​देवकोटाको ११०औँ जन्मजयन्ती मनाइयो

दृष्टि न्यूज

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा ‘प्रवचन, पुस्तक परिचर्चा एवं कविता वाचन कार्यक्रम’को आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा  प्रज्ञाद्वारा आयोजित कार्यक्रममा महाकवि देवकोटाबारे डा. अमर गिरीले विशेष प्रवचन दिएका थिए ।
कार्यक्रममा सिक्किम सरकारका सचिवसमेत रहेका साहित्यकार शंकरदेव ढकालद्वारा लिखित तथा अनेसास सिक्किम च्याप्टरद्वारा प्रकाशित भुटानी शरणार्थीका विषयमाथिको उपन्यास ‘किरायको कोख’को लोकार्पण गरिएका थियो ।
उक्त कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि देवकोटा नेपालका विराट प्रतिभा भएको दाबी गरे । उनले देवकोटा प्रज्ञा–प्रतिष्ठानका परिकल्पनाकार समेत भएको स्मरण गर्दै प्रतिष्ठानले प्रत्येक वर्ष उनको स्मृतिमा विशेष कार्यक्रम गर्ने गरेको बताए । कुलपति उप्रेतीले भने, ‘जहाँ जहाँ नेपाली रहेका छन् त्यहाँ त्यहाँ देवकोटा जयन्ती धुमुधामसँग मनाउने गरिएको छ ।’
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले महाकवि देवकोटा नेपाली साहित्यकै सर्वाधिक चर्चित र विदेशीले समेत चिनेका प्रतिभा भएको उल्लेख गर्दै देवकोटाले साहित्यमार्फत् नेपाललाई विश्वमा चिनाएको बताए । उनले भूगोल र राजनीतिले भाषालाई एकै स्वरुपको हुन नदिए पनि संस्कृति र भावना भने एकै हुने धारणा राखे । कार्यक्रममा डा. गिरीले महाकवि देवकोटा नेपाली साहित्यका शिखर प्रतिभा रहेको उल्लेख गरे । उनले भने, ‘देवकोटा पश्चिमी साहित्यका पनि ज्ञाता थिए र सुरुवाती चरणमा उनको लेखनीमा स्वच्छन्दतावादी धारातिर केन्द्रित भएको पाइन्छ ।’
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले स्वागत गर्दै नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानबारे चर्चा गरेका थिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली र डा. हेमनाथ पौडेलले लोकार्पित पुस्तकबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । 

Related News