धरानको पानीमा कोलीफर्म भेटियो

दृष्टि न्यूज

धरान । धरानको  खानेपानीको विभिन्न श्रोतको पानीको गुणस्तर परीक्षण गर्दा सवैमा मानव शरीरको लागी हानिकरण किटाणु फिक्कल कोलीफर्म भेटिएको तथ्य धरानमा आयोजित पानी चौतारी नाम अन्तरक्रिया कार्यक्रममा  विज्ञहरुले सार्वजनिक गरेका छन् ।
 
 विगत ३ वर्षदेखि धरान र धुलिखेल उपमहानगरपालिकाहरुमा पानी व्यवस्थान सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको अन्तर्राष्ट्रिय संस्था  साउथ एशियान इन्स्टिच्युट अफ एडभान्स स्टडि–सियास) ले शुक्रबार धरान उपमहानगरपालिकाको भवनमा पानी चौतारी छैठौ भागको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा सियासकी सल्लाहकार डा नानी रावतले गत वैसाख महिनामा लिएको धरानका विभिन्न श्रोतहरुको पानीमा खान नहुने प्रदूषित रहेको पाइएको जानकारी दिएकी थिइन् । डा रावतका अनुसार धरानका २० स्थानको पानीको नमूना लिएर ल्याव जाँच गर्दा सबैमा  कोलीफर्म पाइएको बताइन । २० स्थानमध्ये नेपाल खानेपानी सस्थानको एउटा रिजर्भ वयर,  वडा नं ७ विष्णुचोकबाट ५ स्थान, मकालु वस्तीको ५ स्थान,  वडा नं १४ को ८ स्थानबाट लिएको पानीको नमूनामा कोलीफर्म पाइएको बताइन् । कोलीफर्म भएको पानी खाँदा झाडापखाला, जण्डिस, टाइफाइड र छालासम्वन्धी रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।

जलवायु मैत्री पानी सुरक्षाको लागि लैंगिक समावेशीकरणसम्वन्धी सो अन्तरक्रिया कार्यक्रममा यही दशैँदेखि नयाँ परियोजनाअन्तर्गतको स्वच्छ सफा र प्रशस्त पानी खुवाउने हाम्रो चाहना हुँदाहँुदै धरानकै एक संस्थाले अदालतमा मुद्धा हालेको कारण खुवाउन नसकिएको कुरा धरान उपमहानगर पालिकाकी कावा मेयर तथा धरान खानेपानी बोर्डका संयोजक मन्जु भण्डारीले जानकारी दिइन् । यसैगरी खानेपानी बोर्डका सदस्य आनन्द श्रेष्ठले ३५ हजार घरधुरी भएको धरानमा १७ हजार ग्राहकलाई मात्र नेपाल खानेपानी सस्थाले पानी खुवाइरहेको छ तर अन्य १८ हजार परिवारले आफैँले श्रोत खोजेर असुरक्षित पानी खाइरहेका छन् । तर  नयाँ परियोजनाले धरानका सवै वडामा स्वच्छ सफा पानी खुवाउने लक्ष्य रहेको बताए । यसैगरी जलवायु परीवर्तन सम्वन्धी विषयका विज्ञ  तथा सियासका अध्यक्ष नगेन्द दाहालले विश्वमा जलवायु परीवर्तनको मारबाट पीडित देशहरुमध्ये नेपाल ५औँ स्थानमा आउने भएकाले प्लाष्टिकजन्य बोतलहरुलाई विस्थापित गर्नुपर्ने सुझाव दिएका थिए ।  
इन्जिनियर राजु पोखे्रलले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सियास नेपालका विज्ञहरु डा चन्द्र पाण्डे, डा रचना उपाध्याय, कौस्तुप न्यौपाने र उपमहानगरपालिकाकी अधिकृत हेमा थलङले बोलेका थिए ।  

Related News