सहयोग जुटाउन देउसी–भैलो

दृष्टि न्यूज

काठमाडौं । नेपाल होचा पुड्का संघले सोमबारबाट देउसी भैलो कार्यक्रम खेल्न सुरु गरेको छ । नेपालीको देस्रो महान चाड दिपावलीको संस्कृति जोगाउन र ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागि सहयोगार्थ रकम संकलनका गर्न देउसी तथा भैलो कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष निर्मल मग्रातिले बताए ।
‘होचा पुड्काको एकता, आजको आवश्यकता सार्थक र चेतनामुलक कलाकारीता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ उनीहरुले भृकुटीमण्डपमा देउसी तथा भैली खेल्न सुरु गरेका हुन् । उनीहरुले लगातार पाँच दिनसम्म फरक–फरक ठाउँमा देउसी भैलो खेल्ने भएका छन् । उनीहरुले एक ठाउँमा संघका सदस्यहरु भेला गरेर आफ्नो नृत्य तथा देउसी भैली प्रस्तुत गर्ने छन् ।
देशभरका होचा तथा पुड्काहरुको ऐतिहासिक राष्ट्रिय सम्मेलन गर्नका लागि सहयोग जुटाउन कार्यक्रमले टेवा पुग्ने संघका अध्यक्ष मग्रातीले बताए । उनले शरीरिक रुपले होचा र पुुड्का भए पनि अरुहरुको भन्दा कम प्रतिभा नरहेको जानकारी गराए । पहिले पहिले अरुको छेउमा जान र घुलमील हुन लाज मान्ने उनीहरु आजभोली आफै संघ खोलेर आफूजस्तै अरुको सेवा गरि रहेका छन् ।
कार्यक्रम पर्यटक व्यवसायी गोपालबाबु श्रेष्ठको प्रमुख आत्तिथ्यतामा कार्यक्रम सुरु गरिएको थियो । बिगतमा झैँ आगामी दिनमा होचा पुड्का संघको हकहितमा सदा साथ र सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए।
संस्थाका महासचिव लेखबहादुर मोक्तानले देउसी भैलोबाट उठेको रकमले राष्ट्रिय सम्मेलन गर्ने र काठमाडौँमा कोहि पनि नभएका होचापुड्कालाई सहयोग गर्ने बताए । हाल ५ जना होचापुड्कालाई संस्थाले गोलढुंगामा बसोवासको व्यवस्था मिलाएको महासचिव मोक्तानले बताए ।
कार्यक्रमका बिशेष अतिथि समाजसेवी बिनयजंग बस्नेतले होचा पुड्काहरुलाई हाँसोको पात्रको रुपमा चित्रण गर्ने मानसिकता त्याग्दै उनीहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा होचापुड्काहरुको लागि सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै अर्का अतिथि नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले १५५ वटा मेडिकलमा होचा पुड्काको लागि औषधि र स्वास्थ्य चेकजाचको व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा कलाकार गणेश गुरुङ, सुमन परियार, वेलिमाया गोर्खाली, मिना थापामगर, मनमोहन बिक, यादब पोखरेल, प्रितम थापामगर, गणेश परियारलगायतले बाद्यवादन तथा गायन सहित विभिन्न प्रस्तुति दिएका थिए 

Related News