​अबैध शेयर बाँड्ने दोर्दी हाइड्रोको प्रयास

दृष्टि न्यूज

काठमाडौं, २७ चैत । लोडसेडिङको समयमा सरकारले उर्जा उत्पादन गर्ने कम्पनीहरुलाई प्रोत्साहन गर्न जस्तोसुकै प्रकारले लगानी जुटाउन अनुमति दिँदा केही गलत क्रियाकलापले समेत प्रश्रय पाएका छन् । त्यसमध्येको एक दर्दीखोला हाईड्रोपावरको शेयर विवादमा फस्न पुगेको छ । यसअघि साहस उर्जाले नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिई सार्वजनिक रुपमा शेयर बिक्री गरेको थियो । अहिले साहस उर्जाकै पथमा रहेको दर्दीखोला हाईड्रोको शेयर पनि यसैगरी विवादमा परेपछि धितोपत्र बोर्डले रोकिदिएको छ । चैत्र २२ गतेदेखि शेयर लगानी खुल्ला गरेको दोर्दी खोला हाइड्रोपावरको साधारणसभा चैत्र २८ गते हुँदैछ ।
कम्पनीले चैत्र २२ गतेदेखि ३० गतेसम्म शेयर वितरण गर्ने भन्दै सार्वजनिक सूचना जारी मात्रै गरेन, पर्चा र पम्प्लेट नै बनाएर प्रचार प्रसार गरेको फेला परेको छ । सार्वजनिक रुपमा आह्वान गरिएको सूचना कस्तो रोचक छ भने स्थानीय सरोकार समितिको माग बमोजिम उक्त कम्पनीमा लगानी गर्नको लागि शेयर खुल्ला गरिएको, नेपाली नागरिक जोसुकैले आवेदन भर्न पाउने, जति शेयर माग गरेको हो, सो बराबर नै शेयर पर्ने तथा कम्पनीलाई आवश्यक रकम पुग्नासाथै जुनसुकै बेला शेयर आवेदन लिने कार्य बन्द गर्न सक्ने उल्लेख गरिएको थियो । दर्दीखोलाको यस्तो सूचना अर्थमन्त्रालयमा पुगेपछि हंगामा मच्चिएको एक सुत्रको भनाई छ । अर्थकै निर्देशनमा धितोपत्रले दोर्दीखोला हाईड्रोको शेयर वितरण रोक्का गरिएको हो । 
दर्दीखोला हाईड्रोको यस प्रकारको गलत कार्यका विरुद्धमा धितोपत्र बोर्डले एक सूचनामार्फत रोक लगाएको छ । तर, बोर्डले सूचनामा दर्दी खोलाको भने नाम किटान गरेको छैन । बोर्डले सूचनामार्फत भनेको छ, ‘धितापत्र सम्बन्धी ऐन २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट व्यवस्था गरेकोमा कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको पाइएकोले यस सम्बन्धमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।’  बोर्डले कुन कुन जलविद्युत कम्पनीले यसरी गैर कानुनी र गलत तरिकाले शेयर निष्काशन गर्ने कार्य गैरकानुनी भएको भन्ने व्यहोरो समेतको सूचनापछि दोर्दीखोला हाईड्रोको शेयर वितरण कार्य रोकिएको छ । बोर्डको निर्देशन नभएको भए हजारौंलाई शेयर वितरण गर्ने तयारी गरिएको थियो । कम्पनीको सञ्चालकहरुले आफू र आफ्ना मानिसहरुलाई शेयर लगानी गर्न ठिक्क पारेर शेयर आवेदन खुल्ला गरेर सेटिङमा लगानीकर्ता थप्न खोजिएको थियो ।
दोर्दी खोला हाईड्रोका मार्केटिङ एडभाईजल रोशन सुवेदीले बोर्डको निर्देशनपछि बिक्री गर्न लागिएको शेयर बन्द गरिएको पुष्टि गरे । सो कम्पनीले कैलाश विकास बैंकको बेशीशहर, भोर्लेटार, रानीपानीमा शाखा, सिभिल बैंकको भुलभुले, बेसिशहर, राईनास, मैलुङ गौडा शाखा, बैंक अफ काठमाडौंको सुन्दर बजार शाखा, जनता बैंकको शेरा, ढोडेनी, फलेनी र वन्सार शाखामार्फत शेयर भर्न सकिने व्यवस्था गरेर शेयर लगानी आह्वान गरेको थियो । दोर्दीखोला हाईड्रोपावर कम्पनीले न्यूनतम २० हजार रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म शेयर लगानी गर्ने गरी लगानी आह्वान गरेको थियो । 
अझ रोचक कुरा त के छ भने सो कम्पनीको बार्षिध सधारणसभा यही चैत्र २८ गतेको हुदैछ । सो सधारणसभाको प्रयोजनका लागि कम्पनीको शेयर दाखिला चैत्र १४ देखि चैत्र २८ सम्म बन्द रहने कम्पनीले जनाएको सूचना एकातिर छ भने अर्कोतिर सोही मितिभित्रैमा नयाँ शेयर वितरण गर्ने विवादास्पद प्रयास गरेको थियो । अहिले नै कूल दुई हजार सात सय लगानीकर्ता रहेको कम्पनीले सधारणसभाकै बीचमा शेयर वितरण गर्ने योजना बनाउँदा समेत नेपाल सरकारका निकायहरु वेखवर झै देखिाएका छन् । यसअघि सो कम्पनीले कोरियासम्म पुगेर रकम संकलन गरेको थियो । 
अबैध रुपमा शेयर आवेदन खुल्ला गरिएको सम्बन्धमा कम्पनीका मार्केटिङ एडभाईजर सुवेदीले कानुनी प्रक्रिया पुरा गरेको बाहेकका सबै काम बन्द गरिएकोे बताए । उनका अनुसार अहिले आयोजनाको टनेल निर्माणको कार्य भइरहेको छ । १२ मेगावाट क्षमताको दोर्दीखोला हाईड्रोपावरको कूल लगानी दुई अर्ब २९ करोड रुपैयाँ रहेको छ । 

Related News