धरान उपमहानगरमा एमालेको जित


इनरुवा, २७ असार । स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । 

सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको हो । यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका छन् । 

प्रमुखमा निर्वा्चित सुब्बाले २० हजार ९७५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तिलक राई १६ हजार २०२ र नेकपा (माओवादी केन्द्र)का अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाए । 

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत पाइन् । 

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ । एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, काँग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ । 

Related News