​धरातलबिहीन प्रचण्ड

शम्भु श्रेष्ठ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय हारेको झोंकमा पार्टी नै विघटन गर्ने घोषणा गर्नुलगत्तै सर्वोच्च अदालतले भरतपुर प्रकरणमा पुनः मतदानको आदेश दिएको छ । सर्वोच्चको यो आदेशले चुनाव हारिसकेकी प्रचण्डपुत्री रेणु दाहालका लागि केही राहत भए पनि प्रचण्डले पार्टी नै विघटन गर्ने धम्की दिनुको पछाडि उनको राजनीतिक भविष्य जोडिएको छ ।
संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंबाट भारी मतले विजयी बनेका प्रचण्डमा सत्ताको उन्माद नचढेको भए उनको राजनीतिक यात्रा सहज हुन्थ्यो । ‘अरुलाई हे¥यौं पटकपटक, माओवादीलाई हेरौं एक पटक’ को नाराले राजधानीका युवा जमातको मत जित्यो भने काठमाडौंका भित्ताभरि लेखिएको प्रथम राष्ट्रपतिको नाराले सुकिला मुकिलालाई प्रभावमा पार्न सफल भयो । तर, प्रधानमन्त्री भइसकेपछि उनले आगोलाई जिस्क्याउने जुन काम गरे, त्यसैकारण उनी सत्ताबाट बाहिरिन बाध्य भए । संविधान निर्माण गर्न जनताबाट चुनिएका प्रधानमन्त्रीले संक्रमणकालको व्यवस्थापन गर्दै सबैलाई मिलाएर संविधान निर्माणको काममा जुट्नुको साटो तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्ने निर्णय गरे, पछि त्यही कारण आफैँ बर्खास्तमा पर्नुप¥यो र, अन्ततः संविधान निर्माण नै नगरी बाबुराममार्फत् संविधानसभा विघटन गरेर अस्थिरता निम्त्याउन खोजे । 
यो उनको राजनीतिक जीवनमा पहिलो भूल थियो । त्यसको सजाय उनलाई काठमाडौं र सिरहाका जनताले दोस्रो संविधानसभाको निर्वाचनमा दिए । काठमाडौंबाट प्रचण्ड पत्तासाफ भए भने सिराहामा उनलाई सबै दल मिलेर विजयी घोषणा गरे । यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । तेस्रो भूल भनेको उनले एमालेको सरकारलाई गिराए । राजनीतिमा एकरत्ति पनि इमान्दारिता नभएझैं गरी विदेशीको इशारामा आफैँ सम्मिलित सरकारका विरुद्ध उनले अविश्वास प्रस्ताव दर्ता गरे र विदेशीकै टेकोमा प्रधानमन्त्री बने ।
यो कुरा पाँच महिना नाकाबन्दीबाट पीडित नेपाली जनतालाई मन परेको थिएन । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताका लागि पाँच, पाँच महिनासम्म एक छाक खाएर नाकाबन्दीविरुद्ध जुधेका नेपाली जनताको भावनामा ठेस पु¥याएका प्रचण्डलाई ६ वटै प्रदेशका जनताले बहिष्कार गरिदिए । र, प्रचण्ड निराश हुँदै पार्टी विघटनको संघारमा पुगे । अब हुने दुई नम्बर प्रदेशका जनताले पनि उनको पार्टीलाई धुलो चटाउने निश्चितप्रायः भइसकेपछि आफ्नै कार्यकर्तालाई बाँदर घुर्की देखाउँदै पार्टी नै विघटन गर्ने धम्की दिए । यो उनको राजनीतिक पराजयको मनोविज्ञान हो । त्यो मनोविज्ञान भरतपुरको निर्वाचनसँग जोडिएको छ । प्रचण्डले जहाँ जहाँ पाइला टेक्यो, त्यही त्यही भाँसिन थालेपछि भरतपुरलाई आफ्नो संसदीय निर्वाचन क्षेत्र बनाउन उनले पुत्री रेणु दाहाललाई मेयर पदमा उठाएका थिए । त्यो पनि नेपाली कांग्रेसजस्तो सशक्त पार्टीको समर्थनमा । यति ठूलो गठबन्धन गरेर पनि रेणु निर्वाचन हार्ने भएपछि प्रचण्डको चुनावी धरातल नै समाप्त हुने भयले यतिबेला उनमा ठूलो छटपटी छाएको छ । अब प्रचण्डका लागि उही रुकुम रोल्पा बाहेक अर्को भूगोल बाँकी छैन ।
पेरिसडाँडाबाट पार्टी विघटन गर्ने घोषणा गर्नुअघि उनले रुकुम, रोल्पाबाट ‘जनयुद्ध’ थाल्नु नै गल्ती थियो । संसदीय व्यवस्थामा आउनाका लागि मात्रै उनले यति धेरैको हत्या गर्नुपर्ने कुनै कारण  थिएन । भन्न त उनले भन्ने गरेका छन्– माओवादी हारे पनि एजेन्डा हारेको छैन । त्यो एजेन्डा पनि कसले बोकाएको भारी थियो भन्ने कुरा नेपाली जनताले बुझिसकेकाले सायद प्रचण्ड स्वयंले नेपाली राजनीतिमा आफ्नो भविष्य नदेखेको हुन सक्छ ।

Related News