधारी कांग्रेस र दाहालको माके पार्टीलाई वढी महत्व दिन थालेको स्पष्ट भएको छ । एमालेलाई र अन्य तुलनात्मक रुपले देशभक्तिको अडान लिने दलहरुलाई जसरी भएपनि पराजित गर्न आगामी दिनहरुमा भरतपुर मोडेलको प्रयोग व्यापक रुपमा हुन सक्ने सम्भावना वढेको छ । यतिले मात्रै आफ्ना विरोधीहरु पराजित नहुने भएमा धाँधलीका अनेकांै मोडलहरु आविष्कार गर्न, आयात गर्न र प्रयोग गर्न अहिलेको सत्तापक्ष लाग्नेछ । पहिलो संविधानसभा चुनावमा दाहाल र वावुरामलाई भारतीय सत्तापक्षले खुफिया एजेन्सी मार्फत करोडौं पैसा दिएको विषय वावुराम स्वयम्ले केन्द्रिय समिति वैठकमा उठाएका थिए भन्ने समाचारको खण्डन अहिले सम्म उनीहरुले गरेका छैनन् । चुनावमा पैसा जम्मा गर्न  नेपाल सरकारलाई नवुझाइएका जनयुद्धकालका  हतियारहरु भारतीय खुफिया एजेन्सीलाई वेच्ने प्रस्ताव दाहालले राखेको कुरा वावुराम स्वयम्ले भन्दै हिँडेका छन् जुन भाषण अहिले पनि यू ट्युवमा हेर्न पाइन्छ । भनाइको अर्थ हो आगामी चुनावहरुमा भारुको खोलो वग्नेछ नेपालमा । के एमाले लगायतका पार्टीहरुले यी लगायतका अनेकांै शकुनि षदयन्त्रहरुलाई पराजित गर्ने योजना वनाएको छ ? के यी शकुनि षदयन्त्रहरु पराजित गरेर अघि वढ्न एमाले लगायतका पार्टीहरु सक्षम छन् ? यी नै प्रश्नहरुले आगामी चुनावको भविष्य निर्धारण गर्ने देखिन्छ । 
भारतीय सत्तापक्षको कोसिस २ नम्वर प्रदेशको चुनाव देखि नै कांग्रेस माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुको मोर्चा बनाएर चुनावमा जान लगाउने हुनेछ । तर चुनाव भनेको यस्तो जटिल विधि हो जसमा व्यक्तिका स्वार्थहरु पनि पार्टी र समाजका स्वार्थहरु संग टक्कराउने गर्दछ । यसमा कुनै सत्ताधारीहरुले चाहे जस्तो गठवन्धन वनाउन, सवै उम्मेदवारहरु विना व्यवधान आफ्नो अनुकुलतामा चयन गर्न तथा विजयी वनाउन निकै कठिन वन्ने गर्दछ जसका कारण पनि कयांै वेला तीसौं वर्ष तानाशाही शासन चलाएका शासकाहरुपनि सत्ता पैसा षदयन्त्र आदि हत्थकण्डाहरुको प्रयोगका वावजुद पनि हार्ने गर्दछ र देशै छाडेर भाग्नु पर्ने परिस्थिति वन्दछ । अनेकांै देशहरुमा यसका उदाहरणहरु छन् । तसर्थ नेपाल र भारतका वर्तमान सत्तापक्षले चाहे जस्तै गरि गठवन्धन वन्ने, उम्मेदवारहरु चयन हुने र परिणाम आउने भन्ने कुनै ग्यारेण्टि आगामी चुनावहरुमा रहेको छैन । तर एउटा कुरा के तथ्य हो भने देशभक्त शक्तिहरुका लागि आगामी चुनावहरुमा अझ गम्भीर परिक्षा पास गर्नु पर्ने हुन्छ । 

Related News