​विकासको बजेट सवारी साधनमा, सुविधाभोगी बन्दै जनप्रतिनिधि

दृष्टि न्यूज

वीरेन्द्र रावल, धनगढी । निर्वाचनका बेला आफूलाई निर्वाचित गराए सरकारबाट पाउने सेवा सुविधा समेत जनताको विकासमा लगाउने प्रतिबद्धता जनाएका कैलालीको लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरु अहिले विलासिताको जीवनमा व्यस्त भएका छन । जनताको जनजीविकाका कुराहरुलाई लत्याउदै जनताबाट अनुमोदित जनप्रतिनिधिहरु जनताको विकासभन्दा पनि कसरी आफूले सरकारी रकम र सेवा सुविधा कुम्ल्याउने भन्ने ध्याउन्नमा लागेका छन् ।
      ७ नम्बर प्रदेशको संसदले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ । तर यता लम्कीचुहा नगरपालिकाले शुक्रबार वडा अध्यक्षलाई  पल्सर मोटरसाइकल बाड्ेको छ । बजाज कम्पनीका १ सय ५५ सिसि का १४ वटा मोटरसाइकल १ देखि १० सम्मका १० जना वडा अध्यक्ष र ४ वटा मोटरसाइकल विभागीय प्रमुखलाई हस्तान्तरण गरेको हो । २ लाख ३७ हजार २ सय ५० रुपैयाँ प्रतिमोटर साइकलका दरले खरिद गरिएका १४ मोटरसाइकलको ३३ लाख २१ ह्जार ५ सय रुपैयाँ बराबरका मोटरसाइकल नगरपालिकाले जनप्रतिनिधिलाई बाँडेको  हो । जनताको कामलाई छिटोछरितो रुपमा सम्पन्नं गर्नका लागि मोटरसाइकल खरिद् गरी नगरपालिकाले वडा अध्यक्षलाई बाडेको बताइरहँदा स्थानीय भने आक्रोशित भएका छन । जनताको विकासमा लाग्नु पर्ने समयमा जनप्रतिनिधिहरु आफ्नै पेट भर्न लागेपछि नागरिक निरास भएको स्थानीय धर्मराज न्यौपानेले गुनासो गरेका छन् ।
जनताको सेवा गर्छु, भनी सपथ लिएका जनप्रतिनिधिले जनताका विकासलाई थाँती राखी विलासिताको जीवन बिताउने काम गरेको प्रति जनप्रतिनिधिमाथिको भरोसा टुटेको स्थानीयको गुनासो छ । स्थानीय शिक्षक रामप्रसाद तिमिल्सिना भन्छन्—२० वर्षपछि स्थानीयले आफैँले चुनेर सरकार बनाउने मौका पाएकोमा खुशी ब्यक्त त गरेका नै थिए । त्यसैमा पनि पहिलेको जस्तो गाउँमा विकासका लागि कुनै राजा महाराजासंग हात फैलाउनु पर्दैैन् भने आशामा थिए स्थानीय  । चुनावको समयमा पनि राजनितिक  दलका उम्मेद्धावारले आफूलाई विजयी गराए आफूले सरकारबाट पाउने सेवा सुविधा समेत उपभोग नगरी जनताको विकासमा लगाउने प्रतिबद्धता समेत गरेका थिए । तर अहिले स्थानीय सरकार आइसकेपछि यसअघिका वर्षमा सरकारबाट पाउँदै आएका सेवा सुविधासमेत लम्कीचुहा नगरपालिकाले कटौती गरेको स्थानीयको आरोप छ । 
    चेतना अपाङ्ग समाज लम्कीका अध्यक्ष  प्रेम बयक भन्छन्– जनसरोकारको विषयलाई लत्याउदै जनप्रतिनिधिहरु आफनै मोज मस्तीमा लागेपछि यसको स्थानीयले त विरोध गरेका छन नै यसको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको छ । नगर भित्रका सड्क मर्मत तथा सुधार गर्ने कामले देशमै चर्चा बटुलेका लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईको पछिल्लो काम गर्ने शैलीले जनता आशंकित मात्र होइन चिन्तित समेत बनेका छन ।
 पुर्ब पश्चिम राजमार्गको २५ मिटर भित्र सार्वजनिक जग्गा अतिक्रमण गरी घर निमार्ण गरेका नगर प्रमुख बजगाईले चर्चामा आउनको लागि आफ्नो घर आफैँले भत्काएर विकासको काम सुरु गरेको समाचार समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर कर्मचारी नियुक्ति, विकास निमार्णका कामममा कार्यपालिकामा समेत छलफल नगरी नगर प्रमुख बजगाईले एकलौटीनिरंकुश शैलीमा काम गदै आएको समेत स्रोतको दावि छ ।
वडा अध्यक्षलाई वितरणको लागि खरिद् गरीएका मोटर साइकलको टेण्डरमा समेत घोटाला भएको हुन सक्ने स्थानीयको आरोप छ । 
यता लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले समेत आफू पनि नगर प्रमुखसँगै वडाअध्यक्षलाई दिएका मोटरसाईकल वितरण कार्यक्रममा सहभागि भए पनि मोटरसाईकल खरिद प्रक्रियादेखि अन्य कुरामा अनभिज्ञ रहेको गुनासो गरेका छन् । अन्य विकास निमार्णका काममा समेत कार्यपालिकाको बैठकमा एक छलफल गरी निर्णय अर्केा लेख्ने नगरप्रमुख बजगाईले मोटरसाईकल खरिदमा समेत सामुहिक निर्णय नभई एकलौटी रुपमा नगर प्रमुखले मोटरसाइकल खरिद गरी वितरण गरेको उप प्रमुख थापाको आरोप छ । 
यस सम्बन्धमा लम्की चुहा नगरपालिकाका मेयर महादेव बज्जगाईले मोटरसाइकल जनताको कामका लागि वडा कार्यालयलाई दिएको कुरा बताएका छन् । लम्कीमा रहेको गंगा अटोमोबाइल्स बाट खरिद् गरीएका बजाज कम्पनीका मोटरसाईकल सबै एउटै रंगका रहेका छन ।
    मोटरसाइकल खरिदका लागि लम्कीचुहा नगरपालिकाले टेण्डर आब्हान गरेपछि ३ वटा मोटरसाइकल कम्पनीका शो रुमले टेण्डर हालेका नगरपालिकाको कार्यालयले जनाएको छ । यमाहा, बजाज र हिरो कम्पनीका शोरुमबाट आएका टेण्डर फाइलमध्ये आर्थिक र प्राबिधिक प्रस्तावअनुसार लम्कीस्थित बजाज कम्पनीको गंगा अटो मोबाइल्स छनोटमा परेको नगरपालिकाले जनाएको छ । 
विकासे काम भन्दा पनि लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधहरु सेवासुविधा प्रति बढी केन्द्रीत भएका छन् । यसअघि नगरपालिकाको दोस्रो नगरसभाको बैठकमा  नगर परिषदका सदस्य एवम् वडा सदस्यहरुले दैनिक तलव भत्ताको माग गर्दै नगरसभा बहिस्कार समेत गरेका थिए ।

Related News