डोल्पोः नेपालको साङ्ग्रिला

श्याम रिमाल

विष्णु शर्मा–प्रसिद्ध संस्कृत नीतिपुस्तक ‘पञ्चतन्त्र’का लेखक, दुई हजार वर्ष पहिले दक्षिण भारत, महिलारोप्य नगरका राजा अमरशक्तिका तीन मूर्ख छोराका आचार्य गुरु जो राजनीतिशास्त्र, नीतिशास्त्र र अन्य शास्त्रका ज्ञाता थिए । कसैले पढाउन नसकेका ती मूर्ख राजकुमारलाई पञ्चतन्त्रकै माध्यमबाट पारङ्गत बनाइदिए । यी हाम्रा विष्णु शर्मा भने प्रेस काउन्सिल नेपालका पूर्वप्रशासक । हिमाली यात्रामा रमाउँछन् । राष्ट्रिय सञ्चार विकास केन्द्र चलाउँछन्,  पत्रकारिताको प्रशिक्षण दिन्छन् । कहिलेकाहीँ कविता र नियात्रा पनि लेख्छन् । नेपालका पचहत्तर जिल्लाका भ्रमणकर्ता । 
भुँडी पुराण प्रकाशनले तिनै विष्णुप्रसाद शर्मा पराजुलीका  ‘तिब्बत यात्रा’(विसं २०७२) र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’(२०७४) प्रकाशन गरिदिएको छ । ‘तिब्बत यात्रा’मा सिमकोट, हिल्सा हुँदै तिब्बत, मानसरोवर, कैलाश पर्वत, तिब्बततर्फको सगरमाथि आधार शिविरमा पुगेको विवरण छ ।  तिब्बत यात्राका क्रममा मानसरोवर र कैलाश पर्वत त उनी दुई पटक पुगिसकेका छन् । दुई सयभन्दा बढी पृष्ठको  ‘तिब्बत यात्रा’पछि त्यत्तिकै रोमाञ्चक यात्राको वर्णन रहेको करीब चार सय पृष्ठको ‘डोल्पाः विश्वको जीवित सङ्ग्रहालय’ झन् रोचक छ । नेपालका लागि भारतका पूर्वराजदूतहरु श्याम शरण, देव मुखर्जी र रञ्जीत रायले नेपालमा रहँदा भ्रमण गर्न नपाएकाले अवकाशपछि गत वर्ष चैतमा शेफोक्सुण्डो तालको भ्रमण गरे । जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’, कर्ण शाक्यको ‘डोल्पो, द हिडन प्याराडाइज’, केनेथ बउवरको ‘हाइ फ्रन्टियर्सः द डोल्पो एण्ड द चेञ्जिङ वल्र्ड अफ हिमालयन पास्टा«ेल्यारिस्ट’, म्यारिएट्टा काइण्डको ‘द बोँ ल्याण्डस्केप अफ डोल्पो’, एरिक भ्यालीसमेतको ‘डोल्पोः हिडन ल्याण्ड अफ द हिमालयज‘, गर्दा पाउलर र डा केनेथ बउबरको  ‘डोल्पोःपिपल एण्ड ल्याण्डस्केप’ आदि कृति प्रकाशन भइसकेका छन् । डा हर्क गुरुङले भने ‘मैले देखेको नेपाल’मा डोल्पो र यसको सौन्दर्यको वर्णन गरेका छन् ।  लेखक, चलचित्र निर्देशक, वैज्ञानिक र पर्यटक सबैले डोल्पोलाई स्वर्ग र स्वर्गको  टुक्रा भनेका छन् जहाँ हिमचितुवा, मिथक र जादू, मानवस्पर्शविहीन प्रकृति तथा  बुद्ध र बोन संस्कृति छन् । विश्वका दुर्गम हिमालीस्थलमध्येको डोल्पो(डोल्पा, विसं २०१८अघि त्होल्मो वा त्हमोल्भो)  अति कम विकसित ग्रामीण क्षेत्र पनि हो । एरिक भ्यालीले डोल्पामा छायाङ्कन गरेको ‘क्याराभान’(लस्कर) चलचित्र ओस्कार पुरस्कारका लागि  मनोनयनमा परेको थियो जसका पात्र थिन्लेलाई बिर्सन सकिँदैन । 
बेलायती लेखक जेम्स हिल्टनले भन्ने गरेको एक सुखद, आनन्द र शान्तस्थल  साङ्ग्रिला नेपालमै भएको धेरै पर्यटकले भन्ने गरेका छन् । विसं २०५५ र २०७० कात्तिकमा पत्रकारिता तालीम दिने सिलसिलामा सदरमुकाम दुनै हुँदै तल्लो डोल्पोका शे–फोक्सुण्डो ताल र शे–गुम्बासम्म पुगिसकेका लेखक डोल्पा, मुस्ताङ जस्ता स्थललाई नै साङ््ग्रिला मान्छन् ।  त्यहाँको हिन्दू, बोन(झाँक्रीवाद, तन्त्रवाद) र बौद्ध मिश्रित धर्म, संस्कृति, चाडपर्व, वेशभूषा, खानपिन, घर, खेतीपाती, नदी,  वनजङ्गल, चराचुरुङ्गी, जडिबुटी, वन्यजन्तु, पशुपालन, लेक र बेंसीको बसाइबाट नै लोभिइसकेका उनले विसं २०७१ बडादशैँको छेकमा बर्खाकै समयमा बुर्तिबाङ, ढोरपाटन, रुकुम, दुनै, शे–गुम्बा, साल्दाङ, द्योतराप, छार्कागाउँ हुँदै माथिल्लो डोल्पो पुगी मुस्ताङको कागबेनी झरी दुस्साहसी यात्रा पूरा गरे, अचम्म आफ्नै खर्चमा न कि सरकारी वा एनजिओ–आइएनजिओको काम लिई तिनको खर्चमा ।  बागलुङ बुर्तिबाङबाट हिँडेका उनी बोबाङ, ढोरपाटन, जौले, फागुने धुरी, रुकुमका ठाकुुर, गुज्दुङ, कायम, पेल्मा, दामायामको भीर, हिमगाउँ, स्याङ्खोला, जाङ्ला धुरी हुँदै उनी फेरि डोल्पाको दुनै पुगे, फेरि शे–फोक्सुण्डो ताल  । अनि शे–गुम्बा । यसरी उनले माथिल्लो डोल्पा अर्थात् नेपालको साङ्ग्रिलामा पुगी यात्राको उच्चतम आनन्द लिएका छन् ।   धवलागिरिदेखि उत्तर र तिब्बतको दक्षिण पर्ने डोल्पो मोटरबाटाले नछोएको, वर्षको छ महीना हिमको राज्य हुने सुन्दर कुमारी ठाउँ हो । माथिल्लो डोल्पो तीन हजार ८००मिटरभन्दा माथिको उचाइमा भए पनि पाँच हजार ५५० मिटर उचाइसम्मका भञ्ज्याङ पार गर्दै गए । दिनमा १३ घण्टासम्म उकाली ओराली गरी जीउ निकै तात्तिने गरी हिँडे, बाटामा गोठालाहरुसँग सुते, ढिँडो, खोर्सानी खाए । जुकालाई कति टोकाउन दिए, कति पटक बाटो हराए, अँध्यारामा छामछाम छुमछुम गर्दै हिँडे  । हिउँ पर्ने र मृत्यु वरिपरि घुमिरहेको मुश्किलले पाइला अड्याउन सकिने गोरेटामा ज्यान हत्केलामा राखेर हिँडे । सिङ्गो डोल्पोका चोर्तेन, मठ, मन्दिर, गुम्बा, झरना, ताल, हिमताल, नदी, वनजङ्गल, चौर, घाँसेपाखा, खर्क, पाटन सबै विशिष्ट छन् । त्यसअघि विसं २०७०मै  रारापछि नेपालको दोस्रो ठूलो ताल शे–फोक्सुण्डो पुगेका लेखकलाई यसको गाढा नीलो पानीले  पागल नै बनाएको थियो,  जसरी अरु पनि मोहित भए, हुन्छन् । शे–फोक्सुण्डोपछि उनी रातको बाटोे त्रिपुराकोट, त्रिपुरासुन्दरी, जगदुला, काइगाउँ हुँदै संसारको सबभन्दा अग्लो स्थानमा धान(कालोमार्सी अर्थात् चन्दननाथ धान) फल्ने ठाउँ जुम्ला पुगेका थिए । 
भूगोल, धर्म, भाषा, जाति, संस्कृति, घरका बनावट  तथा इतिहासका सूचना पनि ठाउँठाउँमा दिएर उनले पाठकलाई बौद्धिक खुराक पनि दिएका छन् । धेरै विदेशीले डोल्पोका नेपालीलाई तिनका नाम छिरिङ, पासाङ, डोल्मा आदि भएकाले तिब्बती मूलका भने पनि तिनका रोकाय, बुढा, महतारा, महत, बोहरा, रावल आदि नेपाली खस साम्राज्यकै पालाका आदिवासी भएको ठोकुवा गरेका छन् । यहाँको सम्पदालाई मात्र संरक्षण गर्ने हो भने डोल्पो र कर्णाली सम्पन्न हुने मात्र नभई नेपाललाई धनी बनाउन सक्छ–यो उनको विश्वास हो । नीतिनिर्माताले  त्यस्ता ठाउँ नपुगी योजना बनाएकाले नै नेपाल विकास नभएको भन्ने ठहर छ लेखकको । आफ्ना भ्रमणको समयक्रमको अमिल्दो सिलसिला र निकै पुनरुक्ति कृतिका दोष हुन् । निजी अनुभवसँगै स्थल परिचय दिनमा उनी लालायित हुन्छन् । यसैले कृति नियात्रा नभई  यात्राविवरण  बनेको छ । आफू पुगेको स्थानको मिहिन ढङ्गले वर्णन गर्न सक्नु र भौगोलिकलगायत सूचना दिन सक्नु उनको विशेषता हो । सन्दर्भ सामग्री र आकर्षक रङ्गीन तस्वीरले कृतिलाई गहन बनाएका छन् । भूमिका लेखक मदनमणि दीक्षितले पुस्तक विमोचनका बेला गत साल कात्तिक ११ गते नेपालका विश्वविद्यालयहरुलाई कृति पाठ्य सामग्रीका रुपमा राख्न गरेको अनुरोधले पनि कृतिको महत्वलाई झल्काउँछ । 
shyam_rimal@yahoo.com
 

Related News