​कतारद्वारा ओपेकको सदस्यता त्याग्ने घोषणा

दृष्टि न्यूज

दोहा, (एजेन्सी) । कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको संगठन (ओपेक)को सदस्यता त्याग्ने घोषणा गरेको छ । खाडी मुलुक कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्दै अर्को अर्को महिनाबाट ओपेकबाट बाहिरिने जनाएका छन् । 
काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।’ उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । 
‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ । हाम्रो क्षमता नै ग्यास हो,’ मन्त्री साद अल–काबीले भने । सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ ।

Related News