​प्रविधि भयो भने जस्तोसुकै घटनाको पनि अनुसन्धान गर्न सक्छौं –डिआईजी गणेश केसी

दृष्टि न्यूज


निर्माण व्यवसायी शरद गौचन हत्याको पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । डिआईजी गणेश केसी संयोजकत्वको छानबिन समितिले मंगलबार पाँच अभियुक्तलाई सार्वजनिक ग¥यो । उनै डिआईजी केसीसँग गरिएको कुराकानी–

यती ठुलो टिम लाग्दा पनि किन अपराधी पक्राउ गर्न पाँच साता लाग्यो ? 
नेपालमा भएका संगठित अपराधको जून सञ्जाल छ, त्यसमध्ये हामीले अनुसन्धान गरेको घटनामा सबैभन्दा ठुलो समूह थियो ।  संगठित अपराधको प्रकृती नै यस्तै हुन्छ, जसको अनुसन्धानमा लामो समय लाग्छ । प्रविधि सूचनालाई मिलाएर वस्तुगत आधारमा अनुसन्धान गर्र्नुपर्छ । त्यसकारण पाँच हप्ता लाग्यो तर यसलाई लामो समय लाग्यो भन्न नमिल्ला ।
पाँच जना व्यक्तिहरु पक्राउ परे, तर हत्या पछाडीको कारण धेरै खुल्न सकेन नि ? 
हत्याको कारण एक्सटोर्सन नै हो, पैसा नै हो । उहाँलाई पटक पटक फोन गरेर पैसा मागेको विभिन्न स्रोतहरुबाट पनि पुष्टि भएको छ । तर, दुःख र बिडम्बनाको कुरा थ्रेटलाई सहेर उहाँले सुरक्षा निकायलाई जानकारी गराउनु भएन । 
धम्की त धेरै ठेकदारहरुलाई आएको थियो, तर उहाँलाई निसाना बनाउनुको कारण ? 
उहाँ चाही अब निर्माण व्यवसायी महासंघको अध्यक्ष हुनुहुन्थ्यो । उनीहरुको उदेश्य भनेको पैसा संकलन गर्ने नै देखिन्छ । 
भन्नाले उहाँको हत्या गरेर अरु निर्माण व्यवसायीहरुसँग पैसा असुल्ने उदेश्यले हत्या भयो ? 
अपराधीहरुले त्यो मनसाय बनाएको हुनसक्छ । त्यसपछि व्यवसायीहरुलाई पटक पटक धम्कीपूर्ण फोनहरु पनि आइरहेको भन्ने कुरा आएको छ । तर, पैसा नदिन र हामीलाई जानकारी गराउन हामीले भनेका छौं । 
  योजनाकारहरु किन पक्राउ गर्न सकिएन ? 
योजनाकारहरु लामो समयदेखि नेपाल बाहिर रहेको भन्ने बुझिएको छ । बिदेशबाट ल्याउन सुपुदर्गी सन्धि लगायतको समस्या छ । तर एकदिन हामीहरु पक्राउ गरेरै छाड्छौं । 
अहिले त अनुसन्धानको सुरुवात मात्र हो । अनुसन्धान अन्तिमसम्म जारी नै रहन्छ । 
दुर्गा तिवारी हत्या तथा दावा लामामाथि गोली प्रहार घटनामा पनि यही समूहको संलग्नता हो ? 
विगतका हत्याहरुमा यिनै समूहका व्यक्तिहरुको संलग्नता देखिन्छ । कुनै कालखण्डमा उनीहरुले एकै समूहमा रहेर काम गरेका थिए । अहिले छुट्टाछुट्टै समूहमा छन् भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
यो अनुसन्धानमा हामीले भोगेको कठिनाई के हो ? 
नेपाल प्रहरीको प्रविधिमा जून स्रोत साधन र क्षमता छ, त्यो पर्याप्त छैन । प्रविधिगत चुनौतीहरु थपिदै जान्छन् । त्यसकारण प्रविधिमा नेपाल प्रहरीको पहुँच बढाउनुपर्छ । प्रविधिमा हामीलाई साथ हुने हो भने नेपाल प्रहरीले यस्ता घटनाको सहजै अनुसन्धान गरी अपराधीहरुलाई पक्राउ गर्न सक्छ । 



Related News