​एसएसपी लोहनीलाई न्याय, जागिरमा जोडिए

दृष्टि न्यूज

विराटनगर, २९ भदौ । 
सुन तस्करी मुद्दामा कार्यक्षेत्र नाघेको आरोपमा मुद्दा दायर भइ जेल चलान भएका  एसएसपी दिवेश लोहनीलाई उच्च अदालतले सादा तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश नरेन्द्रनाथ कर्ण र तारंगा सुवेदीको इजलाशले शुक्रबार उनलाई छाड्ने आदेश दिएको हो । 
उनको रिहाईलाई धेरैले अदालतले न्याय दिएको भनेर टिप्पणी गरेका छन् । 
तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश ठहर नहुने देखिएको भन्दै सादा तारेखमा छाडेर मुद्दा कारबाही अघि बढाउने आदेश भएको रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताए । 

लोहनीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरु देवेन्द्र कोइराला र रामचन्द्र सुवेदीले इजलाशसमक्ष बहस गरेका थिए ।  
  एसएसपी लोहनीलाई गत बैशाख १६ गते सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतको आदेशपछि सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ ।

जिल्ला अदालतले तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै लोहनीसहितका अभियुक्तलाई पुपक्र्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको यो आदेश बेरितको भएको भन्दै उनका कानुन व्यवसायीले उच्च अदालतमा त्यसबेला प्रचलित मुलुकी ऐन अदालती बन्दोबस्तको १७ नम्बर बमोजिम बदरको आदेश माग गर्दै निवेदन दिएका थिए ।

यसअघि उच्च अदालत विराटनगरले अभियुक्तमध्ये ६ जनालाई थुनामा राख्ने आदेश दिइसकेको छ । जिल्ला अदालत मोरङले यसअघि गरेको आदेश सदर गर्दै उच्चले यस्तो आदेश दिएको हो ।  
एसएसपी लोहनी नेतृत्वको टोलीले मृतक सनम शँक्यको शव बरामद गरी मोङमा बुझाएको थियो । सो प्रकरणको अनुसन्धानमा लापरबाही भएको भन्दै उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो । 
विभागीय कारबाही प्रकृतीको गल्तीमा मुद्दा दायर गरिएपछि छानबिन समिति समेत विवादममा परेको थियो ।
साधरण तारेखमा छुटेको खण्डमा निलम्बन फुकुवा हुने प्रावधान छ । जसअनुसार उनी जागिरमा जोडिएका छन् । 

Related News