प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयनमा विद्युतीय करोबार ऐन बाधक

दृष्टि न्यूज

काठमाडौं । 
लोकतन्त्रको मूख्य मेरुदण्डको रुपमा विश्वव्यापी रुपमा स्वीकार गरिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयनमा विद्युतीय कारोबार ऐन बाधक बनेको न्याय क्षेत्रकै हस्तीहरुले औल्याएका छन् । सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता शम्भु थापाले विद्युतीय कारोबार ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने र अधिकार दिने दुवै काम गरेको बताए । उनले भने, ‘नभएको कुरा विद्युतीय सञ्चार माध्यमबाट प्रशारण गर्दा ऐन आकर्षित हुन्छ, राम्रो कुरालाई यो ऐन लाग्दैन ।’
थापाले विद्युतीय कारोबार ऐनले खुला समाजलाई नियन्त्रण गर्न खोजेको बताए । थजापाले भने, ‘विद्युतीय कारोबार ऐन लगाएर पत्रकारहरुलाई ह्यारेसमेन्ट गर्ने कार्य प्रहरीबाट हुनु खेदजनक रहेको छ ।’ साथै बरिष्ठ अधिवक्ता थापाले अनुमति लिएको कुनै पनि विद्युीय सञ्चार माध्यमहरु पत्रपत्रिका सरह अधिकार सम्पन्न भएको बताँउदै राम्रा कुरालाई विद्युतीय कारोबार ऐनले कुनै असर नपार्ने समेत दावी गरेका छन् । 
अर्का अधिवक्ता स्वागत नेपालले विद्युतीय कारोबार ऐनले लोकतन्त्रको मेरुदण्ड भाँच्न प्रहरीले दुरुपयोग गरिरहेको बताए । विद्युतीय कारोबार ऐनको दफा ४७ ले कुनै पनि पत्रकारलाई भ्रष्टाचारी, तस्करी तथा जनतालाई दुःख दिने सार्वजनिक पद धारण गरेको व्यक्तिका विरुद्धमा स्वतन्त्रपूर्वक समाचार लेख्न पाउने अवस्थाको अन्त्य गरेको प्रतिक्रिया दिए । अभिवक्ता तथा पत्रकार नेपालले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयनमा विद्युतीय कारोबार ऐन बाधक तत्काल सच्याइनु पर्दछ ।’ नेपालले अनुसार गतल काम गर्ने, खराब आचरण भएको, गैर सामाजिक र नैतिक पतन हुने कार्यमा संलग्न व्यक्तिले गरेको क्रियाकलाप सम्बन्धी समाचार सकारात्मक हुनै नसक्ने भन्दै गलत मानिसका अपराधको पक्षमा सकारात्मक समाचार लेखाउन विद्युतीय कारोबार ऐनको लाद्न खोजिएको आरोप लगाए ।
अर्का अधिवक्ता धनन्जय खनालले विद्युतीय कारोबार ऐन उद्देश्य र वर्तमान सरकारको उद्देश्य नै मेल नखाएको बताए । उनले भने, ‘सरकारको उद्देश्य, भ्रष्टाचारको अन्त्य, सुशासनलाई दृढता दिने भन्ने छ, तर भ्रष्टाचार गर्यो भनेर समाचार लेख्दा पत्रकारहरु जेल जाने अवस्था छ ।’ विद्युतीय कारोबार ऐनको उद्देश्य विद्युतीय कारोबार तथा विद्युतीय सम्पत्तिको संरक्षण तथा विद्युतीय पत्र आदान प्रदानलाई बैधानिकता दिने उद्देश्यले ल्याएकोमा त्यसको दुरुपयोग गरेर पत्रकारलाई जेल हालिनु सर्वथा गलत भएको टिप्पणी गरे । 

Related News